‘क्रान्तिकारी माओवादी’ नै नेपालको एक मात्र क्रान्तिकारी पार्टी हो

‘क्रान्तिकारी माओवादी’ नै नेपालको एक मात्र क्रान्तिकारी पार्टी हो

नेकपा (क्रान्तिकारी माओवादी) नेवाः राज्यभित्र पछिल्लो पार्टी विभाजनपछिको स्थितिबारे बताइदिनुस् न । 

–नेकपा (क्रान्तिकारी माओवादी) माक्र्सवाद–लेनिनवाद–माओवादको वैचारिक मार्गदर्शनका आधारमा खडा भएको नयाँ जनवाद, समाजवाद र साम्यवादको लक्ष्यमा पुग्ने दृढ अठोटका साथ अगाडि बढेको सर्वहारावर्गको एक मात्र क्रान्तिकारी पार्टी हो । यसकारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका वर्गदुश्मन तथा माक्र्सवादको खोल ओढेर सर्वहारावर्गलाई ठग्दै आएका सबै खाले संशोधनवादी तथा नवसंशोधनवादी गद्दारहरुका निमित्त ठूलो टाउको दुखाईको विषय थियो ।

जसले गर्दा विगतदेखि नै पार्टीभित्रका वैचारिक धरातल कमजोर भएका व्यक्तिहरुलाई आधार बनाएर पटक पटक दमन गर्ने, भ्रम छर्ने र विभाजन गर्ने काम गर्दै आएका थिए । पछिल्लो अवस्थामा बादलगुटले त्यही गरे । सर्वहारावर्गको हितलाई त्यागेर नवसंशोधनवादको पुच्छर समाउँदै पलायनको बाटो रोजे । पलायनवादी दुषित हावाले माथिल्लो तहमा केही सामान्य क्षति भने पु¥यायो तर मजदुर, सुकुम्बासी, क्रान्तिकारी बुद्धिजीवि, युवा, विध्यार्थी जगतमा भने धेरै ठूलो प्रभाव परेन । दुषित हावाबाट बचाउन हामीहरुले तत्काल पहल लियौं र बैठकहरु बस्यौं, जिम्मेवारी बाँडफाँड गर्यौं र संगठनलाई व्यवस्थित गर्दै लगेका छौं । 

पार्टी विभाजनको वैचारिक, राजनीतिक र सांगठानिक प्रभाव कस्तो रह्यो ? 
–क्रान्तिका पक्षधर हामी सबैले बुझ्नैपर्ने कुरा के हो भने वर्गीय समाजमा कुनै पनि क्रान्तिकारी पार्टीभित्र बुर्जुवा वर्गको प्रभाव परेकै हुन्छ । विचार, राजनीति र संगठनमा कुनै न कुनै तबरबाट बुर्जुवा प्रभाव पर्छ । सर्वहारावर्गका विरुद्ध राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतिक्रियावादीको दमन, संशोधनवादीहरुले दिने भ्रम जस्ता कारणहरुले पार्टीभित्रका कमजोर वैचारिक धरातल भएका व्यक्तिहरु क्रान्तिकारी आशावाद होइन, निराशावादतिर ढल्किन पुग्छन् ।

वर्ग दुश्मन तथा संशोधनवादीहरुले त्यही मौका छोपेर व्यापक प्रचार गर्छन्, उनीहरुलाई उचाल्छन् र अन्ततः क्रान्तिकारी पार्टीबाट अलग गराउन बलियो वातावरण बनाउँछन् । ठीक यही अवस्थामा कमजोर व्यक्तिहरु, थाकेकाहरु, तत्कालीन अवसर कुरेर बसेकाहरु, क्रान्तिकारी विचार, आदर्श, सर्वहारावर्गप्रतिको प्रतिबद्धताजस्ता विषयबाट विचलित हुन पुग्छन् । अन्ततः वर्गदुश्मनका अगाडि घँडा टेक्छन् ।

