पेरिसडाँडाको नेप्से परिसूचक उकालोतर्फ

पेरिसडाँडाको नेप्से परिसूचक उकालोतर्फ

काडमाडौंको कोटेस्वर स्थित पेरिसडाँडामा एउटा कम्पनी खुलेको छ । उक्त कम्पनीको मुख्य लक्ष्य मान्छेहरूको खरिद विक्री गर्नु हो । सो कम्पनी विभिन्न नामका दसवटा सानाठूला प्रा.लि.हरू मिलेर बनेको हो । यसको नाम ‘नेकपा माके एण्ड हेडक्वार्टर प्रा.लि.’ हो । प्रालिका मुख्य प्रोप्राइटर स्वयम् हेडक्वार्टर उर्फ छविलाल पैसावाल (यो जनयुद्धपछि विकसित भएको मारवाडी समुदायको नयाँ थर हो ।) हुन् । गत जेठ ६ गते विशेष कार्यक्रमका बिच कार्की प्यालेसमा जारी गरेको सिसिको शेयर पत्रको मूल्य दिनहुँ बढेको बढ्यै छ । उद्घाटनमै ४९९ अङ्कबाट सुरु गरिएको शेयर मूल्य भोलिपल्टबाटै बढ्न सुरु गरेको हो । क्रमशः ५९९, ९९९, १०९९ हुँदै बढेको नेप्से अङ्क यहि ८ गतेबाट ह्वात्तै बढेर १४९९ मा पुगेको छ । यो अङ्क अझै बढेर दुईहजारको अङ्क पनि कट्न सक्ने प्रालिका प्रोप्राइटरले जानकारी दिएका छन् । खुल्ला बोलपत्र आह्वान गरिएको शेयरको विक्री चौबीसै घण्टा खुल्ला रहने र यो कहिल्यै बन्द नहुने जनाइएको छ । आगामी चुनावलाई मध्यनजर गरेर खोलिएको नेप्सेको बजार मूल्य १० सदस्य जम्मा पारेपछि सिसिएम पड्काउन सकिने बताइएको छ । त्यस्तै ३ सिसिएम बराबर १ पिबिएम र ३ पिबिएम बराबर १ स्थायी समिति सदस्य रहेको छ । यसको आर्थिक नारा ‘एक प्रदेश एक कार्यालय सदस्य, एक जिल्ला एक स्थायी सदस्य, एक गाउँ एक पिबिएम, एक घर एक सिसिएम र एक व्यक्ति एक डिसिएम’ रहेको छ । जति छिटो यो नारा लागू गर्न सक्यो उती छिटो समाजवादी क्रान्ति सम्पन्न हुने प्रालिले घोषणा गरेको छ ।
यो शेयर खरिद गर्नेलाई विशेष प्रकारको बम्पर उपहार पनि राखिएको छ । पहिलो बम्पर उपहारमा कार्यालय सदस्य रहेको छ । त्यस भन्दा तल स्थायी समिति सदस्य र पिबिएम सम्मका रहेका छन् । यी सबै उपहार घरमै बसेर प्राप्त गर्न सकिने प्रालिले जनाएको छ । कसैकसैलाई विना शर्त पनि घरमै बसेर बढुवाको उपहार पर्न सक्छ भने सामान्यतया उपहारका लागि निम्न शर्तहरू पालना गर्नुपर्ने छ ।
शर्तहरूः
१. माओवादी नामका कुनै पनि दलबाट निस्कृय भएर घरमा बसेको र शीर्ष नेताहरूलाई न्वारानदेखिको बल लगाएर नेपाली राजनीतिक शब्दकोषमा भएका र जनजिब्रोमा प्रचलित शब्दहरूले गाली गर्दै सार्वजनिक रूपमा सत्तोसराप गरेको ।

२. आफू बसेको पार्टी नेताका विरुद्ध षड्यन्त्र, छलछाम, धोकाधडी गरेको र दोष जति नेतालाई थोपर्नमा ए प्लस ग्रेड प्राप्त गरेको ।

३. प्रा.लि.का प्रोप्राइटरको घरमा समय समयमा चाकडी गर्न, सकेसम्म कोशेली पु¥याउन जाने गरेको र उनको गुणगानमा भजन कृतन गरेको ।

