काठमाडौं । टेबलटेनिस खेलाडी नविता श्रेष्ठ पल्सर स्पोर्टस अवार्डमा सर्वाधिक लोकप्रिय खेलाडीको बनेकी छन् भने फुटवल खेलाडी नवयुग श्रेष्ठ उत्कृष्ट खेलाडी ठहरिएका छन् । भलिबलकी प्रतिभा माली र फुटबलका नवयुग श्रेष्ठलाई पछि पार्दै नबिता लोकप्रिय खेलाडी बन्न पुगेकी हुन् ।
१२ औं सागकी कास्य विजेता नविताले एसएमएस भोट र फेसबुक लाइकका आधारमा पिपुल्स च्वाइस विधामा अवार्ड पाएकी हुन्। नविताले कुल २ लाख ८६ हजार ५ सय ५१ भोटमध्ये १ लाख ५० हजार भोट पाएको आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले जनाएको छ।
१२ औं सागमा काँस्य नै जितेकी प्रतिभाले १ लाख १६ हजार ६ सय भोट पाइन् भने नेपाललाई दुई दशकपछि फुटबलमा अर्न्तराष्ट्रिय उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका नवयुग श्रेष्ठले भने जम्मा १३ हजार ७५ भोट पाएर तेस्रो भए।
पिपुल्स च्वाइस विधामा तेस्रो स्थानमा चित्त बुझाए पनि नवयुग पुरुषतर्फ उत्कृष्ट खेलाडी घोषित भए। नवयुगको उत्कृष्ट प्रदर्शनमा नेपालले बंगबन्धु कपको उपाधि र सागमा स्वर्ण जितेको थियो।
महिलातर्फ जुडोकी फुपुल्हामु खत्री उत्कृष्ट खेलाडी घोषित भइन्। १२ औं सागकी स्वर्ण विजेता फुपुल्हामुले सागकै स्वर्ण विजेता उसुकी निमा घर्तीमगर, ट्रायथलनकी रोजा केसी, तेक्वान्दोकी रेजिना कार्की र पौडीकी गौरिका सिंहलाई पछि पार्दै उत्कृष्ट खेलाडीको अवार्ड जितिन् । नविता, नवयुग र फुपुल्हामुले एक एक वटा पल्सर मोटरसाइकल हात पारे।
यस्तै, अञ्जन विष्ट उत्कृष्ट युवा खेलाडी बन्न सफल भए । अञ्जन बंगबन्धु कप र सागमा स्वर्ण हात पार्ने टोलीका महत्वपूर्ण सदस्य हुन्। उनले क्रिकेटका सन्दिप लामिछाने, पौडीकी गौरिका सिंह, जुडोकी मनिता श्रेष्ठ र उसुकी निमा घर्तीमगरलाई पछाडि पारेर अवार्ड हात पारे।
वंगबन्धु कप र १९ वर्ष मुनिको साफ च्याम्पियनसीपको उपाधि दिलाएवापत फुटबलबाटै बालगोपाल महर्जनले उत्कृष्ट प्रशिक्षकको अवार्ड हात पारे।
यसैगरी, अखिल नेपाल फुटबल संघका दिवंगत कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठलाई मरणोपरान्त स्पेशल अवार्ड प्रदान गरियो भने फुटबल रेफ्रीबाट अवकाश लिएका श्रीराम रञ्जितकारलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदा न गरिएको छ ।
उत्कृष्ट युवा खेलाडी, उत्कृष्ट प्रशिक्षक, स्पेशल अवार्ड, पारा एललिट र लाइफटाइम अचिभमेन्ट विधाका विजेताले ५०–५० हजार रुपैयाँ पाएका छन् ।