काठमाडौं । केपी ओली नेतृत्वको सरकार ढाल्नु अघि कांग्रेस र माओवादीबीच भएको सात बुँदे सहमति नटुटेमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल अबको दुई सातापछि प्रधानमन्त्री बन्ने छन् ।
एकसाताको सहमतिका लागि राष्ट्रपतिबाट आह्वान गरिएपछि बहुमतीय प्रक्रिया शुरु हुनेछ । कांग्रेससँगको आलोपालो प्रधानमन्त्री बन्ने सहमति अनुसार दाहाल दुई सातापछि मुलुकको ३९ औं प्रधानमन्त्री बन्नेछन् । कांग्रेस र माओवादीबीच भएको सात बुँदे सहमति अनुसार आगामी नौ महिना सरकारको नेतृत्व दाहालले गर्ने र त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।
आइतवार प्रधानमन्त्री ओलीले संसदमा राजिनामाको घोषणा गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजिनामा दिएपछि नयाँ सरकार गठनको ढोका खुलेको हो । राष्ट्रपतिले सोमवार नै संसदमा रहेका दलहरुलाई राष्ट्रिय सहमति निर्माण गरेर सरकार गठन गर्न आह्वान गरेपछि नयाँ सरकार गठनको दौडधुप चलेको छ ।
दुवै दलमा सहभागी हुने मन्त्रीहरुको छनोटको प्रक्रिया पनि अगाडि बढाएका छन् । सरकारमा कांग्रेस माओवादी, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, राप्रपा लगायका दलहरु सहभागी हुने गरी दाहाल र देउवाले छलफल अगाडि बढाएका छन् ।