विश्व सर्वहारावर्गीय आन्दोलनमा हामीले त्यही देख्दै आएका थियौं । कम्युनिष्ट पार्टीको स्थापना कालदेखिनै आन्दोलनभित्र त्यसप्रकारको प्रवृत्तिले पटक–पटक टाउको नउठाएको होइन । दशवर्षको जनयुद्धको क्रममा दशौं हजारको बलिदान, हजारौं हजार वेपत्ता र हजारौं योद्धाहरु घाइते भएर स्थापित भएको क्रान्ति तथा नेताहरु कसरी ढल्दा रहेछन् भन्ने पनि हामीले देख्यौं । बावुराम भट्टराई, प्रचण्ड हुँदै बादलसम्म आइपुग्दा कसरी सुधारवादको जामा पहिरिएर वर्गदुश्मनका अगाडि घुँडा टेक्छन् भन्ने कुरा छर्लङ्ग भएको छ ।

त्यसैले म त के देख्छु भने पछिल्लो अवधिमा क्रान्तिकारी माओवादी विभाजन भएको होइन, हाम्रो पार्टीमा रहेका बादल लगायत एकाध नेताहरुको एउटा झूण्ड वैचारिक, राजनीतिक तथा सांगठानिक रुपबाट पलायन भएका हुन् । त्यसमा पनि रोचक पक्ष के छ भने जब पार्टीले सशस्त्र विद्रोहको कार्यदिशालाई समृद्ध गरेर क्रान्तिलाई पूर्णता दिन आश्विनको पहिलो हप्ता राष्ट्रिय सम्मेलन गर्ने समय तोक्यो, त्यसपछि बादल समूह त्यसबाट आतंकित बने । सम्मेलन अगावै पार्टीबाट भाग्ने योजना बनाउन पुगे । अन्ततः पलायन भइछाडे । साम्राज्यवादी मिडियाहरु मार्फत् अतिरञ्जित तरिकाले प्रचारित भएता पनि ग्राउण्डको क्रान्तिकारी तप्कालाई खासै प्रभाव भने पार्न सकेनन् । 

यस राज्यमा इन्चार्ज तथा सेक्रेटरीको जिम्मेवारी सम्हालेयता वर्गसंघर्ष र अन्तरर्सघर्षका अनुभवहरु के कस्ता छन् ? बताइदिनुस् न ।

–दशवर्षको जनयुद्धको क्रममा ०५५–०५६ सालमा पनि उपत्यकामा कार्यवाहक इन्चार्ज भएर जिम्मेवारी मौका पाएको थिएँ । तात्कालीन अवस्थामा बाबुराम भट्टराईको सुधारवादी चिन्तनका विरुद्ध संघर्ष नै गरिन्थ्यो । तर त्यतिवेला वर्गसंघर्ष घनिभूत रुपमा अगाडि बढिरहेका कारण क्रान्तिकारी तप्का अत्यन्तै हावी थियो । जसले गर्दा सुधारवादी चिन्तनको प्रभाव अत्यन्तै कमजोर रहँदै आएको थियो । 

पछिल्लो समय खासगरी ०६८ को फाल्गनुबाट तात्कालीन क्रान्तिकारी विचार समूहको निर्णय अनुरुप म उपत्यकामा जिम्मेवारी लिएर आउँदा नवसंशोधनवादसँग चर्को र घनिभूत तवरबाट अन्तर्संघर्ष चलिरहेको थियो । अन्तरसंघर्षमा नेवा राज्यमा मैले विगतदेखि वर्तमानसम्म सँगालेको अनुभव कस्तो छ भने तल्लो तहमा जिम्मेवारी लिएका साथीहरुको ठूलो हिस्सामा क्रान्तिकारी विचार मजबुत रहेको छ । जसले गर्दा माथिबाट पटक–पटक सुधारवादको दूषित हावाका झोक्का चल्दा पनि त्यसलाई पचाएर क्रान्तिकारी विचारको रक्षा, वर्गसंघर्षको निरन्तरताका निमित्त महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । यो अत्यन्तै महत्व प्रश्न हो । 

