नेकपा (माके)को गठनपछि नेपालमा माओवादी नामका तीनवटा पार्टी छन् ः मोहन वैद्य‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्र विक्रम चन्द‘विप्लव’ नेतृत्वको नेकपा माओवादी र प्रचण्ड नेतृत्वको नेकपा (माके) । विगत दशवर्षे जनयुद्ध लडेको तागत आज तितरवितर अवस्थामा छ । तत्कालीन अवस्थामा पार्टीको शीर्ष तहमा रहेर जनयुद्धको नेतृत्व गरेका माओवादीले जनयुद्ध र माओवादी आन्दोलनबाटै सम्बन्ध विच्छेद गरेर प्रतिक्रियावादी कित्तामा पुगेर माओवादी आन्दोलनकै बर्खिलाप विषवमन गरिरहेका छन् । नेकपा (माके) निहीत तुच्छ स्वार्थका त्यान्द्रोमा अल्झिएकाहरुको भीडमा रुपान्तरण भएको छ । रुपमा माओवादी नाम र झण्डाको प्रयोग गरे पनि यसले बाबुरामकै पदचाप पछ्याउन थालेको छ । नेकपा माओवादी क्रान्तिकारी आवरणमा दक्षिणपन्थी शक्ति र पुरुत्थानपन्थीहरुको मतियार बन्ने दिशातर्फ यात्रारत रहेको घटनाक्रमले संकेत गरेको छ । नाङ्लो ठटाएर हात्ति तर्साउने र ‘मिसन पैसा’को राजनीतिमा विप्लवहरु लागेको देखिन्छ । यसरी हेर्दा माओवादी आन्दोलनको नाक बचाउने काम यतिखेरको हकमा नेकपा (क्रान्तिकारी माओवादी)ले मात्र गरेको छ, भलै ऊ संख्यामा सानो होस्, आर्थिक हिसाबले चरम अभावमा बाँचेको होस् तर उसले यस्तो प्रतिकूल अवस्थामा पनि आफ्नो नैतिकता र आदर्शलाई बेची खाएन, भोकै बस्यो तर सर्वहारावर्गीय मूल्य, आदर्श र त्यो राजनीतिलाई बचाइराखेको छ । आजको दिनमा माओवादी आन्दोलनमा गर्व गर्न लायक यदि केही बचेको छ भने त्यो भनेको मोहन वैद्य‘किरण’ हुन् र उनले नेतृत्व गरेको क्रान्तिकारी माओवादी पार्टी ।

    पार्टीभित्रका दक्षिणपन्थी अवसरवादीहरुले मोहन वैद्य‘किरण’लाई निकृष्ठ ढंगले पीडादायी कष्ट दिए । गरेको विश्वासमाथि घात गरे । उहाँको विचार र व्यक्तित्वको दुरुपयोग गर्न खोजे । व्यक्तिगत स्वार्थको वरिपरि गोलचक्कर मार्नेहरु अन्ततः नाङ्गै भएर प्रचण्डको टाङमुनि छिर्न पुगे । आमूल परिवर्तनको नेतृत्व गर्लान् भनी आशा गरेका तथाकथित व्यक्तिहरु गल्र्याम गुर्लुम ढले । ‘वस्तुको विकास र विनासमा अन्तर्वस्तु प्रधान हुन्छ’ भनेझै मालेमावादी विचारको अन्र्तवस्तुबाट रित्तिएकाहरु ‘विनासकाले विपरीत बुद्धि’ गर्न पुगे । साम, दाम, दण्ड, भेद गरेर उनीहरु यतिखेर संसदवादको खेती गर्न थालेका छन् । संसदीय खेलको कुरुप र घिनलाग्दो चरित्र अहिले माकेका नेता कार्यकर्ताहरुले प्रदर्शन गरिरहेका छन् । ‘……….लाई भन्दा देख्नेलाई लाज’ भनेझै ।

    मान्छेहरुलाई लागेको थियो नेत्रविक्रम चन्द‘विप्लव’ माओवादी आन्दोलनका उदयीमान प्रतिभा हुन् । उनले माओवादी आन्दोलनको विडो थाम्नेछन् । तर धेरैको यो विश्वास र भावनामाथि कुठाराघात गर्दै विप्लव अहिले शक्तिकेन्द्रको चंगुलमा फस्न पुगेका छन् र उनीहरुले जसरी नाच भन्छन्, त्यसरी नै उनी नाचिरहेका छन् । उनी निकट र उनका विश्वास पात्रहरु नै उनको अन्तर्य बुझेपछि उनीबाट टाढिन थालेका छन् । उनी केवल अरुको गोटी बनिरहेको उनीहरुले नै आरोप लगाउने गरेका छन् । उनले गर्ने र गरेका हरेक ‘एक्सन’हरु पैसाको मोलमोलाइसँग सम्बन्धित छन् । उनले आम क्रान्तिकारी जनता, युवाहरुको विश्वास गुमाउँदैछन् । उनको नैतिक धरातल निकै कमजोर भइसकेको उनी निकटस्थहरु बताउँछन् ।
    उल्लेखित निराशाजनक दृष्टान्तको अर्को पाटो तथा अर्को ध्रुव जहाँ सानै सही एउटा आशा र विश्वासको दीयो बलिरहेको छ । मरुभूमिमा पानीको मुहान भेटिंदाको महत्व जतिको हुन्छ, आम शोषित पीडित श्रमजीवि वर्गका लागि अहिले मोहन वैेद्य‘किरण’को महत्व त्यति नै छ, नेकपा (क्रान्तिकारी माओवादी)को महत्व त्यति नै छ । हिजो जनयुद्ध लडेको तागत आज संसारभरि छरिएर रहेको अवस्थामा छ । सूचना र प्रविधिको अभूतपूर्व विकासले आज विश्व कम्युटरको चिप्समा कैद हुन आइपुगेको छ । जो कसैको सही विचार क्षणभरमै विश्वव्यापी हुन सक्छ । आजको यो परिवेशमा क्रान्तिकारी विचारको बिजारोपणलाई कसैले रोक्न र छेक्न सक्ने कुरै भएन । विचार सही भएपछि त्यो विचार भौतिक शक्तिमा एकदिन अवश्य रुपान्तरण हुन्छ, भौतिक शक्तिमा रुपान्तरण भएको दिन दुनियाँका बडे बडे तानाशाहहरुको एउटै चिहान हुन्छ । ऐतिहासिक भौतिकवादले यही तथ्यलाई पटक पटक पुष्टि गरेको छ ।

    यसर्थ, नेपाली नयाँ जनवादी क्रान्तिको एक अनुयायीका हैसियतले यहाँ भन्नैपर्छ र चेतावानी दिनैपर्छ कि नैतिक धरातल गुमाएकाहरुले नेकपा (क्रान्तिकारी माओवादी) र यसका नेता कार्यकर्तालाई हेलो होचो गर्ने काम अविलम्ब बन्द गर । सक्छौं सही विचारको अनुशरण गर, सक्दैनौं, प्रतिक्रियावादीहरुसँग घाँटी जोडेर क्रान्तिकारीहरुको विरुद्ध षड्यन्त्र नगर । तिमीहरुले रछ्यानमा मिल्काएको क्रान्तिको झण्डालाई हामीले उठाउने प्रयास गरेका छौं । हाम्रो क्रान्तिको यो अथक यात्रा जति टाढासम्म सकिन्छ, त्यति टाढा लैजाने संकल्प फेरि दोहो¥याउनु परेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर