काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले इञ्जियरिङ शिक्षामा भएका विकृति हटाउन माग गर्दै पुल्चोक स्थित डीनको कार्यलयमा १६ बुँदे मागपत्र पेश गरेको छ ।
क्रान्तिकारीले नेपाल इन्जिनियरिङ काउन्सिलले तोकेको मापदण्डमा रहेर मात्रै क्याम्पस सञ्चालन गर्न/गराउन, देशमा संघीयता कार्यन्वयन हुँदा हरेक राज्यमा एउटा इन्जिनियरिङ कलेज सञ्चालन गर्न, आइओईले प्रदान गर्दै आएको छात्रवृत्तिमा कम्तीमा पनि २५ प्रतिशतले वृद्धि गर्न र प्रभावकारी हुने गरी लक्षित वर्गलाई उपलब्ध गराउन माग गरेको छ ।
यस्तै विना आधार वार्षिक रुपमा भारी मात्रामा बढाईदै आएको शुल्क तत्काल खारेज गरी यो शैक्षिक सत्रमा शुल्क वृद्धि नगर्न, शुल्कको वैज्ञानिक मापदण्ड तयार गर्न, विद्यार्थीको आवश्यकता र अनुपातअनुसार सुविधा सम्पन्न छात्राबास तथा यातायातको व्यवस्था गर्न र विषयविज्ञ र पूर्णकालीन प्राध्यापकहरुको व्यवस्था गर्न पनि क्रान्तिकारीको माग छ ।
क्रान्तिकारीले बुझाएको मागपत्रमा परीक्षा प्रणालीलाई व्यापक शुद्धिकरण गरी पुरक परीक्षा दिने हालको व्यवस्था खारेज गर्न, एकै दिनमा दुई वटा परीक्षा गराउने व्यवस्था खारेज गर्न र पाठ्याक्रम अनुसार प्रश्नपत्र तयार गर्ने व्यवस्था मिलाउन पनि माग गरिएको छ ।
यसैगरी क्रान्तिकारीले आफ्नो संगठनसँग यसअघि भएका सहमति कार्यन्वयन गर्न समेत माग गरेको छ ।
अखिल क्रान्तिकारी नेवाः राज्य समितिले बुझाएको मागपत्रमा आफ्ना मागहरु पूरा गर्नका लागि ७ दिने अल्टिमेटम सहित मागपत्र बुझाएको संयोजक ज्ञानु खतिवडाले जानकारी दिइन् ।
आफ्ना माग पूरा नभए जस्तोसुकै मूल्य चुकाएर भएपनि संघर्षमार्फत माग पुरा गराउने क्रान्तिकारीले जनाएको छ ।