क्रान्तिकारी युवाहरुको महत्व र दायित्व

प्रकाशित मिति : २०७३ श्रावण २८

- चन्द्रहरि सुवेदी ‘अटल’

नेपालको कम्युनिस्ट आन्दोलनमा युवाहरुको अत्यन्तै महत्वपूर्ण भूमिका रहँदै आएको छ । युवाहरुको एउटा निश्चित उमेरमा यस्तो सोच विचार आउँछ कि आफ्नो लागि भन्दा अरुको लागि बाँच्ने, हावासँगै बहने, पानीसँगै बग्ने, ढुंगा खाएपनि पचाइदिने थकाई भन्ने कुन चराको नाम हो थाहै नहुने, रातदिन एउटै बनाएर खट्ने, दौडधुप, भेटघाट, छलफल गर्ने, नयाँ कुरा सिक्न भोक लागिरहने, यस्तो बेलामा युवाहरुलाई संगठित गर्ने र देश, जनता, पार्टी र क्रान्तिको काममा लगाउने हो भने जुनसुकै संगठन र पार्टीले धेरै प्रगति र विकास गर्न सक्छ ।

युवाहरुको यही प्रगतिशील गुणकै कारण संसारमा त के छ थाहा छैन नेपालमा चाहिं एउटा भनाई प्रचलित छ – २५ वर्षसम्म कम्युनिस्ट भएन भने त्यो मानिस होइन र २५ वर्ष कटेपछि कम्युनिस्ट भयो भने त्यो पनि मानिस होइन । यो भनाई पञ्चायत कालमा पञ्चहरु र कांग्रेसहरुहरुले आफ्ना छोराछोरीलाई आफ्नो सिद्धान्तमा हिडाउन नसकेपछिको पीडा हो । स्कुल क्याम्पस जताततै युवा कम्युनिस्टहरु अखिलले जित्ने भएपछि यस्तो भनाई प्रचलित भएको हो । भिन्न सन्दर्भमा भिन्न रुप र शब्दमा सायद आफ्नो देशको सन्दर्भमा यस्ता भनाईहरु हुन्छन् ।

युवाहरुको यही गुणलाई ध्यानमा राख्दै लेनिनले भन्नुभएको रहेछ – असम्भव कुरालाई पनि सम्भव छ भन्ने नाकै ठोक्किने ठाडो पहाडमा पनि चढ्न सक्छु भनेर धाक लगाउने युवाहरुलाई इंगित गर्दै अलिकति गफ लडाउने अधिकार त युवाहरुलाई ‘भगवान’ले पनि दिएका हुन्छन् भनेर । १५ वर्ष उमेर पूरा भएको र ४० वर्ष ननाघेको उमेर समूहका हरेक युवा युवती = युवा संगठन । सबै राजनीतिक पार्टीहरुले बनाएका हुन्छन्, युवा संगठन । 

युवाहरु काँचो माटो भएकोले जसरी कुम्हालेले जुनसुकै माटोको भाँडो आकार दिएर बनाउन सक्छ, ठीक गति र दिशा दिने हो भने युवाहरुलाई त्यस्तै बनाउन सकिन्छ । अलिकति रड्किने बित्तिकै युवाहरु यही उमेरमा दुव्र्यसनी, चोर, डाँका, पकेटमार र लुटेरा पनि हुन्छन् । त्यो नकारात्मकतालाई सकारात्मकतामा बदल्दै हामीले हरेक युवालाई देश, जनता, पार्टी र क्रान्तिको काममा लगाउन जरुरी छ । युवाहरु स्वभावैले प्रगतिशील, न्यायप्रेमी, अरुको भलाई गर्ने ग्रन्थीको विकास भएको बेलामा ठीक लाइनमा हिडाउन प्रयत्न गर्नु हरेक क्रान्तिकारीहरुको कर्तव्य हुन्छ ।

यही उद्देश्य पूरा गर्न नेकपा (क्रान्तिकारी माओवादी) ले आजसम्मका सशस्त्र संघर्ष र लडाकु, जनआन्दोलन र सबैप्रकारका संघर्षलाई संश्लेषित गर्दै नेपाली विशेषतामा आधारित जनविद्रोहमार्फत् नयाँ जनवादी क्रान्ति पूरा गर्दै समाजवाद र साम्यवादको महायात्रामा युवाहरुलाई डो¥याउन क्रान्तिकारी युवा लीग (RYL) को गठन गरेको छ । यसको प्रथम एकता भेला तथा बैठक २०७२ माघ २६ गते सम्पन्न भई आगामी भदौ १४ र १५ गते दोस्रो राष्ट्रिय भेला सम्पन्न हुन गइरहेको छ । नेपालमा मालेमालाई समर्थन गर्ने सच्चा प्रगतिशील क्रान्तिकारी युवाहरुको मूल संगठन यही क्रान्तिकारी युवा लीग(RYL) हो । 