वर्गसंघर्षका दृष्टिले नेवाःराज्य देशको राजधानी भएका कारण वुर्जुवा राज्यसत्ताको पकड मजबुत भएका कारण कहिं न कहिंबाट बुर्जुवाहरुको नियन्त्रण रहन्छ । यति हुँदाहुँदै पनि नेपालमा अन्य देशहरुको तुलनामा क्रान्तिकारीहरुको बलियो उपस्थिति रहँदै आएको छ । जनयुद्धकै क्रममा समेत निकै राम्रा फौजी कारवाही भएका थिए भने शान्तिप्रक्रियामा आएपछि राष्ट्रियता, जनतन्त्र, जनजीविकालगायतका विषयवस्तुलाई लिएर होस् या दोस्रो संविधानसभा निर्वाचन बहिष्कार कार्यक्रमसफल बनाउने क्रममा होस् निकै उत्साहजनक तबरबाट कार्यान्वयन भएका थिए । 

पुरानो राज्यसत्ताको केन्द्र रहेकोले पनि यस राज्यमा हुने र गरिने गतिविधिले निर्णायक प्रभाव र महत्व राख्ने गरेको छ, यस राज्यमा अपेक्षाकृत क्रान्तिकारी पार्टी निर्माण हुन नसक्नुको कारण के हो ? 

–राजधानी भएका कारण यहाँ बसोबास गर्ने व्यक्तिहरुको एउटा हिस्सा र्गीय हिसाबले सर्वहारावर्ग विरोधी छ । तर त्यो सानो हिस्सा छ । ठूलो हिस्सा पुँजीपति भएर पनि दलाल पुँजीपति वर्गबाट पीडित छ । मजदुर, सुकुम्बासी, साना–साना व्यापार, व्यवसायीहरुको ठूलो हिस्सा परिवर्तनको पक्षमा छ । मध्यम वर्गको एउटा तप्का परिवर्तन त चाहन्छ तर आफ्नो केही नगुमाइकन । यो तप्का अलि अवसरवादी प्रकारको छ ।

शक्ति हेरेर आफ्नो सहभागिता जनाउँछ । त्यसैले क्रान्तिकारी पार्टीमा यतिबेला मजदुर, सुकुम्बासी, साना–साना व्यापार–व्यावसायीमा आवद्ध व्यक्तिहरु नै संगठित हुन्छन् र भइराखेका छन् । संघर्षले उत्कर्ष लिंदै गएपछि ठूलो हिस्सा क्रान्तिमा आउँछ । संगठित रुपमा खारिएर अगाडि बढ्ने तप्का हमेसा सानै हुन्छ । पहल र प्रयत्न भने गर्दै जानु पर्दछ । 

जनयुद्ध सुरुगर्दा देखिकै केन्द्रीय नेताको हैसियत र जम्मेवारीबाट हेर्दा जनयुद्धका आँधिमय दशवर्ष र शान्तिप्रक्रियाका वर्षहरुलाई कसरी लिनुभएको छ ? 

–दशवर्षको जनयुद्धले तयार गरेका लक्ष्यहरु निकै महान थिए । किनकि, प्रतिक्रियावादी वर्गको वर्गसत्तालाइै जरैदेखि ध्वस्त बनाएर सर्वहारावर्गको नयाँ जनवादी सत्ता स्थापनाको माध्यमबाट समाजवाद, साम्यवादजस्तो उच्च प्रकारको वैज्ञानिक राज्यसत्तामा पुग्ने लक्ष्यहरु थिए । जसले गर्दा आफ्नो वर्गको मुक्तिकामी दशौं हजार होनाहार महान योद्धाहरुले हाँसी हाँसी आफ्नो जीवनको बलिदान गरे । हजारौं योद्धाहरु बेपत्ता अवस्थामा छन् र हजारौं घाइते अवस्थामा छन् । त्याग, वीरता, र बलिदानका यति धेरै कीर्तिमान खडा गर्दा कसैलाई पनि न त आत्मग्लानी भयो न त कुनै पश्चाताप । बरु सबैले गौरव नै गरेका छन् । 

