
अंध्यारो रात थियो । हामी गोरखा जिल्लाको लापुबाट सुनसानमा लामो यात्रा सुरु ग¥यौं । भीरको बाटो, त्यसमा पनि रातको हिंडाइ । अनि रातभरिको थकाइ मेट्न दिउंसो केवल ३-४ घण्टाको आराम मात्र हाम्रो विकल्प थियो । अनि फेरि उस्तै रातको यात्रा आरम्भ । धादिङको सल्यानटार, गोरखाको बुङकोट घाट, महादेवटार, पिपलटार, फुजेल, दर्बुङफांटहुंदै हामी लगातार तीन दिनको हिंडाइपछि गोरखाको भुम्लिचोक पुग्यौं ।
जांदा बाटोमा छुटेका हाम्रा कमाण्डर र सहयोद्धा साथीहरुको टिमलाई त्यहां भेट्यौं । रातोदिनको हिंडाइले हामी निकै थाकेका थियौं । केही समय आराम नगरे पाइलै सार्न नसक्ने स्थितिमा पुगेका थियौं । हामी दुई दिनसम्म त्यहीं ठाउँमा आराम गर्यौं । आराम तथा बसाइको समयमा हाम्रो विभागीय टोलीले आवश्यक प्राविधिक सामानहरुको जोहो गरिसकेको थियो । अब मात्र एचक्यू (हेडक्वाटर) को ‘ब्रिफिङ’ र शक्ति विन्याससहित ‘आर्क’ विभाजन गरी लडाइंका लागि आदेशको पर्खाइमा थियौं । हाम्रो लडाइंको ‘टार्गेट प्वाइन्ट’ सडक अर्थात् पृथ्वी राजमार्ग भएको कुराबारे हामीलाई पहिले नै स्पष्ट पारिएको थियो । तर ठ्याक्कै कुन ठाउँ र कुन दिन भने थाह थिएन । त्यो कुरा ‘हाइ टेक’ को थियो र मात्र ‘एचक्यू बडी’लाई थाह थियो ।
दुई दिनको बसाइपछि त्यहांबाट हिंड्ने भनेर एचक्यूबाट खबर आयो । पास वर्ड, आर.भी. को जानकारी दिइयो । खाजा नास्ताको पनि जोरजाम भइसकेको थियो । आर.भी. मा सङ्केत गरेअनुसार त्यसदिन रातमा १८ घण्टाको लामो यात्रा तय गरिएको थियो । हाम्रो अन्तिम तथा पूरा तयारीको स्थान चितवन जिल्लाको हात्तिवाङ छनौट गरेको हुनाले हामीलाई जसरी पनि त्यहाँ पुग्नु अनिवार्य थियो ।
फेरि यात्रा सुरु भयो । हामीले भूम्लिचोकलाई छोड्यौं र अगाडि बढ्यौं । अघिल्लो दिनको २ बजे दिउंसो सुरु भएको पैदल यात्रा भोलिपल्ट बिहान ६ बजेसम्म जारी रह्यो । यति लामो हिंडाइले हामी सबै थकित बनेको थियौं । भोक, निन्द्रा र तिर्खाले पनि लखतरान परेका थियौं । कति साथीहरु हिंड्दा हिंड्दै लड्थे । लडेकै ठाउंमा भुसुक्कै निदाउंथे । अलि नथाकेका र बलिया साथीहरुले उनीहरुलाई समाएर एकअर्काको साहरा बनी बांकी यात्रा पूरा गर्दथ्यौं । फाटेको गुन्द्री, करेसाको पानी, अनि ढिडो र गुन्द्रुकको त्यो क्षणमा खुब याद आउँथ्यो ।
सहयोद्धाहरुको रगतले दारेचोकको डांडो रङ्गियो । बलिदानको विशाल पहाडमा तिनै वीर विरङ्गनाको इतिहास झल्काउने स्मरण आज पनि ताजै छ । सर्वहारा वर्गको प्रतिनिधिको रुपमा रातो झन्डा आज फहराइरहेको छ । संगै खाने, बस्ने, हिंड्ने र लड्दा भिड्दाको सहयात्रीहरुको तस्वीर सिनेमाको रिल झैं मानसपटलमा आउँदा विगत अझै पनि चहराइरहेको छ ।