माथि व्याख्या गरिएको युवाहरुको चरित्रका आधारमा नेपाली कम्युनिस्ट आन्दोलनमा युवाहरुलाई युवा चरित्रअनुसार निकै पछिमात्र संगठित गरेको हामी पाउँछौं । सुरुमा कम्युनिस्ट पार्टी गठन गर्दा यसका संस्थापक र नेताहरु आफै युवा थिए । समग्र समाजको हिसाबले कम्युनिस्ट पार्टी नै युवाहरुको पार्टीजस्तो भएकोले पनि हुनसक्छ युवा संगठन गठन भएको पाईंदैन । जब कम्युनिस्ट पार्टीको उमेर छिप्पिंदै गयो, कम्युनिस्ट पार्टीका नेताहरु प्रौढ हुँदै गए त्यसपछि युवा संगठनको आवश्यकता पनि बढ्दै गयो । त्यसपछि मात्र नेपालका कम्युनिस्ट पार्टीहरुले भातृ संगठनको रुपमा युवा संगठन गठन गर्न थालेका हुन् ।

नेपाली कम्युनिस्ट आन्दोलनका तीन धाराध्ये रसियन धारा माझी मानन्धर वर्माको धार करिब करिब बिसर्जन भइसकेको छ । त्यसपछिका दुई धार पुष्पलाल धार र चौथो महाधिवेशन धार हो । माले वा झापाली धार अहिले मनमोहनसँग एकता गरेपछि एमालेलाई पुष्पलाल धारभन्दा पनि फरक पर्दैन । तर वैचारिक रुपमा क्रान्तिकारी माले धार माओवादी धारमै एकीकरणमा आइसकेकोले सांगठनिक धार एउटा एमाले र अर्को क्रान्तिकारी माओवादी धार हुन् । पार्टीको संस्थागत विचार वा संस्थापन विचारलाई फौजी र राजनैतिक रुपमा पार्टी र जनतामा लैजानको लागि दाहिने हातको रुपमा युवा संगठन गठन गरिएको हुन्छ ।

पार्टीको विपरित प्रवृत्ति ‘वाम’, मध्य र दक्षिण प्रवृत्तिसँग लड्नको लागि नै पार्टीले औजारको रुपमा युवा संगठनको निर्माण गर्ने गर्दछन् । त्यसकारण युवा संगठनको मुख्य कर्तव्य पार्टीको संस्थागन नीति र नेतृत्वको पक्षमा दह्रोसँग उभिदै पार्टीको फौजी र राजनीतिक लाइनको अनुशरण गर्ने र लागु गर्ने हो । क्रान्तिकारी युवा लीग एउटा राजनैतिक संगठन हो । यसले पार्टीको नीति र नेतृत्वको पक्षमा दह्रोसँग उभिदै देशैभर संगठनको जालो विस्तार गर्ने हो । 

क्रान्तिकारी माओवादीको मूल धारको रुपमा रहेको नेकपा (चौथो महाधिवेशन) हुँदा मोहनविक्रम सिंहको नेतृत्व हुँदा प्रचण्डको नेतृत्वमा अखिल नेपाल युवक संघ गठन भएको थियो । यसले क्रान्तिकारी युवाहरुलाई व्यापक रुपमा संगठित गर्दै क्याम्पस क्याम्पसमा युवाको इकाई बनाउने, वाम, मध्य र दक्षिण प्रवृत्तिका विशेषता खुट्याउँदै अध्ययन सामग्री बनाएर व्यापक स्कुलिङ र प्रशिक्षण चलाउने गाउँ गाउँका हलि गोठाला युवाहरुलाई संगठित गर्दै जुडो कराँते र लाठीको प्रशिक्षण दिलाउँदै शोषकहरुका विरुद्ध व्यापक अभियान चलायो । त्यो युवक संगठन यति सक्रिय भयो कि त्यो नै पछि पार्टी बन्न आइपुग्यो ।

मोहन वैद्य बाहेक पछिल्लो कोर संगठनमा एकपटक युवक संघको अध्यक्ष हुन पुगेका प्रचण्ड, बादल, देव गुरुङ पार्टीको नेतृत्वदायी तहमा आइपुगे भने यसमा काम गर्ने अधिकांश नेताहरु पार्टीको केन्द्रीय समितिमा आइपुगे । त्यसकारण युवा संगठन भनेको कम्युनिस्ट कार्यकर्ता र नेता उत्पादन गर्ने फ्याक्ट्री पनि हो । युवाहरु स्वभावैले रुढिवाद, पछौटे उत्पादन प्रणाली, संसदवाद, संशोधनवाद विरोधी हुने हुँदा कम्युनिस्ट पार्टीलाई निरन्तरता दिन, क्रान्तिकारी बनाइराख्न, यसलाई अविछिन्न उत्तराधिकारी बनाईराख्न निरन्तर गतिशील र प्रवाहित गराई राख्नुपर्दछ ।