तर जब पार्टी शान्तिपूर्ण अवस्थामा आयो र त्यही पार्टीका एकाध नेतादेखि कार्यकर्तासम्मले आफ्नो वर्ग पक्षधरता, विचार, आदर्श सबैलाई गुमाएर व्यक्तिगत फाइदाका निमित्त वर्गदुश्मनका अगाडि घुँडा टेक्दै गए, तबभ ने इमान्दार नेता, कार्यकर्तादेखि सहिद परिवार, वेपत्ता परिवार र घाइते योद्धाहरुमा एउटा आक्रोस छ । क्रान्तिप्रति आफ्नो वर्गप्रति गद्दारी गर्नेहरुलाई देखेर घृणा पैदा भएको पाउछु । क्रान्ति र आफ्नो वर्गप्रति गद्दारी गर्नेहरुप्रतिको घृणा र आक्रोसलाई संगठित गर्दै वैचारिक स्तरको विकास गरेर क्रान्तिमा बदल्नु पर्छ भन्ने लाग्छ । क्रान्तिका आँधीमय दशवर्ष र शान्तिपूर्ण प्रक्रियाका दिनहरुलाई यसरी नै हेरेको छु । वस्तुगत अवस्थाका दृष्टिले क्रान्ति नजिकिदै गएको छ । यो नै सकारात्मक कुरा हो । 

प्रतिक्रान्तिलाई रोक्ने उपायहरुको खोजी गर्दा गर्दै क्रान्तिमा प्रतिक्रान्ति हावी हुन पुग्नु पछाडिका कारणहरु के के देख्नुहुन्छ ? 

–वर्गीय समाजमा वर्गहरुको प्रतिबिम्ब पार्टीमा परेकै हुन्छ । किनकि, पार्टीका नेता, कार्यकर्ता भनेको समाजबाटै आएका हुन् । मुख्य त नेताहरुको टिम त्यसमा पनि मुख्य रुपमा आन्दोलनको नेतृत्व गरिरहेको व्यक्तिमा देखिने राम्रो पक्ष र नराम्रो पक्षले निकै ठूलो प्रभाव पार्छ । त्यसैले प्रतिक्रान्तिलाई रोक्ने भनेको परिवर्तनका पक्षधर जनता, इमान्दार कार्यकर्ता र नेताहरुको चनाखोपनाले प्रतिक्रान्तिलाई रोक्ने हो । जनता, कार्यकर्ता र नेताहरुको टिममा बुझाइको एकरुपता र विषयवस्तुको महत्वलाई सुक्ष्म तवरबाट बुझ्ने, तत्काल त्यसलाई सच्याउन प्रयत्न गर्ने र यदि नसच्चिएको खण्डमा सर्वहारावर्गका विरुद्ध हुन सक्ने खतरालाई मध्यनजर गरेर पहलकदमी लिने कुरामा हर हमेशा चनाखो हुनुपर्छ । तत्काल त्यसो हुन नसक्दा प्रतिक्रान्ति हावी हुन पुग्छ । विश्व सर्वहारा वर्गीय क्रान्तिमा र हाम्रो नेपाली क्रान्तिमा पनि भएको त्यही हो । 

कम्युनिष्ट पार्टीमा बारम्बार देखापर्ने टुट,फूट, विभाजनले नेता, कार्यकर्ता र जनतामा निरासा बढाएको देखिन्छ, त्यसलाई आशा र उत्साहमा कसरी बदल्न सकिन्छ ? 

