काठमाडौं । माओवादी केन्द्रमा मन्त्रिपरिषद विस्तारसँगै भाँडभैलो सुरु भएको छ । पार्टीका तर्फबाट ८ जना मन्त्री बनाईएपनि एक जना महिलालाई समेत मन्त्री नबनाइएपछि पार्टीकै महिला सांसदहरुले चर्को विरोध गरेका छन् ।
पार्टीभित्रका विवाद मिलाउनका लागि एक जनापनि फुलमन्त्री नबनाएका प्रचण्डले दुई जनालाई राज्यमन्त्री बनाएका थिए । यसअघि माओवादी केन्द्रका नेताले राज्यमन्त्री नबनाउने बताएका थिए । तर पार्टीभित्रको विवाद मिलाउनका लागि धनमायाँ बिक र राधीका तामाङलाई राज्यमन्त्री बनाइएको छ ।
माओवादी केन्द्रका ८१ जना सांसदमध्ये २८ जना महिला रहेपनि कसैलाई फुलमन्त्री नबनाइएको हो । जनयुद्धकालदेखि नै महिलामुक्तिको कुरा उठाउँदै आएको माओवादीले सरकारमा सामेल गर्ने कुरामा भने विभेद गरेको महिला नेतृहरुको गुनासो छ ।
यसैबीच, दुई जना महिला नेतृले राज्यमन्त्री पाएपछि महिला सांसदहरु समेत विभाजित बनेका छन् । महिला नेतृहरुकोे बानेश्वरमा बसेको बैठकले कुनैपनि महिलाले राज्यमन्त्रीको सपथ नखाने निर्णय गरेको भएपनि दुईजना भने शपथ खान पुगेका थिए ।
मन्त्रिपरिषद गठनका विषयलाई लिएर अन्य नेता समेत असन्तुष्ट बनेका छन् । बाबुराम भट्टराई पार्टीमा रहँदा उनीपक्षीय भनेर चिनिएका नेता प्रभु साहले स्थानीय विकास मन्त्रालयको माग गरेपनि उनलाई नदिइएपछि रुष्ट बनेका छन् ।
उनले पार्टीमा फरक मतलाई निषेध गरिएको भन्दै असन्तुष्टि पोखेका छन् । उनलाई प्रचण्डले कानुनमन्त्री बनाउन चाहेपनि स्थानीय विकास दिन आग्रह गरेपछि अन्तिममा अजयशंकर नायकलाई कानुन मन्त्री बनाइएको छ ।
यस्तै पार्टीबाट मन्त्री बनाउँदा क्षेत्रीय सन्तुलनलाई पनि बेवास्ता गरेको भन्दै विभिन्न क्षेत्रका नेताहरु असन्तुष्ट बनेका छन् ।
यसपटक रोल्पालाई भने चिट्ठा नै परेको छ । उसअघि नै रोल्पाका नन्दबहादुर पुन उपराष्ट्रपति भएका थिए भने ओनसरी घर्ती सभामुख भएकी थिइन् । वर्तमान सरकारमा कृष्णबहादुर महरा उपप्रधान र अर्थमन्त्री बनेका छन् ।