युवा संगठन विश्व कम्युनिस्ट आन्दोलनमा दुई किसिमका स्वाभाव र उद्देश्यअनुसार गठन भएको पाउँछौं । एउटा जनसंगठनको रुपमा व्यापक युवाहरुलाई राजनैतिक र वैचारिक रुपले प्रशिक्षित गर्दै जनआन्दोलनको समुद्र उठाउन क्रियाशील गराउने यो अलि बढी लेनिनको नेतृत्वमा रुसमा र अर्को पार्टीको सहायक संगठनको रुपमा योङ कम्युनिस्ट लीगको रुपमा माओको नेतृत्वमा चीनमा नेपालमा युवक संघलाई पछि नाम बदलेर योङ कम्युनिस्ट लीग भूमिगत रुपमा र युवा लीग खुला रुपमा जनयुद्धको तयारीको बेलामा गठन गरेर परिचालित भएका थिए ।

जनयुद्ध सुरु भएपछि सम्पूर्ण युवाहरु मिलिसिया र जनमुक्ति सेनामा आइपुगेकोले छुट्टै युवा संगठनको जरुरी भएन । वाइसिएललाई स्थगित गरिएको थियो । जनयुद्ध र जनआन्दोलनपछि पार्टीको विद्रोहको लाइनमा वाइसिएलले एकपटक फेरि तहल्का मच्चायो । जब एमाओवादी संशोधनवाद र नवसंशोधनवादमा पतन भयो, वाइसिएल पनि अरु संसदवादी पार्टीहरुका युवा संगठन जस्तै चुनाव जिताउने र बुथ कब्जा गर्ने संगठनमा बदलियो । त्यसपछि विद्रोह गरेर नेकपा–माओवादी र नेकपा (एकीकृत)बीच एकता भएपछि क्रान्तिकारी माओवादीको भातृ संगठनको रुपमा क्रान्तिकारी युवा लीग कार्यरत छ । 

नेपाली विशेषतामा जनविद्रोहको लाइनलाई लागू गर्न सम्पूर्ण क्रान्तिकारी मालेमावादलाई समर्थन गर्ने युवाहरुलाई क्रान्तिकारी युवा लीगमा धैर्यता, लगनशीलता, निरन्तरता र गतिशीलताका साथ संगठित गर्दै अगाडि बढाउनु पर्दछ । एशिया अफ्रिका र ल्याटिन अमेरिकी देशहरु अहिले पनि उत्पीडित देशहरु हुन् । उत्पादन पद्धतिका हिसाबले अहिले पनि सामन्ती उत्पादन पद्धति विद्यमान छ भने साम्राज्यवादी विस्तारवादी उत्पीडन झन् बढेको छ । त्यसकारण सामन्तवाद साम्राज्यवाद विरोधी क्रान्ति नयाँ जनवादी क्रान्ति यी देशका मूल प्रवृत्ति हुन् ।

नयाँ जनवाद, समाजवाद, साम्यवादको यात्रामा निरन्तर युवाहरुलाई हिडाउनु युवा क्रान्तिकारीहरुको दायित्व हो । यही दायित्वलाई पूरा गर्न नै क्रान्तिकारी युवा लीगको गठन भएको हो । हामीले युवाहरुलाई सदस्य बनाउँदा उदात्त भावना भएका, वर्ग दुश्मनप्रति घृणा भाव भएका, परिवारको मन जितेर संगठनको काममा समय निकाल्न सक्ने, समाजमा राम्रो मानिस भनेर चिनिएको पारिवारिक उल्झन कम भएको व्यक्तिलाई संगठित गर्दै नेतृत्वमा विकास गर्न सकियोस् भन्ने कुरालाई ख्याल गर्नुपर्दछ । अब पुराना संसदवादी, नवसंशोधनवादी, सुधारवादी युवाहरु एकपटक लेखिसकेका फोहोर कागजमा परिणत भइसके ।

