बाधा अड्काउ फुकाउ आदेश संसदबाट अनुमोदित

बाधा अड्काउ फुकाउ आदेश संसदबाट अनुमोदित

nepal-parliament-protest BICCकाठमाडौं । नयाँ प्रधानमन्त्री चयनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी भएको बाधा अड्काउ फुकाउ आदेश ब्यवस्थापिका संसदबाट अनुमोदन भएको छ । संसद्को मंगलबार बसेको बैठकले नयाँ प्रधानमन्त्रीका लागि संविधानमा भएको बाधा संसदले फुकाएको हो ।

‘नेपालको संविधानको धारा ३०५ बमोजिम राष्ट्रपतिबाट यही साउन १० गते जारी भएको बाधा अड्काउ फुकाउ आदेशलाई प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्निप्रसाद खरेलले बैठकमा प्रस्ताव गरेका थिए ।

सभामुख ओनसरी घर्तीले सो आदेशलाई अनुमोदनको प्रस्ताव निर्णयार्थ पेस गर्दा ध्वनि मतका आधारमा बहुमतबाट अनुमोदन भएको थियो । सरकारले नयाँ प्रधानमन्त्रीका लागि संविधानमा बाधा भएकाले बाधा फुकाउका लागि सिफारिस गरिएकोमा विपक्षी सांसदहरुले आलोचना गरेका थिए ।

छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री खरेलले प्रधानमन्त्रीले राजीनामा गर्नुअघिको मन्त्रिपरिषद्ले सो आदेश जारीका लागि सिफारिस गरेको जनाउँदै संविधानको धारा २९८ नयाँ सरकार गठनमा अपर्याप्त भएकाले कानुनसम्मत रूपमा सो निर्णय गरिएको जानकारी दिएका थिए । संसद्को अर्काे बैठक यही साउन १७ गते अपराह्न ३ बजे बस्नेछ ।