कोशी ब्यारेज ध्वस्त बनाएर भारतीय जनतालाई सखाप पार्ने ‘आतङ्कवादी थ्रेट’ आएकोे भन्दै दिल्लीले काठमाडौंलाई पत्राचार गरेपछि नेपाल सरकारद्वारा कोशी ब्यारेजमा उच्च सतर्कता अपनाइएको बताएको छ । तर त्यो सूचना सही हो कि गलत ? कुन नियतबाट आएको हो ? यसवारे सरकारले सूचना नलुकाओस् । आफ्ना जनतालाई विना ढिलाइ सुसूचित गरोस् । कोशी व्यारेजको थ्रेट नेपाल र नेपालीको सार्वभौमसत्तामाथिको थ्रेट हो कि कोशीले क्षति गराउने भारतीय भूभाग विहारमाथिको मात्र थ्रेट ?
ब्यारेज भत्काइदिने धम्की आएपछि नेपालका तराई बेल्टका र भारतका विहारमा बसोवास गरिरहेका जनतामाझ निकै चिन्ता पनि छाएको छ । उपोगका हिसाबले कोशी व्यारेज पचास वर्षभन्दा पुरानो भइसकेको छ ।
यसपालीको वर्षाले नेपालका नदीहरुमा पानीको मात्रा निकै बढेर खतराको सीमासम्म पुगेको समाचारहरु आइरहेका पनि छन् । साथै, खतरा मापनका लागि राखिएका यन्त्रहरु तथा सम्पर्क सञ्जालहरुले पनि त्यसको जानकारी बारम्बार गराइरहेका छन् ।
उसै त हिमाल र पहाडबाट बगेको पानीको मात्रा, त्यसमा तराइमा लगातार भइरहेको वर्षाको कारणले कोशीमा पानीको बहाव निकै नै बढ्न गएको छ । यो बहाव उच्च रहेकै बेला यसप्रकारको धम्की आएको सूचना दिल्ली मार्फत् सार्वजनिक गरिनाले नेपालको तराइ तथा भारत विहारका स्थानीय जनता निकै भयवित र त्रसित बन्न पुगेका छन् ।
कोशी व्यारेज पुरानो भएका कारणले भत्कन सक्ने कुरालाई घुमाएर आतंकवादी थ्रेट भनिएको हो कि के हो ? यदि यो मनशायले प्रेरित भएर भनिएको हो भने यसका पछाडिका दुईवटा कारणहरुले काम गरेका छन् । एउटा त केही गरी ब्यारेज भत्कियो भने आतंकवादीहरुले गराए भनेर भारतीय सरकार सजिलैसंग पन्छन र उम्कन सक्ने वातावरण तयार पारिदै छ । दोस्रो नेपालमा सरकार बिघटन गराएर संक्रमणकाल लम्ब्याएपछिको अवस्थामा दिल्लीले गरेको पूर्र्व तयारी र बारम्बार पछि हट्न बाध्य भएको कोशी ब्यारेजमा भारतीय सेना राख्ने आफ्नो अपूरो मिसन पूरा गर्न यो नै सुनौलो मौका ठानिरहेको छ । यो बारेमा सरकार चनाखो रहंदै जनतालाई यथासमयमा सूचना देओस् । आखिर सत्यतथ्य के हो ?
सबेलाई थाह छ, कोशी ब्यारेज भत्किएपछि नेपालभन्दा बढि क्षति भारतलाई नै हुन्छ । भारतका मधुवनी, दरभङ्गा, पूर्णिया, सहर्सा, कटिहार र सुपोललगायतका जिल्ला पुरै डुवानमा पर्नेछन् । संभावित यसखाले संपत्ति र मानवीय क्षति कुनै पनि मानवका लागि अपूरणीय छ, यदि यसो भयो भने । यस्तो नहोस् सबैभन्दा राम्रो । तर दिल्लीले हरेक पलका संकटमा बोल्ने भाषा कहिले पनि सरल र सहज रहेको भने इतिहास छैन ।
त्यसैले नेपाल पनि भारत भन्दा बढि चिन्तित हुनुपर्छ कोशी ब्यारेजबारे । भारतलाई पनि कोशी व्यारेजको सुरक्षामा चिन्ता लागेको छ होला । त्यो स्वभाविक पनि हो । तर नेपालका सुरक्षाकर्मीले त्यसको सुरक्षाको प्रत्याभूति दिएको समाचार तत्काल सार्वजनिक गर्नुपर्छ । त्यहां दोहरो सुरक्षा प्रणाली कायम गरिएको छ । भारतका अवकाश प्राप्त सेनाले पनि सो ब्यारेजको सुरक्षा दिइरहेको छ । एक दशक लगाएर सन् १९६२ मा निर्माण भएको कोशी ब्यारेज भारतको तात्कालीन जोसेफ एण्ड कम्पनी लिमिटेडद्वारा निर्माण भएको थियो । उक्त कम्पनीको हेड अफिस भारतको कोलकातामा थियो ।
नेपाल र भारतका तात्कालीन राज्य प्रमुखहरु राजा महेन्द्र र भारतका प्रधानमन्त्री जवाहरलाल नेहरुले यसको सामूहिक उद्घाटन गरेका थिए । स्मरण रहोस्, संझौता अनुसार कोशी ब्यारेजको रेखदेख र मर्मतसंभार सहितका सम्पूर्ण जिम्मेवारी बिहार सरकारको जिम्मामा रहेको छ । सुनसरी तर्फ २८ र सप्तरी तर्फ २८ गरी कूल ५६ वटा स्पातका ढोका रहेको कोशी ब्यारेजमा ९ लाख ५० हजार क्यूसेक प्रति सेकेण्ड पानीको बहाब क्षमता रहेको छ । यसको लम्बाइ एक हजार १ सय ४९ मिटर रहेको छ ।