‘साउथब्लक’ले प्रचण्डलाई सिध्याउन सक्छ

sitaram-tamang
सिताराम तामाङ

१. नेकपा (क्रान्तिकारी माओवादी) विचारधारात्मक र राजनीतिक हिसाबले अहिले के गर्दैछ ?
–नेपाली कम्युनिष्ट आन्दोलनमा क्रान्तिकारी धारको रुपमा रहेको नेकपा (क्रान्तिकारी माओवादी)लाई सैद्धान्तिक एवम् वैचारिक हिसाबले सिध्याउन आन्तरिक एवम् बाह्य दुवै क्षेत्रबाट ठूलो षड्यन्त्र र कसरत गरियो । त्यस लडार्इंमा हामीले दक्षिणपन्थी नवसंशोधनवादीहरुलाई हराउन सफल भयौं । लडाई हो, हाम्रो संगठनात्मक हिसाबले त ठूलो क्षति भएको छ तर सैद्धान्तिक हिसाबले विजय हासिल ग¥यौं । फलतः हाम्रो पार्टीले गत असार ६–८ गतेसम्म ऐतिहासिक राष्ट्रिय भेला भव्यताकासाथ सम्पन्न गरेको छ । दीर्घकालीन हिसाबले यो राष्ट्रिय भेलाको ऐतिहासिक महत्व छ । उक्त भेलाले पार्टीलाई मालेमावादको आलोकमा नयाँ ढंगले संगठित गरेको छ र नयाँ जनवादी क्रान्तिको तयारीको दिशामा सामन्तवाद, साम्राज्यवाद÷विस्तारवाद र दक्षिणपन्थी संशोधनवादद्वारा खडा गरिएका चुनौतिहरुको सामना गर्दै अघि बढ्ने रणनीतिक एवम् कार्यनीतिक निर्णयहरु गरेको छ । राष्ट्रिय भेलाका निर्णयहरु राज्य र जिल्लामा सम्प्रेषण गर्ने कार्य अहिले भइरहेको छ ।

२–पार्टीको राष्ट्रिय भेलापछिको एक महिनालाई पार्टी जीवनका हिसाबले कसरी लेखाजोखा गर्नुभएको छ ?
    राष्ट्रिय भेलाबाट कार्यकर्ताहरु निकै उत्साहित भएर फर्केका छन् । पार्टीले राष्ट्रियता, जनतन्त्र र जनजिवीकासहित वर्गसंघर्ष र सामाजिक मुक्तिका समस्याहरुलाई लिएर संघर्षको नीति र कार्यक्रम दिएको छ । पार्टी नेतृत्वमा विभिन्न जनवर्गहरुलाई समेटी संयुक्त मोर्चा निर्माण गर्ने, आन्दोलन अघि बढाउन क्रान्तिकारी, अनुशासित र लडाकु शक्तिको निर्माण गर्ने, नेपाली विशेषतामा आधारित सामरिक कार्यदिशालाई समृद्ध पार्न आगामी फागुनमा राष्ट्रिय सम्मेलन गर्ने आदि निर्णयले कार्यकर्तामा नयाँ उत्साह र जोश थपिएको हो । अहिले फिल्डमा गएर अध्ययन गर्दा त्यसको सकारात्मक प्रभाव देखिएको छ ।

३–चाँडै पुनः केन्द्रीय समितिको बैठक बस्न लाग्नुभएको छ । छोटो समयकै अन्तरालमा किन केन्द्रीय समितिको बैठक बोलाइएको हो ? अगामी बैठकले के के निर्णयहरु गर्दैछ?
राष्ट्रिय भेलाले माथि भनिएका निर्णयहरु गरेकाले तिनलाई कार्यरुप दिनका लागि केन्द्रीय समितिको बैठक बस्नैपर्ने हुन्छ । बैठक ढिलो गर्नुको अर्थ निर्णयहरुको कार्यान्वयन ढिलो हुनु हो । तसर्थ के.स.को बैठक छिटै बोलाइएको हो ।

