गोरखा । तिब्बतसँग सीमा जोडिएको उत्तरी गोरखाको सामागाउँ गाविसको सीमाक्षेत्रसम्म चिनियाँ गाडी चल्न सुरु भएको छ ।
चीन सरकारले सामागाउँ गाविसको सिमानामा रहेको तिब्बतको रुई गाउँसम्म कच्ची सडक खनेपछि ट्रक, जिप र मोटरसाइकल चल्न थालेको हो ।
तिब्बतको जोङ्गा जिल्लाको कोङ्दाङ सहर हुँदै गत वैशाखमा खनिएको कच्ची सडकमा हालैदेखि सवारी साधन चल्न थालेका हुन् ।
गोरखा सदरमुकामबाट तिब्बत जोड्ने लक्ष्यसहित खनिएको सडक अहिले गुम्दा गाविससम्म पुगेको छ । गोरखा सदरमुकामबाट सो क्षेत्रमा पुग्न ९ दिन लाग्छ ।
चिनियाँ सरकारले सामागाउँको सीमासम्म सवारी साधान चलाइसकेको अवस्थामा नेपालबाट चार वर्षदेखि खनेको सडक भने अहिलेसम्म छेकम्पार गाविसको सीमासम्म पनि पुगेको छैन ।
हिउँदमा हिउँ पर्ने भएकाले सीमा क्षेत्रका सडक बर्षायाममा मात्रै चल्छन । चीनले निर्माण गरेको सडक कच्ची हो ।