कम्युनिष्ट पार्टीमा फूट एउटा त वैचारिक कारणले हुन्छ, अर्को नेताहरुमा पैदा महत्वाकांक्षाका कारणले हुन्छ । तर हामी कहाँ मुख्य त क्रान्तिकारी पार्टीभित्रको टुट, फूट र विभाजन वैचारिक कारणले हुँदै आएको छ । सामान्य रुपबाट हेर्दा टुट, फूट र विभाजन राम्रो पक्ष होइन । यसरी सामान्य रुपमा मात्रै हे¥यो भने त्यसले निरासा मात्रै जन्माउँछ । मुख्य प्रश्न त्यो होइन । किनभने, युगौंदेखि राज्यसत्ताको हालीमुहाली चलाएर बसेको पुँजीवादी बुर्जुवासत्ताको जरा उखालेर सर्वहारावर्गका हातमा सत्ता ल्याउने भन्ने कुरा त्यति सजिलो विषय होइन ।

त्यसैले यो चुनौती पूर्ण कार्यको सामना गर्न वैचारिक, राजनैतिक रुपमा अत्यन्तै परिपक्व नेतृत्वले मात्र साहस गर्न सक्छ । जुनसुकै प्रकारका चुनौती भएपनि ऊ विचलित हुँदैन । त्यसैले क्रान्ति एउटा तहमा विकसित हुँदै गर्दा जसरी धोकाधडी भयो र पार्टीभित्र टुट, फुट र विभाजन भए । त्यसबाट विचलित होइन, निरासा होइन बरु उच्च मनोवलका साथ गलत चिन्तन, प्रवृत्ति र व्यवहारका विरुद्ध लड्न पर्दछ । क्रान्तिकारीहरुको पहिचान त्यतिबेला सक्रियतापूर्वक कार्यमा जुट्नु पर्छ । जब क्रमशः आन्दोलन बढ्दै जान्छ, जनताको निराशा हट्दै गएर आन्दोलनमा केन्द्रित बन्दै जान्छन् । त्यसबाट केही पनि निरासा हुनु हुँदैन । 

नेकपा (क्रान्तिकारी माओवादी)ले अब क्रान्ति गर्न लायक पार्टी कसरी निर्माण गर्दैछ ? 

–वैचारिक रुपमा परिपक्व, राजनीतिक रुपमा स्पष्ट, सांगठानिक रुपमा चुस्त, सर्वहारावर्गप्रति प्रतिबद्ध, नेतादेखि कार्यकर्तासम्मको बुझाइमा एकरुपता भएको पार्टी बनाउन सकियो भने त्यस्तो पार्टीले क्रान्ति गर्न सक्छ । त्यसका लागि सबैमा त्याग, वीरता र बलिदानी भावनाको विकास गर्न आवश्यक छ । पार्टीलाई जनतामा फर्काउनु पर्दछ । विग्रेको कार्यशैलीलाई बदल्नु पर्दछ । सोलोडोलो माओवादी एउटै हो भनेर हेर्ने जनताको मानसिकतालाई बदल्न आवश्यक छ । यति गरेको खण्डमा पार्टी वास्तवमा क्रान्ति गर्न लायक बन्छ । यसका निमित्त केही समय अत्यन्तै मेहनतका साथ काम गर्नुपर्दछ । 

माओवादी केन्द्र र विप्लव माओवादीभन्दा क्रान्तिकारी माओवादीप्रति जनताले भरोसा(विश्वास) गर्नुपर्ने कारणहरुबारे प्रष्ट्याइदिनुस् न । 
–पहिलो कुरा माओवादी केन्द्रले माक्र्सवाद–लेनिनवाद–माओवाद भन्दै गरेको भएता पनि उ मालेमावादका मार्गदर्शक सिद्धान्तबाट विचलित भइसकेको छ । दोस्रो, हाम्रोजस्तो देशमा यतिवेला क्रान्तिको चरण भनेको नयाँ जनवादी क्रान्तिको चरण हो । माकेले त्यसलाई छाडिसकेको छ । तेस्रो, वर्गसंघर्षलाई छाडेर वर्गसमन्वयतिर गइसकेको छ । चौथो, आमूल परिवर्तनका निमित्त सशस्त्र संघर्षको अनिवार्यतालाई उसले छाडिसकेको छ ।