४–जनवादी क्रान्तिको बाँकी कार्यभार पूरा गर्न योजना र कार्यक्रमका हिसाबले कसरी अगाडि बढ्दै हुनुहुन्छ ?
हाम्रो पार्टीले नेपाल अर्धसामन्ती तथा अर्ध-नवऔपनिवेशिक अवस्थामा रहेको र राष्ट्रियता, जनतन्त्र र जनजिवीकाका आधारभूत समस्याहरु समाधान नभएकोले त्यसप्रकारको समस्याबाट मुलुकलाई मुक्त तुल्याउन र उक्त समस्या समाधानार्थ नयाँ जनवादी क्रान्तिको दिशामा अघि बढ्ने निर्णय गरेको छ । यसरी अघि बढ्नका लागि प्रथमतः आज दक्षिणपन्थी संशोधनवादीहरु, जो नेपालमा पुँजीवादी जनवादी क्रान्ति पूरा भइसक्यो भन्दैछन्, विरुद्ध नयाँ जनवादी क्रान्तिको अनिवार्यताको राजनीतिक कार्यदिशा पकडिएको छ । दोस्रो, पार्टीको सामरिक कार्यदिशा नेपाली विशेषतामा आधारित सशस्त्र जनविद्रोह हुने भनिएको छ । राजनीतिक कार्यदिशा नेपाली नयाँ जनवादी क्रान्ति समग्रमा सर्वहारा वर्गको नेतृत्वमा सम्पूर्ण शोषित उत्पीडित जनसमुदायको संयुक्त अधिनाकत्वमा आधारित तथा सामन्तवाद र साम्राज्यवाद÷विस्तारवाद नवउदारवादी अर्थतन्त्रका विरुद्ध परिलक्षित छ । त्यसरी नै सामरिक कार्यदिशा भनेको देशमा सामन्तवाद, साम्राज्यवाद÷विस्तारवाद दलाल तथा नोकरशाही पुँजीद्वारा भइरहेको शोषण, उत्पीडन र प्रभुत्वको अन्त्य तथा दलाल नोकरशाही पुँजीपति र सामन्त वर्गीय राज्यसत्तालाई अन्त्य गरी नयाँ जनवादी राज्यसत्ताको स्थपना गर्नु हो । अब सम्पन्न हुने राष्ट्रिय सम्मेलनले डिटेल वर्कआउट गर्ने छ । त्यसपछि पार्टी तयारीको दिशामा अघि बढ्ने छ । त्यस गतिलाई कुनै हावाहुरीले छेक्नसक्ने छैन ।

५–नेपालमा कम्युनिष्ट पार्टीको स्थापनादेखि हालसम्म भएका आन्दोलन, संघर्ष र सशस्त्र युद्ध मार्फत् जनवादी क्रान्तिको कति प्रतिशत कार्यभार पूरा भयो र अब कति बाँकी छ ? यसबारे बताइदिनुस् न ।
    नेपाल अर्धसामन्ती तथा अर्धऔपनिवेशिक मुलुक रहेको हुँदा यहाँको जनवादी क्रान्तिका दुई कार्यभार छन् – जनतान्त्रिक कार्यभार र राष्ट्रियताको कार्यभार । सामन्तवादको नाइके राजतन्त्र हटेपनि नेपाली समाज अर्धसामन्ती अवस्थाबाट मुक्त भएको छैन भने साम्राज्यवाद र विशेषतः भारतीय विस्तारवादको चलखेल अझ बढेको अवस्था छ । नेकपाको स्थापनादेखि हालसम्म भएको आन्दोलन र सशस्त्र युद्धले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षताजस्ता अंशमा उपलब्धी दिएपनि समग्रमा यो राज्यको प्रतिक्रियावादी स्वरुपलाई बदल्न सकेको छैन ।

