कैलाली । मोहना नदीमा डल्फिन गणनाको काम सम्पन्न भइसकेको छ । कैलाली जिल्लामा रहेको मोहना नदीमा पहिले निकै देखिने डल्फिन एकदुई वर्षको अबधिमा निकै कम देखा परे पनि यसपाली भने ठूलो मात्रामा देखा परेका छन् ।
डल्फिनको बाक्लो चलखेल देखेपछि मोहना नदी वरपरका वासिन्दाहरुले यसबारेमा निकै चर्चा र परिचर्चा गरे । यसैबाट उत्साहित भएर महेन्द्र प्रकृति संरक्षण प्रतिष्ठान र जैविक विविधतासंग सम्वन्धित सङ्घसंस्थाहरुले यसपालाको वर्षायाममा निकै जांगर लगाएर डल्फिन गणना गरी सङ्ख्या एकिन गर्न सकेका छन् ।
गणनाअनुसार मोहनामा चार दर्जन डल्फिन रहेको बताइएको छ । ८० जना गणकहरु सहभागी रहेको उक्त गणना कार्यमा सहजताकासाथ सङ्ख्या एकिन गर्न सकिएको बताइएको छ ।
यसले यस क्षेत्रको पर्यापर्यटनलाई निकै टेवा दिने पर्यटन तथा प्रकृतिविदहरुको भनाइ रहेको छ । डल्फिन गणना कार्य र जनताको यसप्रतिको चासोका साथै यसको प्रचारप्रसारले त्यहांको पर्यटन विकासमा निकै योगदान पुग्ने संभावना बढेर गएको छ ।