काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले लिपुलेकका विषयमा राष्ट्र संघका महासचिव वान कि मुनलाई ज्ञापनपत्र बुझाएको छ ।
संयोजक सेवन्तराज भण्डारीको नेतृत्वमा गएको अखिल क्रान्तिकारीको टोलीले सोमबार ललितपुरको हरिहरभवनस्थित राष्ट्रसंघ भवनमा पुगेर नेपाली भूमी लिपुलेकका विषयमा भारत र चीनबीच भएको सम्झौता खारेजीको माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।
लिपुलेक नेपाली भूमि भएको ऐतिहासिक आधार समेत उल्लेख गरेर राष्ट्रसंघका महासचिव बान कि मुनलाई ज्ञापनपत्र बुझाइएको संयोजक भण्डारीले जानकारी दिए ।
लिपुलेक जस्तो राष्ट्रिय अखण्डताको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको भारत र चीन भ्रमण तथा परराष्ट्रमन्त्री कमल थापाको भारत भ्रमणका समयमा समेत एजेण्डा नबन्नु दुःखद पक्ष भएको भन्दै क्रान्तिकारीले राष्ट्रिय अखण्डतासँग जोडिएका विषयमा स्वाभिमानी नेपालीहरु राष्ट्रियताको लडाई लड्न तयार रहेको क्रान्तिकारीले स्मरण गराएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणका क्रममा गत वर्ष २०७२ जेठ १ गते अर्थात सन् २०१५ मे १५ मा लिपुलेकलाई भारत र चीनबीच सीमा व्यापार नाका बनाउने सहमति भएको थियो ।
नेपाली भूमि अतिक्रमण गरी भारत–चीन व्यापार नाका बनाउने सम्झौताको नेपालमा ठूलो विरोध हुदैं आएको छ । तर यस विषयलाई राज्यले समेत विशेष प्राथमिकता दिएर अन्तर्राष्ट्रियकरण गर्न सकेको छैन ।