Prachanda_Deuba_Nepal_Khanalकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विस्थापित गरी प्रधानमन्त्री बन्ने दाउमा यतिबेला चार नेताहरुको दौडधुप छ ।

सत्ता साझेदार प्रमुख घटक माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सरकारको नेतृत्व गरेको नेकपा एमालेकै नेताहरु माधवकुमार नेपाल र झलनाथ खनालको प्रधानमन्त्री बन्ने आ–आफ्नै दाउ छ ।

प्रचण्ड माओवादी सिद्धान्तबाटै विचलित भएको भन्दै विभिन्न टुक्रामा माओवादी नेताहरु विभाजन भएपछि पनि आफ्नो पार्टी नै मूलधारको पार्टी भएको दाबी गर्दै आएका छन् ।

आफू मुलधारको दाबी गरेपनि जनविश्वास भने शून्यप्राय भएपछि पार्टी कार्यकर्ताले नै विश्वास गर्न छाडेपछि विभिन्न माओवादीका नेताहरुलाई सत्ताकै प्रलोभनमा आफूसँग एकतामा ल्याउन सफल भएका प्रचण्डको प्रधानमन्त्री बन्ने दाउ सबै भन्दा बढी छ ।

बैशाख तेस्रो साता कांग्रेसको सहमतिमा पाइसकेको प्रधानमन्त्री पद एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले साउन १५ पछि दिने लालसा देखाएपछि उनले एकैरातमा कांग्रेसको साथ छाडेर ओलीसँग नौ बुँदे सहमति गरेका थिए ।

भित्री र बाहिरी दुई सहमति गरेको दाबी गरेका प्रचण्डले ओलीबाट प्रधानमन्त्री पाउने आशा नदेखेपछि फेरि कांग्रेसको बुइ चढ्न थालेका छन् । आफूले साथ नदिएसम्म ओली सरकार नढल्ने भनी कांग्रेससँग नै बार्गेनिङ गर्दै आएका उनले मधेसवादी दललाई मनाइदिन कांग्रेस सभापति देउवासँग आग्रह गरेका छन् ।

देउवा भने आन्दोलनरत मधेसवादी दललाई पनि साथ नलिएसम्म संविधान कार्यान्वयन नहुने र मधेसवादी दलले आफूलाई साथ दिने र मधेसवादी दलसहितको समर्थनमा आफू प्रधानमन्त्री बन्ने दाउमा छन् ।

देउवा र प्रचण्डमा सहमति नजुटेमा आफूलाई चिठ्ठा पर्ने आशामा एमालेका नेताहरु खनाल र नेपाल छन् । ओलीलाई विस्थापित गरी अहिले प्रधानमन्त्री बन्न नपाए कहिल्यै प्रधानमन्त्री बन्न नसक्ने भएकाले पनि प्रचण्ड अहिले नै प्रधानमन्त्री बन्ने दाउमा छन् । प्रधानमन्त्री बन्ने दाउमा चार नेता रहेपनि पासा कतातिर पल्टिन्छ भन्ने चाँही केही दिनमा थाहा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर