चितवन । अखिल (क्रान्तिकारी) चितवनले जिल्लास्थित पब्लिक क्याम्पसहरुले विध्यार्थीको ढाड सेक्नेगरी ४५ देखि ५५ प्रतिशतसम्म शुल्क वृद्धि गरेको भन्दै २४ घण्टाभित्र वृद्धि गरिएको शुल्क फिर्ता नगरिए कडा संघर्षमा उत्रने जनाएको छ । संगठनका जिल्ला अध्यक्ष अमृत चपाईले शुक्रबार विज्ञप्ती जारी गर्दै यस्तो अल्टिमेटम दिएका हुन् ।
उनले विज्ञप्तीमा भनेका छन्, “विध्यार्थीको पढ्न पाउने अधिकारलाई कुण्ठित गर्ने गरी अवैज्ञानिक ढंगले बढाइरहेको उक्त शुल्क वृद्धि २४ घण्टाभित्र फिर्ता गर्न हाम्रो संगठन जोडदार माग गर्दछ । उक्त अवधिभित्र वृद्धि गरिएको शुल्क फिर्ता नलिए कठोर संघर्षमा उत्रन संगठन बाध्य हुनेछ ।” संघर्षबाट उत्पन्न परिस्थितिप्रति जवाफदेही सम्बन्धित पक्ष स्वयम् हुनुपर्ने चेतावानी विज्ञप्तीमा दिइएको छ । स्मरणीय रहोस् स्थानीय र केन्द्रीय तहमा अखिल (क्रान्तिकारी)ले पछिल्ला दिनमा शुल्क वृद्धि, शिक्षा क्षेत्रमा रहेका विकृति, शैक्षिक माफियाकरणका विरुद्ध श्रृङ्खलाबद्ध आन्दोलन गर्दैं आएको छ ।