स्वाभिमान बन्धक राखेपछि के हुन्छ ? हालत माओवादी केन्द्रको हेरे पुग्छ । माओवादी केन्द्रमा रहेकाहरुले आफूहरु ओली सरकारबाट अलग्गिएपछि सरकारले नैतिकताको आधारमा राजीनामा दिनु पर्छ भन्ने गरेका छन् । ओलीमा संसदीय नैतिकताको मापन अविश्वासको प्रस्ताव फेस गरेपछि देखिने छ ।
तर विगत हेर्दा विराट आस्था र विचारको राजनीतिक धरातलमा उभिएर आएको माओवादी केन्द्रका बारेमा निकै प्रश्नहरु उब्जेका छन् । जनताका बोलीमा ती प्रश्नहरुको सिलसिलेवार चाङ लागेको छ ।
प्रश्न यस खालका छन् । माओवादी केन्द्रले कुन नैतिकताको धरातल टेकेर भारतसामु लम्पसार पर्न पुगेको छ त ? के यो सामान्य सरकार परिवर्तनका लागि मात्र हो ? ‘म्याच फिक्सिङ’मा के के भएको छ ? के के बुझाइएको छ ? स्वाभिमान बन्धक राखेर अरुलाई केको पाठ सिकाउने ? जनताले उठाएका यी प्रश्नक अगाडि संसदीय सरकार परिवर्तनको खेल निकै महङ्गो साबित हुने भएको छ ।
काङ््ग्रेस–माओवादी केन्द्रले आलोपालो गरी सरकार चलाउने भनेर यसअघि काङ्ग्रेसले प्रचण्डलाई दिएको ‘ग्रिन सिग्नल’ लाई प्रचण्डले ‘मिस फायर’ गरेर गल्ती गरेका थिएनन् । तर अहिले भने निकै ठूलो गल्ती गर्न पुगेका छन् । उनी निकै ठूलो डिजाइनका गोटी बन्न पुगेका छन् । उनलाई तात्कालीन सोभियत रुसविरुद्ध लड्न खडा गरिएको बिन लादेनका रुपमा दांज्न र व्याख्या गर्न थालिएको छ ।
सामान्य हिसाबले हेर्दा काङग्रेस–माओवादीबीचको सम्बन्ध विपरित वर्गहरु बीचको सम्बन्ध हो । प्रचण्डले एकपटक त मिस फायर गरे पनि । तर अन्तत फेरि चङ्गुलमा फस्न पुगे । पार्टी आन्तरिक रुपमा लुट र खाउहरुको बोलवाला भएपछि उनी यसरी फस्न पुगेको उनका परिवार निकटहरु बताउंछन् । उनीहरुको भनाइ पनि छ– ‘खान आएकाहरुले सिध्याउने भए’ । यो माओवादी केन्द्रको पार्टी आन्तरिक कुरा होला । तर काङग्रेस–माओवादीबीच चिसिन पुगेको सम्बन्ध दिल्लीको मध्यस्थतामा जोडिन पुग्नु अहिलेकोे जटिल छिमेकी सम्बन्धको बेलाको ठूलै गडबडीको परिणाम भएको राजनीतिक विश्लेषकहरु बताउँछन् ।
कतिपयले सद्दाम हुसेनको कथा पनि जोड्न थालेका छन् । सद्दाम हुसेनको राजनीतिक पृष्ठभूमि कम्युनिष्ट थियो । राजनीतिक विश्लेषकहरुका अनुसार सद्दाम हुसेनले आफ्ना सहकर्मी र कतिपय त सिनियर कमरेड तथा सहयोद्धाहरुलाई हेलिकप्टरबाट मरुभूमिमा लगी छोडिदिएर जीउंदै मर्न र मार्न लगाएका थिए । यो सबै अमेरिकाको डिजाइनमा गरिएको थियो । यो सबै सद्दामले नितान्त कुर्सी मोहका कारण गरेका थिए । अमेरिका सद्दाम मार्फत् इराकमा रहेको बाथ नामक कम्युनिष्ट पार्टीमा यसरी घुस्न सफल भएको थियो । नेपालमा यसको व्यवहारिक प्रयोग पनि मोहन वैद्य किरण र सीपी गजुरेललाई भारतीय जेलमा हालेर गरिसकिएको छ । तर नेपालको अहिलेको सन्दर्भ फरक छ । माओवादी विभिन्न धारामा विभाजित छ । त्यसैले नेपालमा रहेको संभावना भने सद्दामको भन्दा विन लादेनकै बढि छ । प्रचण्डले बारम्बार भन्ने गरेको ‘उदार तानाशाह’ को के अर्थ लगाउने ? अमेरिका र भारतले बनाउने उदार तानाशाह कसका विरुद्ध ? नेपालमा त नेपालीमाथि शासन गर्न भन्ने अर्थ लाग्ला । विदेशीले बनाइ दिएका उदार तानाशाहले विदेशीको के स्वार्थ पूरा गरिदिने ? अमेरिका–भारतले बनाइदिएपछि चीनविरुद्ध लड्ने ? विदेशीको रणमैदानमा देशलाई परिणत गर्ने ? चाहिएन त्यो उदार तानाशाह नेपालीलाई ?
प्रचण्डको अकल्पनीय स्खलन र पतनले नेपाली जनमानसमा निकै त्रासदीपूर्ण आशङका उत्पन्न गराएको छ । अमेरिका र भारतले प्रचण्डलाई चीनविरुद्ध बिन लादेन बन्न प्रस्ताव गर्ला र त्यो प्रचण्ड स्वयम्लाई स्वीकार्य होला पनि । तर नेपाली जनतालाई स्वीकार्य हुनसक्ने छैन । उनमा आएको अपूर्व वैचारिक स्खलन र राजनीतिक पतनले बिन लादेनकै बाटोमा डोर्याइरहेको बारे केही आधारसहितको जब्बर आशङ सन्निकटमा मूर्तिकरण हुन नगइरहेको होला भन्न नसकिने अवस्था पनि छैन ।