काठमाडौँं । हरेक पटक जुनसुकै सरकारमा पनि सहभागी हुँदै आएका मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले केपी ओली पदमुक्त हुनुभन्दा एक दिन अघि सरकार छाडेका छन् ।
ब्यवस्थापिका संसदमा आइतबार अविश्वासको प्रस्तावमाथि मतदान हुँदैछ । आइतबार हुने मतदानबाट ओली प्रधानमन्त्रीबाट पदमुक्त हुने निश्चित भएपछि गच्छदारले ओली सरकार छाडेका हुन् । मधेसी जनअधिकार फोरम ९लोकतान्त्रिक०को शनिवार बसेको बैठकबाट पार्टी सरकारबाट बाहिरिने निर्णय गरेको हो ।
सो पार्टीको शनिवार बसेको संसदीय दल र राजनीतिक कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्री ओली नेतृत्वको वर्तमान सरकारलाई पार्टीले दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
बैठकले पार्टीबाट सरकारमा नेतृत्व गरेका तीन मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको पार्टी कार्यालयका सचिव परमानन्द मेहताले जानकारी दिए । पार्टी अध्यक्ष तथा उपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित तीन मन्त्रीको राजीनामा पत्र तयार भएको र आइतबार पत्र प्रधानमन्त्रीलाई बुझाइने सो पार्टीले जनाएको छ । गच्छदार नयाँ गठबन्धनको सरकारमा सहभागी हुने तयारी गरेका छन् ।
फोरम लोकतान्त्रिकबाट अध्यक्ष गच्छदार उपप्रधानमन्त्री एवम् भौतिक योजना तथा पूर्वाधारमन्त्री, स्वास्थ्यमन्त्री रामजनम चौधरी र स्वास्थ्य राज्यमन्त्री मोहम्मद मुस्ताक आलम सरकारमा सहभागी छन् । सो पार्टीबाट १४ जना सांसद व्यवस्थापिक–संसदमा रहेका छन् ।