Ishwor Chandra Gyawaliराष्ट्रियताको आवरण ओढेर निर्वाध सत्ता खान्छु भन्ने ओलीको दाइँ अब सकिएको छ । राष्ट्रिहीत विपरीतको ‘अपर कर्णाली’, ‘मध्यमस्र्याङ्दी’, अरुण–३, जस्ता घातक देशघाती जलस्रोत र नदी कब्जा गर्ने भारतसितका सन्धि साँक्षी हुँदाहुँदै राष्ट्रियताको पारदर्शी जालोले कलंकित अनुहार छोप्ने चाहना कति पूरा हुन सकेन ओलीको ।

पुराना असमान, राष्ट्रघाती, अपमानजनक वलात् लादिएका भारतसँगका सन्धिका बारेमा पुनरावलोकनसम्मका कुरा उठाउन नसक्ने ओलीको राष्ट्रवादी नारामा धेरै दम छैन । ओलीको सत्ता पल्टाउन सफल भएका कांग्रेस र माओवादी केन्द्रको राष्ट्रहिताको हैसियत भने दिल्ली धाममा शेरबहादुर देउवा र कृष्णबहादुर महराहरुको प्रभूको दर्शन र सत्ताको याचनाले स्पष्ट पारेको छ ।

हरेक सत्ताको पटाक्षेपमा दिल्ली धाममा पुगेर प्रभूको दर्शन गर्ने परम्परा नै बसालेका राष्ट्रिय आत्मसमर्पणवादी दलालका प्रतिमूर्तीहरुले राष्ट्रियताको कुरा गर्नु शोभनीय नभए पनि निर्लज्जतापूर्वक त्यही गरिरहेका छन् । देश अस्थिरतातर्फ धकेलिएको भन्ने तर्क गरेर आफ्ना काला कर्तुत लुकाउने मनसाय र जनतामा उनीहरुले पार्न खोजेको भ्रमको पर्दाफास धेरै हुन सकेको छैन । उनीहरुले राष्ट्रियताको विषयमा ‘अडान’ लिएको र नाकाबन्दीलाई सामना गरेको तर्क पनि अहिले गरिएको छ । जनतामा राष्ट्रवादी छवि फैलाउने र जनताको सम्वेदनालाई आकर्षित गर्ने मनसायले गरिएका त्यस्ता प्रचारको कुनै तुक भने छैन ।

जो सबभन्दा बढी राष्ट्रघाती छ, उसैले यहाँ राष्ट्रियताको कुरा गर्ने गरेका छन् । गएको नाकाबन्दीको सामना जनताभित्र अन्तर्निहित देशप्रेमको भावनाले मात्र गरेको हो । जनता स्वयम् सचेत भई घरमा चूलो बल्न र ओखतीमूलो समेत उपलब्ध नहुँदासम्म पनि स्वस्फूर्त रुपमा संयमित बनिरह्यो । देशमा त्यस्तो राष्ट्रिय संकटको घडीमा पनि भ्रष्टाचार, तस्करी, कालोबजारी, कृत्रिम अभाव, लूट र शोषणको उच्च कीर्तिमान कायम गरि राखिएको थियो ।

