काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य‘किरण’ले नेकपा (माओवादी केन्द्र) संशोधनवादीबाट पर पुगेर प्रतिक्रियावादी भइसकेको बताएका छन् ।
शनिबार पार्टी कार्यालय बुद्धनगरमा जनगणतान्त्रिक मञ्चका कार्यकर्ताहरुलाई प्रशिक्षण दिने क्रममा यस्तो बताएका हुन् । । जनगणतान्त्रिक मञ्चसम्बद्ध पार्टीका जिल्ला समिति स्तरका कार्यकर्ताहरुलाई प्रशिक्षित गर्दै उनले भने, “कांग्रेस, एमालेजस्तै माओवादी केन्द्र पनि प्रतिक्रियावादी कित्तामा पुगी सक्यो । अब माओवादी केन्द्र नवसंशोधनवादीमा मात्रै सीमित रहेन ।”
“बाबुराम भट्टराई र प्रचण्डको लाइन एउटै हो, नेतृत्वमा कुरा नमिलेर मात्र अलग भएका हुन् ।” अध्यक्ष किरणले भने, “प्रचण्ड र बाबुरामप्रति क्रान्तिकारीहरुले अब भ्रम पाल्न जरुरी छैन । उनीहरु पूरै नांगिएर गएका छन् ।”
विप्लव माओवादीका बारेमा कार्यकर्ताहरुले सोधेको प्रश्नको जवाफ दिंदै अध्यक्ष किरणले भने, “उनको आवरण क्रान्तिकारीजस्तो देखिए पनि गन्तव्य सत्तासाझेदारीतिर छ ।
उनीसँग फौजी कार्यदिशा नै छैन, के को फौजी संघर्ष गर्छन् ?” पार्टी एकताको सम्बन्धमा राखेको प्रश्नमा अध्यक्षले तत्काल कुनै पार्टीसँग पनि एकता सम्भव छैन, विचार र कार्यदिशा मिल्ने पार्टीहरुसँग एकता हुने भएपनि तत्काल क्रान्तिकारी ध्रुवीकरणमा जोड दिने बताए । मुद्दा मिल्ने पार्टीहरुसँग सहकार्य गर्दै पार्टीलाई संघर्षमा केन्द्रित गर्नुपर्ने धारणा राखे ।
संघर्षका सबै रुप अपनाइने
तत्कालीन नेकपा (माओवादी)को चुनुवाङ बैठकले फौजी कार्यदिशा ध्वस्त पारेको भन्दै अब अध्यक्ष किरणले नेपाली विशेषतामा आधारित सशस्त्र विद्रोहको फौजी कार्यदिशालाई पार्टीको राष्ट्रिय सम्मेलनबाट समृद्ध पारिने र मूर्त खाका कोरिने बताए ।
गाउँ र सहर, विज्ञान र प्रविधि, सूचना र संचार, श्रम र उत्पादन, राष्ट्रिय र अन्तर्राष्ट्रिय सबै सन्दर्भहरुलाई जोडेर फौजी कार्यदिशाको विकास गर्न लागिएको अध्यक्ष किरणले भने, “अहिले परिस्थिति क्रान्तिको लागि अनुकूल भएपनि आत्मगत अवस्था कमजोर रहेको छ । पँुजीवादी युग मरणासन्न अवस्थामा छ । तर आन्दोलन सँधै उठ्दैन । आन्दोलन उठाउनका निम्ति हामीले वैधानिक र अवैधानिक संघर्षका दुवै रुप प्रयोग गरेर जानु पर्दछ ।आवश्यकता अनुसार संघर्षका सबै रुप अपनाउनु पर्दछ ।”
प्रशिक्षणका क्रममा उहाँले व्यक्त गर्नुभएका विचारहरुः
कम्युनिष्ट पार्टी नै जनतालाई प्यारो
नेपाली जनतामाथि कम्युनिष्ट नामधारी पार्टीहरुले पटक पटक धोका र गद्दारी गरे पनि जनतालाई फेरि पनि कम्युनिष्ट पार्टी नै प्यारो लाग्छ । त्यसैकारण साम्राज्यवादीहरुले नक्कली कम्युनिष्ट पार्टीहरु बनाएर जनतालाई भ्रमित तुल्याउने गरेका छन् ।
००६ सालमा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टी ०१७ सालसम्म एउटै थियो । ०१७ सालपछि देशी विदेशी प्रतिक्रियावादीहरुको घुसपैठका कारण कम्युनिष्ट पार्टी विभाजित हुन पुग्यो । साम्राज्यवादीहरुकै घुसपैठका कारण विभाजित कम्युनिष्टहरुलाई कहिल्यै मिल्न दिएनन् ।
विचार, सिद्धान्त र व्यवहारका हिसाबले कम्युनिष्ट नभएपनि नेपालमा अहिले नामधारी कम्युनिष्टहरु धेरै छन् । किनकि, नेपाली जनतामा अहिले पनि कम्युनिष्ट पार्टी प्यारो छ । श्रमजीवि जनताको अधिकारको पक्षमा कम्युनिष्ट पार्टीले नै लड्छ भन्नेमा जनतालाई पूरा विश्वास छ ।
नवसंशोधनवाद र दक्षिणपन्थी अवसरवादको भण्डाफोर
पार्टीभित्रका दक्षिणपन्थी अवसरवादी तथा नवसंशोधनवादका पुच्छरहरुले दक्षिणपन्थी अवसरवादभित्र ल्याएर हामीलाई चोवल्न खोजे । पार्टीभित्र त्यो प्रवृत्तिका विरुद्ध भीषण संघर्ष चल्यो । अन्ततः क्रान्तिकारीहरुको नै जित भयो । नवसंशोधनवादीहरुले अहिले जनवादी क्रान्ति सफल भयो, समाजवादी क्रान्तिको कार्यदिशामा अगाडि बढ्ने भन्ने भ्रम छरिरहेका छन् ।
जनवादी क्रान्ति पूरा भएको छैन । नेपालमा पुँजीवाद आएको छैन । सामन्तवादी र अर्ध/नव औपनिवेशिक उत्पादन सम्बन्धलाई जनवादी उत्पादन सम्बन्धले प्रतिस्थापन नगरेसम्मको अवस्थालाई जनवादी क्रान्ति सम्पन्न भएको मान्न सकिन्न । नवसंशोधनवाद, दक्षिणपन्थी अवसरवाद र प्रतिक्रियावादको सशक्त ढंगले भण्डाफोर गरेर जानु पर्दछ ।
जबस–मोर्चा वैधानिक संघर्षको फ्रन्ट मोर्चा
अबको हाम्रो मुख्य जोड संगठन हो । संगठन राम्रो नभएसम्म हामी टिक्दैनौं । सेल कमिटीबाटै संगठन निर्माण थाल्नु पर्दछ । कम्युनिष्ट पार्टी मास संगठन हुँदैन । क्रान्तिकारी संगठन बनाउनु पर्दछ । अब जनवर्गीय र मोर्चा संगठनहरुलाई व्यापक बनाउनु पर्दछ । अब वैधानिक संघर्षको नेतृत्व जबस–मोर्चाहरुले गर्नेछन् ।