काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले आइतबार तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्ने भएको छ ।
प्रधानमन्त्री दाहालले आइतबार आफ्नो पार्टीको भागमा परेको बाँकी पाँच मन्त्रालयलाई पूर्णता दिने गरी मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।
पहिलो चरणमा माओवादीका तीन र कांग्रेसका दुई मन्त्रीको सपथ गराइएको थियो भने दोस्रो चरणमा राप्रपाका दुई मन्त्रीलाई सपथ गराइएको थियो ।
आइतबार तेस्रो पटक गर्न लागिएको मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न प्रधानमन्त्री दाहालले शनिवार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन् । राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री दाहाल शनिवार विहानै शितल निवास पुगेका थिए ।
राष्ट्रपतिले सरकार विस्तारका विषयमा राष्ट्रपतिले चासो राखेपछि प्रधानमन्त्री दाहालले आइतबार मन्त्रिपरिषद विस्तार गर्ने जानकारी गराएको दाहालको निजी सचिवालयले जनाएको छ ।
माओवादीको भागमा परेका आठ मन्त्री मध्ये तीन जनाले यसअघि नै सपथ लिइसकेका छन् । दाहालले आफ्नो पार्टीबाट तय गरेका बाँकी पाँच मन्त्रीमा विवाद भएपछि सपथ कार्यक्रम रोकेका थिए ।
पार्टीमा विवाद भएपछि पार्टी हेडक्वाटरले दाहाललाई सहज हुने गरी मन्त्री बनाउन स्वीकृति प्रदान गरेको थियो । हेडक्वाटरको निर्णयपछि दाहाल पाँच मन्त्री बनाउन कस्सिएका हुन् ।