भोक र प्यासले निकै सताएको थियो । दिमागी कल्पनाले त्यही गुन्द्री राखिएको आराम गर्ने ठाउं खोजिरहेको थियो । करेसाको पानीले रातभरिको प्यास मेटाउन चाहिरहेको थियो । अनि त्यही ढिडोले असैह्य भोक मेटाउन चाहिरहेको थियो । तर सबै केबल कल्पनामा सीमित थिए । तथापि हामीलाई बिनाढिलाइ हातिवाङ पुग्नु नै थियो ।
त्यो भोक, निद्रा र थकाइसंग अबिराम भिडन्त गर्दै तीमाथि विजय प्राप्त गरी अर्को दिनको बिहान ७-८ बजेतिर आर.भी प्वाइन्टमा पुग्यौं । त्यहां हामीले एक अर्को टिमलाई भेट्टायौं । त्यो टिम चितवनको भरतपुरमा कमाण्डो आक्रमणका लागि छुटेको थियो । त्यही टोलीले नै हाम्रो बसस्थान लगायतका अन्य सबै चाँजोपाँजो मिलाएको थियो ।
हामी आउने जानकारी पहिल्यै भइसकेकाले खानासमेत तयार बनाएर राखेका थिए । तर सबै साथीहरु खाना भन्दा पनि रातभरिको थकाइले आरामतिर लाग्न थाले । कोही पिंढीमा, कोही बारीको भित्तामा, कोही रुखको छहारीमा त कोही परालको माझमा जताततै लडिसकेका थिए । त्यो अवस्थालाइ हेर्दा लाग्थ्यो कुनै ठूलो लडाइंपछिको सुनसान युद्धभूमि पो हो कि यो । जहांतहीं र जताततै मानिस पल्टिएका । कल्पनाले त यहांसम्म पुर्यायो कि मानौं गिद्ध र चीलहरु आकाशमा कर्कश आवाज छोडेर अपसकुनको ध्वनी प्रसारण गर्दै उडिरहेका होऊन् । कस्तो कस्तो लाग्थ्यो हातिवाङको त्यो क्षण ।
विहान र बेलुकीको खाना एकैपटक खायौं । अनि पुनः आरामतर्फ लाग्यौं । कति छिटो रात बितिसकेछ । बिहानको रोलकलको सिट्ठी बज्यो । हतार हतार सबै रोलकलमा तुरुन्त हाजिर भयौं । थकाइ, भोक, प्यास र निद्रा मेटिइसकेको थियो । मनमा नयां जोश, जांगर, उत्सुकता र जुझारुकता पलाइसकेको थियो । हाम्रो ब्रिगेडको कमाण्डर अशोक र भाइस कमाण्डर (भीसी) रघु थिए । दुश्मनलाई जहाँ भेटिन्छ, त्यही ठोक्ने योजना भएको जानकारी आयो । त्यसपछि म्याप (नक्शा) रिडिङ तथा ब्रिफिङ आदि कामहरु भए । अग्रमोर्चाका लागि एसल्ट निर्माण र फोर्स विन्यास भयो । सबैको दुस्मनमाथि जाइलाग्ने मानसिकता बन्यो ।
रोेलकलको लाइनमा उभिएका सबैलाई बस्न आदेश आयो । त्यसै मुताविक सबेै पङ्क्ति एकैक्षणमा हाइ एलर्टमा बसे । फेरि केही समयपछि अर्को सिट्ठी बज्यो । त्यो हिंड्नका लागि आदेश थियो । हाम्रो आई.एन.टीका अनुसार दुश्मन अगाडि अर्थात् हामी भएतिर बढिरहेको जानकारी पायौं । हामीले जुनसुकै हालतमा दुश्मनलाई आकस्मिक हमला गरी पश्चिम र पूर्वी नेपालमा भैरहेको भीषण भिडन्तहरुलाई सपोर्ट गर्नुपर्ने थियो ।