६–जनवादी क्रान्तिकै वकालत गर्दै आएका अन्य वाम पार्टीभन्दा क्रान्तिकारी माओवादी कुन अर्थमा भिन्न छ ? विचार र मुद्दा मिल्नेहरुसँग ध्रुवीकरण तथा सहकार्यको सम्भावना कस्तो छ ?
जनवादी क्रान्तिकै वकालत गर्ने केही वाम पार्टीहरु प्रतिक्रियावादी राज्यसत्ताको सरकारमा विराजमान छन् । र संसदको घेराभित्र छन् भने कुनै क्रान्तिकारिताको नाममा बायाँ भड्काउको शिकार छन् । विचार र मुद्दा मिल्ने पार्टीहरुका बीच ध्रुविकरण हुनसक्ने मान्यतालाई हाम्रो पार्टीले स्वीकार गरेको छ तर “व्यवहारबाट सिक” (अंग्रेजी उखान) भनेजस्तै सिद्धान्त र कार्यदिशाबारे समान धारणा नबन्दासम्म कुनैपनि पार्टीसँग हतारमा एकीकरण वा ध्रुवीकरण हुन नसक्ने कुरा व्यवहारबाट सिकेका छौं ।

७–क्रान्तिकारी माओवादीमा आएको पछिल्लो विभाजनको समीक्षा कसरी गर्नुभएको छ ? कम्युनिष्ट आन्दोलनमा देखा परिरहने टुट फुट विभाजनको चुरो कारण के हो ?
क्रान्तिकारी माओवादीमा भएको पछिल्लो विभाजन वस्तुलाई द्वन्द्ववादी तरिकाले नभएर अधिभूतवादी तरिकाले हेर्दाको परिणाम थियो । पूर्व एमाओवादीलाई दक्षिणपन्थी नवसंशोधनवादी पार्टी भन्ने र त्यसैसँग पार्टी एकता अघि बढाउने । त्यसको फाइदा नवसंशोधनवादीहरुले उठाए र पार्टीभित्र तिनका पिछलग्गुहरुले पार्टी फुटाउने राम्रो अवसर भेट्टाए । कम्युनिस्ट आन्दोलनमा देखा परिरहने टुटफूट र विभाजनको मुख्य चुरो दक्षिणपन्थी अवसरवादमा पलायन हुने र नहुनेबीचको द्वन्द्व नै देखिन्छ । हाम्रो पार्टीको पछिल्लो फूटले पनि त्यसलाई प्रमाणित गरेको छ ।

८–क्रान्तिकारी माओवादीमाथि अहिले दायाँ र बायाँ दुवै कोणबाट वैचारिक, राजनीतिक आक्रमणहरु भइरहेका छन् । त्यसको प्रतिरक्षा र प्रतिरोध कसरी गर्दै हुनुहुन्छ ?
क्रान्तिकारी कम्युनिस्ट पार्टीको विकास संघर्षबाटै हुन्छ । हिजोपनि थियो, आज पनि छ र भोली पनि रहहन्छ । जबसम्म समाजमा वर्गहरु रहन्छ, वर्गसङ्घर्ष अनिवार्य हुन्छ । सर्वहारा वर्गीय राजनीति गर्ने पार्टीले जन्मकालदेखि नै दायाँ र बायाँबाट हुने गरेको सैद्धान्तिक र वैचारिक आक्रमण झेल्दै आएको छ । नेकपा (क्रान्तिकारी माओवादी) माथि पनि त्यसप्रकारका आक्रमण भइरहेको छ, त्यो स्वभाविक छ । त्यसप्रकारका आक्रमणहरुलाई परास्त गर्दै अघि बढ्नसक्नु नै क्रान्तिकारी धाराको रक्षा गर्नु हुन्छ । हाम्रो पार्टीभित्र दुई लाइनको संघर्ष चलेको थियो । हामीले दक्षिणपन्थी नवसंशोधनवादीहरुमाथि ठूलो सैद्धान्तिक विजय हासिल गरेका छौं । अबको आवश्यकता भनेको पार्टीलाई मालेमावादको आलोकमा नयाँ ढङ्गले संगठित गरी क्रान्तिका सामु सामन्तवाद, साम्राज्यवाद÷विस्तारवाद तथा दायाँबायाँ कोणहरुबाट खडा गरिएका चुनौतिहरुको दृढतापूर्वक सामना गर्दै नयाँ जनवादी क्रान्तिको तयारीतर्फ अघि बढ्नु हो । राष्ट्रिय भेलाले यो दिशामा अघि बढ्न सिद्धान्त र विचारको हिसाबले मार्गप्रशस्त गरेको छ । आगामी फागुनमा सम्पन्न हुने राष्ट्रिय सम्मेलनले यसलाई रणनीतिक एवम् कार्यनीतिक हिसाबले कार्यक्रममा ढाल्नेछ । पार्टी एकतावद्ध भएर अघि बढ्नेछ । यसरी हामीले सिद्धान्तको रक्षा, प्रयोग र विकास गर्नेछौं ।

