विराटनगर । करिब तीन सातादेखि पर्याप्त मात्रामा वर्षा नहुँदा मोरङको अधिकांश क्षेत्रको धानबालीमा पानीको अभाव देखिन थालेको छ ।
पानी अभावका कारण सो क्षेत्रका अधिकांश खेतका धानबाली पहेँलीन थालेको र अझैं केही दिन वर्षा नभए उत्पादनमा ह्रास आउनसक्ने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
मोरङको ७८ हजार हेक्टर जग्गामा धानखेती गरिने भएपनि ५० प्रतिशत जग्गामा आकासे पानीको भरमा खेती हुन्छ ।
धानबालीमा नाइट्रोजनको अभाव देखिन थालेकाले अविलम्ब युरिया मल छर्नुपर्ने अवस्था छ । युरिया मल छर्नका लागि धानबालीको जरामा पानी हुनुपर्छ ।
पानीको अभावमा युरिया मल छर्न नपाउँदा उत्पादन ह्रास हुने किसानलाई चिन्ता छ । जिल्लामा रोपाइँ अन्तिम चरणमा पुगेको छ ।