जसले जतिसक्छ लूट, भ्रष्टाचार गर, घुस खाऊ भन्ने आम आचारसंहिता बनिरहेको बेला पनि जनताले धैर्य र संयम कायम गरेको कुरालाई, जनताले गरेको देशको मायालाई मैले गरेको भनेर मात्र फुलाउन र गलत श्रेय लिन खोज्नु कुटिल मानसिकताकै परिचायक हो । त्यही कुटिल मनोविज्ञन ओलीले प्रयोग गरिरहे, गरिरहेका छन् । र, त्यसैको जनअपेक्षित श्रेय बटुलेर जनतालाई ठगिरहेका छन् । तर उनको त्यो हैसियत अहिले समाप्त भइसकेको छ । ओलीले गलत बाटो समाएकाले नै उनको सत्ता अवरोहणको अवस्था सिर्जना भएको हो । 
देशलाई सँधै अस्थीरता, अराजकता, अव्यवस्थामा पुर्‍याएर माथि उठ्न नदिने, कुनै पनि विकासका गतिविधि हुन नदिने र देशलाई यस्तै गरिबी, अभाव, पछौटेपन र अविकसित अवस्थामा झुलाइरहने र जनतालाई तवाहमा पारेर आफ्नो अधीनमा राखी रहने भारतीय चालबन्दीमा सबै नेताहरु फँसेका छन् । यसैको परिणाम वर्तमान राजनीतिक घटनाक्रम हो । संसदीय व्यवस्थाको खेल सँधै यस्तै हुन्छ । जुन संसदीय व्यवस्थालाई अँगालो हालेर संसदवादी, बुर्जवा पार्टीहरु यसको विकल्प नै छैन भनेजस्तो गरी यसैमा टाँसिरहने काम गरिरहेका छन्, संसदीय व्यवस्थामा यति धेरै हठ यिनीहरुको आफ्नै हठ पनि हैन ।

यो व्यवस्थाभन्दा “दायाँबायाँ नगर” भन्ने आफ्ना प्रभूको आदेशको हठ हो यो । संसदीय व्यवस्था नेपालबाट असफल भइसकेको व्यवस्था हो । २०४६ सालदेखि २०५८ सालसम्मको अवधि संसदीय व्यवस्थाको पूर्ण क्षमतामा संचालनको अवधि थियो । तर त्यही संसदीय व्यवस्थाले ६ वर्षमै जनयुद्ध/जनविद्रोह निम्त्यायो । फलतः १० वर्षको जनयुद्धमा १४ हजार जनता मारिन बाध्य भए । त्यसको असरबाट मुक्त नहुँदै फेरि संसदीय खेलको दुष्चक्र सुरु भएको छ । यो व्यवस्था न त राष्ट्रियता र स्वाभीमान जोगाउन सफल छ, न त पुरानो सामन्ती सत्ताबाट जनतालाई मुक्ति दिन ।

आज पनि विदेशी हस्तक्षेप र उत्पीडनबाट देश उत्तिकै आक्रान्त छ भने जनता पुरानै शासकीय परम्परा र पुरानै सत्ताको शोषण, थिचोमिचो र भेदभावबाट आक्रान्त छन् । न १४ हजार बलिदानको मूल्य न त जनआन्दोलनको प्राप्ति नै स्थापित हुन सक्यो । देश जहाँको तँही छटपटाइरहेको छ । जस्ताको तस्तै कठीन पीडाबाट गुज्रिरहेको छ । देशको विकास, प्रगति, समृद्धि कागजी कुरा वा गँजेडी गफमा सीमित भएका छन् । संविधान जारी भयो तर कार्यान्वयन गर्न मुस्किल पर्नु त्यसैको परिणति हो ।

आज संसदीय दलहरु एकापसको मुठभेडमा उत्रिएका छन् । साँढेको जुधाइमा देश मिचिइरहेको छ । देशमा आन्तरिक झगडा, विवाद र विभाजन जारी छ । संसदवादी दलहरु नै स्वार्थ र सत्ताको निम्ति दूरगामी विभाजनको रेखा कोर्दै छन् । उनीहरुको यो ध्रुवीकरण कुनै विचार, सपना र सोद्देश्यको निम्ति होइन । उनीहरु तुच्छ स्वार्थको लागि सत्ता वा कुर्सीको निम्ति यो झगडा गरिरहेका छन् । उनीहरुको यो झगडा पनि अन्तहीन जस्तै छ ।

