काठमाडौँ। निजी क्षेत्रको बैंक मेगा बैंकले मुलुकको सङ्घीय संरचनाअनुसार नै कारोबार गर्ने घोषणा गरेको छ । शुक्रबार वैंकको छैठौं वार्षिकोत्सवका अवसरमा सो घोषणा गरेको हो ।
नेपालको संविधानअनुसार मुलुक सात प्रदेशमा विभाजन भएकाले सोहीअनुसार नै बैंकको गतिविधिलाई पनि अगाडि बढाउने योजना रहेको अध्यक्ष भोजबहादुर शाहले जानकारी दिए ।
यस्तै बैंकले मर्जरलाई प्राथमिकता दिने वा हकप्रद सेयर जारी गरेर नेपाल राष्ट्र बैंकले तोकेको आठ अर्ब रुपैयाँ चुक्ता पुँजी पु¥याउने जनाएको छ । गत वैशाखमा बुटवलमा प्रधान कार्यालय रहेको पश्चिमाञ्चल विकास बैंकलाई मर्जरमा ल्याएको मेगाले अन्य बैंक तथा वित्तीय संस्थासँग पनि छलफल भइरहेको जनाएको छ ।
मुलुक बाहिर संयुक्त लगानीमा कारोबारको प्रारम्भ, क्षेत्रीयस्तरमा कार्यालय विस्तार तथा ग्रामीण क्षेत्रमा बैंकिङ पहुँचलाई विस्तार गर्ने कार्यमा बैंक केन्द्रित हुने अध्यक्ष शाहको भनाइ छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले कुल चुक्ता पुँजीको २५ प्रतिशत हकप्रद सेयर जारी गर्ने तयारी भइरहेको जानकारी दिए ।