पाँचौं, त्याग, वीरता र बलिदान होइन, जसरी हुन्छ कमाउ धन्दामा लागिसकेको छ । छैठौं, आमूल परिवर्तनको बाटो छोडेर सुधारवादी बाटोमा हिडेको छ । यसर्थ, माओवादी केन्द्र भनेको नयाँ कलेवरमा देखापरेको संशोधनवादी पार्टी हो । उत्पीडित वर्ग, जाति, मधेसी, महिला, दलित, मुस्लीम, किसान, मजदुरलगायत सबैले त्यहाँबाट आफ्नो मुक्ति हुन्छ कि भनेर आशा गर्नु भनेको आफूले आफैलाई ढाँट्नु र धोका दिनु मात्र हो ।

जहाँसम्म विप्लव माओवादीको कुरा छ, उसको पनि राजनीतिक कार्यदिशा नै गलत छ । किनकि, एकीकृत क्रान्तिको कार्यदिशा भनेर सर्वहारावर्ग र मध्यमवर्गलाई घालमेल पारिएको छ । मध्यम वर्गले सर्वहारावर्गको क्रान्तिको नेतृत्व गर्दैन । दोस्रो, उसँग फौजी कार्यदिशा नै छैन । उसले दीर्घकालीन जनयुद्ध र सशस्त्र विद्रोहलाई घालमेल पारेको छ । दीर्घकालीन जनयुद्ध कि सशस्त्र विद्रोह ? कुन प्रधान हो ? सत्ता कसरी प्राप्त गर्ने ? स्पष्ट छैन । तेस्रो, उसको नारा छ– सत्ता साझेदारीको । बुर्जुवा वर्गसँग सत्ता साझेदारी गर्नका निमित्त क्रान्ति ? त्यो कस्तो क्रान्ति हो ? त्यो कुन वर्गको सत्ता हो ? चौथो, अहिलेको स्थिति नयाँ जनवादी क्रान्तिको चरण हो कि समाजवादी क्रान्तिको ? यसमा विप्लव माओवादी अलमल र ढुलमुल देखिन्छ । 

यी सबै कारणहरुले गर्दा हाम्रो पार्टी नेकपा (क्रान्तिकारी माओवादी) एक मात्र क्रान्तिकारी पार्टी हो । यसले लिएको कार्यदिशा, नीति, योजना र कार्यक्रम प्रष्ट छ । त्यसकारण आमूल परिवर्तनकारी क्रान्तिको नेतृत्व गर्ने भनेको यसैले हो । कतिपय व्यक्तिमा, जनतामा क्षणिक भ्रम परेता पनि अन्ततः स्पष्ट हुँदै जानेछ । र, जनताले अवश्यक विश्वास गर्नेछन् । 

अन्तमा, जनवादी क्रान्तिका पक्षधर अन्य पार्टीहरुसँग एकता वा ध्रुवीकरणको सम्भावना कस्तो देख्नुहुन्छ ? 
–तत्काल एकताको सम्भावना कसैसँग पनि छैन । तत्काल मिल्ने विषयहरुलाई लिएर कार्यगत एकता वा संयुक्त संघर्षका लागि सँगै लैजान सकिन्छ । त्यसका निमित्त हाम्रो पार्टी खुल्ला नै छ । ध्रुवीकरणको प्रक्रिया भने सँधै नै भइरहन्छ । यतिवेला तात्कालीन मुद्दालाई लिएर कार्यगत एकता र क्रान्तिकारी ध्रुवीकरण नै ठीक हो भन्ने लाग्छ ।