९–पार्टीले अहिलेको पछिल्लो राष्ट्रिय राजनीतिक परिस्थितिको विश्लेषण कसरी गरेको छ ?
हाम्रो पार्टीले संविधानसभा–२ निर्मित संविधानलाई प्रतिक्रियावादी संविधानको संज्ञा दिएको छ । यो संविधानले सरकार बनाउने जुन प्रावधान राखेको छ, त्यसले स्थिर सरकारको कल्पना गरेको छैन । फलतः ९ महिना नपुग्दै सरकार परिवर्तनको खेल सुरु भइहाल्छ । त्यो खेलको गोटी चाल्ने दिमाग यहाँको हैन, साउथब्लकमा छ । अहिले प्रचण्डलाई प्रधानमन्त्री बनाउन नेका र माओवादी केन्द्रलाई मिलाउने र पुनः नौ महिनापछि देउवा नेतृत्वमा नेका र एमालेको सरकार बनाएर प्रचण्डलाई सिद्धयाउने खेल पनि हुनसक्छ । दोस्रो, विस्तारवादी भारतीय सत्ताले नेपालमा निकट भविष्यमा हुन लागेको भनिएको चिनियाँ राष्ट्रपतिको भ्रमण रोक्नका लागि यो खेल गरेको पनि हुनसक्छ । तेस्रो, आफू संसदमा अल्पमतमा पर्नेगरी सहयोगी पार्टी माओवादी केन्द्रले सरकारबाट समर्थन फिर्ता लिएपछि नैतिकताको आधारमा ओलीले सरकार छाड्नु पर्दथ्यो । तर लिच्चड बनेर संविधानको कुन चाहिं त्यान्द्रो पकडिएर झुण्डिएको छ । प्रतिक्रियावादी संविधानको करामत हो अहिले मुलुक अनिर्णयको बन्दी बनिरहनु परेको ।

१०–पार्टीको संयुक्त मोर्चासम्बन्धी अवधारणाबारे प्रष्ट पारिदिनुस् न । त्यसको सम्भावना कस्तो देख्नुभएको छ ?
हाम्रो पार्टी नेतृत्वमा विभिन्न जनवर्गहरुलाई समेटेर एउटा संयुक्त मोर्चा बनाउने निर्णय गरेको छ । प्रतिक्रियावादी राज्यसत्तासित वैधानिक ढंगले डिल गर्न यस प्रकारको मोर्चा आवश्यक परेको हो । पार्टीले छिट्टै यो समितिको गठन गरेर काम कारबाही अघि बढाउने छ ।