४. कम्युनिस्ट विचार, राजनीति, नैतिकता र मूल्य मान्यतालाई तिलान्जली दिएर लम्पटदास संस्कृतिले ओतप्रोत भएको ।

५. मालेमावादी दर्शन, राजनीति र संस्कृतिलाई जड्शूत्रवाद भन्न सक्ने र त्यसलाई पुरानो भयो भनेर जतिसक्दो भ्रम फैलाउन सक्षम हुनु पर्ने ।

६. क्रान्तिको निर्णायक अवस्थामा भागेको, अहिले क्रान्तिबाट थाकेको, अबको बाँकी जीवन शुभलाभमा लागाउने भित्री मनसुवाका साथ शेयर खरिदमा तयार भएको हुनुपर्ने ।

७. सामाजिक सञ्जालका भित्ताहरूमा मनगढन्ते कुराहरू पोष्ट गर्न, आपूmलाई मन नपरेका आफ्नै दलका र छोडेका पार्टीका नेताहरूलाई जतिसक्दो खुइल्याउन, गाली गर्न, कमेन्ट गर्न, भ्रम फैलाउन सक्ने ।

८. जग्गा दलाली गर्न, काठ, चन्दन र यार्चागुम्वा तस्करी गर्न सक्षम भएको ।

९. स्थानीय तहमा हुने बाटाघाटा, कुला, नहर, पुलपुलेसा, पानीधारा आदि जस्ता नियमित विकासका योजनाहरूबाट कमिसन उठाउन, डोजरहरू खरिद गरेर आफै सञ्चालन गर्न, डनहरू लागाएर सकेसम्म आफै ठेक्का लिएको र लिन सक्ने ।

१०. जनयुद्ध लडेको धाकधक्कु लगाएर हरेक लाभका पदहरूमा बार्गेनिङ गर्न सक्ने ।

११. प्रालिका नाममा चन्दा उठाउन, भ्रष्टाचार गर्न, त्यसको कमिशन हेडक्वार्टरसम्म पुरयाउन आँट, साहस र क्षमता भएको ।

१२. होटेल, रेस्टुराँहरूमा जाँडपार्टीमा लीन हुन सक्ने र माथिल्लो तहकालाई दिन सक्ने खुवी भएको ।

१३. जुवातास खेल्ने, केटाकेटी पटाउन सक्ने, तडकभडकयुक्त पहिरनमा सजिन सक्ने, जनयुद्धकालमा गरिएका अन्तरजातीय र आफू भन्दा तल्लो वर्गका केटीहरूसँग गरेका विहे त्यागेको र सकेसम्म दुइतीनवटी विहे गरेको । नयाँ नयाँ आकर्षक केटी भेटाएमा श्रीमतीलाई अनेक लान्छाना लगाएर त्याग्ने र नयाँसँग विहे गर्न सक्ने । महिलाहरूलाई सहयोद्धा होइन खेलौनाका रूपमा प्रयोग गर्न सक्ने खुबी भएको ।

१४. जातिवाद, लिङ्गवाद, उपभोगतावाद जस्ता दर्शनलाई अहिलेको युग अनुकूलक भएको भनेर व्यख्या गर्न सक्ने ।

१५. प्रालिको शेयर खरिद गरिसकेपछि प्राप्त हुने र भएका लाभका पदहरूमा आफ्ना श्रीमान्, श्रीमती, छोराछोरी, सालासाली, भान्जाभान्जी, ज्वाई, बुहारी, नानातिना जस्ता नजिकका नातेदारहरूलाई राखेको र राख्न सक्ने ।

१६. राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका विभिन्न खुफिया एजेन्सीहरूमा गुप्तरूपमा जागिर खाएको र खान सक्ने खुबी भएको ।

उपर्युल्लिखित शर्तहरूका अलावा नयाँ नयाँ टेकनिकहरू जानेको र लोभलालच, घुर्की धम्की दिन सक्ने हरेक नेपाली नागरिकहरूले पेरिसडाँडाबाट जारी गरिएको प्रालिको शेयर खरिद गर्न सकिने छ । जतिसक्यो छिटो यो शेयर खरिद गर्नेलाई आगिमी दिनमा प्राप्त हुने लाभका पदहरूमा पहिलो नम्बरमा राखिने कुरा पनि उक्त प्रालिबाट जारी गरिएको वक्तव्यमा जनाइएको छ ।