यसले देशको अवस्था झन् झन् विकराल बन्दै गएको छ । देशलाई संकटमा धकेलेर विदेशीको इशारामा यो कचिंगल चलाइइरहनु पनि विदेशीकै स्वार्थ र योजना बमोजिम हो । उनीहरु देशलाई आत्मनिर्भर होइन पराश्रित, स्वाधीन होइन पराधीन, परजीवि बनाउन कृतसंकल्पित झै व्यवहार गरिरहेका छन् । देशका समस्या, मधेसी, थारु, जनजातिका समस्या जस्ताको तस्तै राखेर संविधान कार्यान्वयनको सपना देख्नु त दिवास्वप्ना मात्र हो । समस्या समाधान भन्दा जटिलतातिर लैजानु उनीहरुको धेय नै हो कि जस्तो देखिंदैछ । 
बाह्य शक्तिबाट परिचालित हुनु, उनका निर्देशन पालना गर्नु, उनका योजना लागू गर्न इच्छित हुनु र उनले उह्राएका–सिकाएका कुरालाई नै आफ्नो निर्णय सम्झेर लागू गर्न उत्सुक हुनुले समस्याको समाधान सम्भव नै देखिन्न । अहिलेको समस्या विदेशी योजनाबाट निर्मित समस्या हो । शेरबहादुर र कृष्णबहादुरहरु दिल्लीमा लम्पसार पर्न नगएको भए, यो समस्या आउने थिएन । तर दिल्लीलाई यही अस्थीरता र अव्यवस्था फलदायी हुन्छ । जति बढी समस्याका भासमा देश भाँसिदै जान्छ, त्यति बढी फाइदा विदेशीको लागि हुँदै जान्छ ।

यसले यी संसदीय दलले गरेका हरेक क्रियाकलापको योजना दिल्लीधाम मै बन्छ भन्ने स्पष्ट छ । यसरी हेर्दा ओली, प्रचण्ड र शेरबहादुरको नायक दिल्ली नै हो । यी सबैलाई एकैसाथ दिल्लीले नै परिचालित गरिरहेको छ । प्रत्यक्ष वा परोक्ष अस्थीरताको खेल खेल्ने ओली हुन वा प्रचण्ड दुवै दिल्लीको दलाली र दासत्वमा सत्तामा रहन चाहन्छन् । दुवै दिल्ली धामको घेराबाट बाहिर छैनन् । दुवैलाई उसैको सुझाव र सल्लाह प्राप्त छ । एकातिर एउटा एजेण्डा दिएर विग्रह सिर्जना गर्न लगाउने र अर्कोतिर अर्को एजेण्डा दिएर संकट निम्त्याउने र निरन्तर अस्थिरताको खेती गर्ने काम दिल्लीले नै गर्दै आइरहेको छ ।

जनयुद्धले स्थापित गरेका मुद्दाको समाधान नखोजी नेपाली वर्तमान राजनीतिक समस्या समाधान हुन सक्दैन । प्रतिक्रियावादी संविधान आफैमा अपुरो, कमजोर र समस्याग्रस्त छ । यसले जनताका मुद्दाको सम्बोधन गर्नै सक्दैन । र, संविधानले सरकारलाई पनि निरन्तर अस्थिरतातर्फ धकेल्छ । ओली सरकार मात्रै होइन, प्रचण्ड वा देउवा सरकार पनि विदेशीको स्वार्थ अनुसार धरापमा परिरहन्छन् ।

अब बन्ने नयाँ सरकार पनि त्यसैगरी धरापमा पारिनेछ र विदेशीको हाईहुकुम कार्यान्वयन गरिनेछ । अर्काको हातबाट सञ्चालित भएपछि उसकै निर्देशन शिरोधार नगरी सुख छैन । तसर्थ यो अस्थिरता, अराजकता, अव्यवस्था, सरकार फेरबदलको खेलबाट सदाको लागि मुक्ति पाउने उपाय भनेको जनताले लिने विद्रोहको बाटो हो मात्रै हो । सँधै यस्तो दुर्दशामा देश बाँचिरहनुभन्दा फेरि एकपटक जनताले अर्को साहस गर्नैपर्छ । अधुरो क्रान्ति पूरा गरेर मात्र समस्याको वास्तविक समाधान गर्न सकिन्छ । 

प्रतिक्रिया

सम्बन्धित खवर