११ पछिल्लो समयमा नेपाली कम्युनिष्ट आन्दोलनमा पहिचानको आन्दोलन हावी हुँदै आएको देखिन्छ ? जातीय मुक्ति आन्दोेलनप्रतिको क्रान्तिकारी माओवादी दृष्टिकोणबारे बताइदिनुस् न ।
–कम्युनिष्ट आन्दोलन भनेको मानिसले मानिसमाथि गरिने वर्गीय, जातीय, क्षेत्रीय, लिंगीय, भाषिक आदि शोषण उत्पीडन खत्तम गरी वर्गीय राज्य र वर्गसमेत नै खत्तम पार्ने अभियान हो । यो अभियानमा पहिचानको मुद्दा अगाडि आएको हो भने त्यसलाई कम्युनिष्ट दृष्टिकोणबाट हल गर्नुपर्दछ । लथालिङ्ग छोडेर हुँदैन । हाम्रो पार्टीले मधेसी, थारु, आदिवासी जनजातिद्वारा उठाउँदै आएका जायज मागहरुलाई समर्थन गर्ने र त्यस प्रकारका आन्दोलनहरुमा ऐक्यवद्धता जनाउने र तिनलाई वर्गीय मुक्ति आन्दोलनसित जोड्दै पार्टीको स्वतन्त्र पहलमा संघर्ष अगाडि बढाउने निर्णय गरेको छ । ठीक तरिका नै यही हो कि जातीय मुक्ति आन्दोलनलाई कम्युनिष्ट आन्दोलन अर्थात् वर्गीय मुक्ति आन्दोलनसँग जोड्न सक्नु पर्दछ र त्यही काम हाम्रो पार्टीले गर्नेछ ।

१२–कम्युनिष्ट आन्दोलनमा वर्गीय मुद्दाहरु गौण बन्दै जानुको कारण के देख्नुहुन्छ ?पछिल्लो समयमा किसान–मजदुर आन्दोलनहरुको किन उठान हुन सकिरहेका छैनन् ?
–मजदुर र किसान आन्दोलन उठाउनुपर्ने कम्युनिष्ट भनिएका संसदका ठूला पार्टीहरु आफै सरकारमा बसेकाले तिनले मजदुर र किसान आन्दोलनलाई दिग्भ्रमित पारेका छन् । त्यसको असर सबैतिर परेको छ । तर हाम्रो पार्टीले मजदुर र किसानलाई आधारभूत वर्ग मानेर वर्ग संघर्ष उठाउने नीति लिएकोले अब वर्गीय मुद्दाहरुले विस्तारै आकार ग्रहण गर्नेछन् ।

१३ क्रान्तिकारी माओवादीले जबस मोर्चामार्फत् राष्ट्रियता, जनतन्त्र र जनजीविकाका मुद्दाहरुलाई केन्द्रविन्दु बनाएर पार्टीलाई संघर्षमा केन्द्रित गर्न खोजेको देखिन्छ । संघर्षको उठान कसरी गर्दै हुनुहुन्छ ? त्यसबारे बताइदिनुस् न ।
–पार्टीको राष्ट्रियता, जनतन्त्र र जनजीविकाका मुद्दाहरुलाई जनतासम्म सम्प्रेसन गर्ने अंगहरु भनेको नै जबस मोर्चाहरु हुन् । जबस–मोर्चाहरुले उठाएका मागहरु जनताका सरोकारका मागहरु हुन् । ती मागहरु राष्ट्रियता, जनतन्त्र र जनजीविकासँग गाँसिएका  मागहरु हुन्छन् । तिनलाई एकीकृत र केन्द्रीकृत बनाउन आवश्यक हुन्छ । ती मागहरुलाई पार्टीको नेतृत्वमा विभन्न जनवर्गहरुलाई समेटेर बनाइने संयुक्त मोर्चा समितिले संघर्षको कार्यक्रमिक योजना तय गर्नेछ र संघर्ष उठानका लागि जनतामा जानेछ ।