त्यसलाई मेटाएर सफा कागज बन्न गाह्रो हुन्छ । केही पनि नलेखिएको सफा कागज जस्ता युवाहरुलाई खोज्ने र सदस्य बनाउँदै मालेमावाद प्रशिक्षित गराउँदै अगाडि बढाउनु पर्दछ । घर परिवारको बोझ नहुने संवेदनशील कुराले तुरुन्तै प्रभाव पार्ने “सल्यानको तिते फापर चितवनको तोरी एकैनास बनाउनुछ डाँडाकाँडा फोरी” भन्ने गीत जस्तो समाजमा भएका शोषकहरुको डाँडाकाँडालाई सम्म पारेर सबैलाई बराबर सम्म पार्ने साम्यवादी उदात्त विचारबाट युवाहरुलाई छिटै आकर्षित पार्न सकिने र पर्ने भएकोले युवाहरुलाई बढीभन्दा बढी संगठित गरेर भावी साम्यवादी आन्दोलनलाई गति दिनुपर्दछ ।

त्यसकारण लेनिनले युवाहरुलाई इंगित गर्दै भन्नुभएको थियो – “आम रुपमा सबै युवकहरु र खास गरिकन कम्युनिस्ट युवक संघहरु तथा अन्य जुनसुकै संगठनहरुको कार्य केवल एक शब्दद्वारा व्यक्त गर्न सकिन्छ, त्यो शब्द हो ‘सिक्नु’ ।” हो, युवाहरुमा सिक्नको लागि भोक हुनुपर्दछ । आफूले सिक्ने र सिकेका कुराहरु अरुलाई सिकाउने गरेर हातेमालो गर्दै हामी अगाडि बढ्नुपर्दछ । 

नेपालमा प्रतिक्रान्ति भएको छ । हिजोका क्रान्तिकारीहरु आज भूतपूर्व क्रान्तिकारी भएका छन् । १९०५ मा रुसमा प्रतिक्रान्ति भएपछि निराशा, भागदौड, कुण्ठा, अश्लिलता व्याप्त भएको थियो । अहिले नेपाली समाज झण्डै झण्डै त्यस्तै अवस्थाबाट गुज्रिएको छ । युवाहरु संगठित हुनेभन्दा पलायन हुने, देश छोडेर हिंड्ने, विदेश गएर उतै बसोबास गर्ने गरिरहेका छन् । यो पनि ठिक छैन, उ पनि ठिक छैन, ठीक के हो त्यो पनि थाहा छैन भन्ने अज्ञयवादले छोएको छ । यो क्षणिक कुरा हो । १९१७ को आसपास संसारको एकतिहाई भूभाग मुक्त भएर साम्यवादी संसार भएको थियो । १९४५ देखि १९५९ को दशकमा विश्वमा अर्को उभार आयो र एक तिहाई भूभाग साम्यवादी संसारमा परिणत भयो ।

अहिले समाजवादी देश एउटा पनि देश नभएपनि संसार एउटा गाउँजस्तो भएको छ । एउटा गाउँको खबर तुरुन्तै संसारभर फैलने र संसारभरको कुरा तुरुन्तै एउटा गाउँमा पुग्ने भएकोले आगामी विश्व मुक्ति आन्दोलनको उभारले संसारलाई एकैचोटी मुक्त पार्नेछ । महान् माओले भनेझैं कि क्रान्तिले तेस्रो विश्वयुद्धलाई रोक्ने छ, कि तेस्रो विश्वयुद्धले क्रान्ति जन्माउनेछ भन्ने कुरा लागु हुनेछ । कम्युनिस्ट सिद्धान्त जन्मिएको जम्मा १६८ वर्ष भयो । त्यसैले १० हजार वर्ष पुरानो सामन्तवाद हजार वर्ष पुरानो संसदवादको दाँजोमा हाम्रो कम्युनिस्ट पार्टी विचार अझै बच्चा छ ।

त्यसैले महान् एंगेल्सले भन्नुभएको थियो – “सामन्त र पुँजीपतिहरुले हामी कम्युनिस्टहरुको विचार र संगठनलाई बच्चाहरुको पार्टी र बच्चाहरुको विचार भन्छन्, हामीले त्यसलाई स्वीकार गर्छौं । वृद्धहरुको पहिला मृत्यु हुन्छ र बच्चाहरुको भविष्य हुन्छ । भावी संसार हामी कम्युनिस्टहरुको हो” भन्नुभएको छ । क्रान्तिकारी युवा लीग कम्युनिस्ट दर्शन मान्ने युवाहरुको संगठन भएकोले हामी सबैको भविष्य छ । सामन्तवाद र पुँजीवादजस्तो उच्च र मरणासन्न अवस्था साम्राज्यवाद हो । इतिहासमा पुरिनेछ र हाम्रो सुनौलो बिहानीको यात्रा निरन्तर अगाडि बढ्ने छ, साम्यवादसम्म ।