मोर्चाका माग सम्बोधन गर्न संविधान संशोधन हुन नदिने रणनीतिमा एमाले

मोर्चाका माग सम्बोधन गर्न संविधान संशोधन हुन नदिने रणनीतिमा एमाले

uml-party-office-in-dhumbarकाठमाडौं । सत्तारुढ गठबन्धनले संविधान संशोधन गरी मधेसी तथा जनजाति समुदायको माग सम्बोधन गर्ने तयारी गरिरहँदा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने संविधान संशोधन गर्न नदिने रणनीति बनाउन जुटेको छ । 

सत्तारुढ गठबन्धन कांग्रेस–माओवादीले संविधान संशोधनमार्फत मधेसी, जनजाति तथा असन्तुष्ट पक्षको माग सम्बोधन गर्ने सहमति गरेपछि आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले ब्यवस्थापिका संसदमा भएको प्रधानमन्त्रीको निर्वाचनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई मतदान गरेको थियो । 

मधेसी मोर्चासँग सहमति गरी मोर्चालाई समेत सरकारमा सहभागी गराउने सत्तारुढ गठबन्धनले तयारी गरिरहँदा एमालेले भने संविधान संशोधनमा बाधा उत्पन्न गर्ने रणनीति बनाउँदैछ । सात प्रदेशको सीमांकनलाई तलमाथि हुन नदिएर मोर्चासँग सहमति हुन नदिने एमालेको योजना छ । 

सत्तारुढ गठबन्धनले अघि सारेको संविधान संशोधनको प्रस्ताव असफल पार्ने रणनीति बनाउन एमाले स्थायी समितिको बैठक शनिबारदेखि शुरु भएको छ । भर्खरै सरकारबाट बाहिरिएको नेकपा एमालेको नयाँ गठबन्धनको सरकार बनेपछि शनिवार पहिलो पटक स्थायी समितिको बैठक बसेको हो । 

बैठकमा ओली सरकारको समीक्षा तथा आगामी रणनीतिबारे छलफल भएको नेताहरुले बताए । छलफल नसकिएकाले आइतबार पुनः बैठक बस्ने एमालेले जनाएको छ । 
संविधानको पूर्ण कार्यान्वयन नभएसम्म संविधान संशोधन हुनै नदिने नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले बताए ।

पोखरामा पत्रकारहरुसँग कुरा गर्दै उनले संविधानको कुनै पनि धारा परिवर्तन गर्न नदिने बताए । एमालेले संविधानमा भएको कमा र फुलस्टप (पूर्णविराम) पनि संशोधन गर्न नदिने उनको भनाई थियो ।

संविधानको कुनै पनि धारा अपरिवर्तनीय नभए पनि गौतमले भने संविधानको पूर्ण कार्यान्वयन नभएसम्म संविधानको कुनै पनि धारा संशोधन गर्न नदिने उल्लेख गरेका हुन् । 
मधेसी मोर्चाको सहमतिअनुसार संसदमा संविधान संशोधनका लागि प्रस्ताव पेश गर्ने कांग्रेस–माओवादी गठबन्धनले तयारी गरिरहँदा एमाले उपाध्यक्ष गौतमले भने संसदमा संशोधन प्रस्ताव पेश भएमा विपक्षमा मतदान गर्ने बताए ।

ओलीका कारण गठबन्धन भत्कियो : गौतम 

एमाले उपाध्यक्ष गौतमले पार्टी अध्यक्ष केपी शर्मा ओलीकै कारण गठबन्धन भत्किएको बताए । आफ्नो पार्टीका अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने भद्र सहमति नमानेका कारण एमाले सरकार बाहिर बस्नु परेको उनले स्पष्ट गरे ।

भद्र सहमति अनुसार दाहाललाई प्रधानमन्त्री दिएको भए फेरि प्रधानमन्त्री एमालेको हातमा आउने उनले बताए । आलोपालो सरकारको नेतृत्वका लागि आफूले अन्तिमसम्म प्रयास गरे पनि ओलीले नमालेका कारण सफल हुन नसकेको बताए । 

गौतमले एमाले अब प्रतिपक्षमा बसेर सरकारले गरेको राम्रो कामको समर्थन र नराम्रो कामको विरोध गर्ने बताए । एमाले सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटको वर्तमान सरकारले निरन्तरता दिनु एमालेको उपलब्धि भएको उनको भनाइ थियो ।