खाना खाने समय भएको थियो । कतिपयले खाना खाएका थिए त कतिले खांदै थिए । एचक्यू सकेसम्म व्यवस्थित आक्रमणको योजनामा थियो । योजना मुताविक ब्रिगेड कमाण्डर अशोक, बटालियन कमाण्डर शरद, निरन्तर लगायतका कमाण्डरहरु रेकी गर्नका लागि पृथ्वी राजमार्गमा ओर्लिएका थिए । हामीसंग केवल सीमित कमाण्डरहरु र साथमा थप आवश्यक निर्देशन दिनका लागि डिभिजन एच्क्यूबाट डिभिजन सहकमाण्डर कमरेड सञ्जीव नै आउनु भएको थियो । यी सबै कुराले पनि डिभिजन सहकमाण्डरकै प्रयत्न र निर्देशनमा लडाई लड्ने भएकाले हामीमा निकै ठूलो हौसला बढेको थियो । हामी दुश्मनमाथि जाइ लाग्न आतुर थियौं ।
करिब ३ घण्टाको यात्रा पश्चात् अन्तिम पोजिसनमा पुग्न केही समय बांकी रहंदा बांदर लड्ने भीरबाट बुट्यान र पोथ्राहरु समाउँदै ओरालो झरिरहेका थियौं । यत्तिकैमा पछाडिबाट रिट्रिटको कासन आयो । हामी अलमल्लमा पर्यौं । आश्चर्यमा पर्यौं । त्यत्रो भीरको बाटोमा अझ छिटो छिटो फर्क भन्छ भनेर हामी हतारहतार उकालो चढ्यौं । जब डांडामा उक्लियौं, तब मात्र थाह पायौं कि हामी हिंडेको ठीक माथिको डांडामा बसेर हामी ओरालो झरेको दुश्मनले हेरिरहेको रहेछ ।
सेनाले बदलिएको तत्कालको नितान्त भिन्न परिस्थितिमा लडाइं जित्नका लागि वैज्ञानिक योजना सहित उच्च मनोबल र साहस अनि प्रविधिक तयारी राम्रो हुनुपर्छ । त्यतिखेर दुश्मनसंग त्यो मनोबल, योजना र साहस थिएन । यी सबै कुराको अपुग थियो । होइन भने त्यो भिरको यात्रामा दुश्मनले आंट गरेर हामीमाथि हमला गरेको भए त्यतिबेला हामी निरीह साबित हुने थियौं । किनकि दुश्मन अनुकुल भूगोलमा र हाम्रो फोर्स प्रतिकूल भूगोलमा थियो । संयोगले मात्र हामी त्यो दुर्घटना हुनबाट बच्यौं । साथै, हामी दुश्मन भएतिर नै भिड्नका लागि अगाडि बढ्यौं । दु्श्मनलाई पनि हामी भिड्ने मानसिकतामा नै अगाडि बढेको स्पष्ट भैसकेको थियो । सैन्य विज्ञानअनुसार आफ्नो योजनमा दुश्मनलाइ पार्न सके मात्र लडाइं जितिने अधिकतम सम्भावना हुन्छ । शायद यो विज्ञानलाई दुश्मनले पनि राम्रोसंग बुझेको हुनुपर्छ ।
हामी दुश्मन भएको ठाउंको निकै नजिक पुग्यौं । त्यहाँ हामीलाई बेलुकाको लागि खाना बनाउन अगाडि पठाइएका कमरेडहरुले भेटेर दुश्मनको सङ्ख्याबारे जानकारी गराउनु भयो । उनीहरु मात्र ४०-५० जना भएको जानकारी भयो । ५० जना सेना भनेको हाम्रो लागि हात्तीको मुखमा जीरा जति पनि थिएन । हाम्रो सिङगो ब्रिगेड नै त्यहाँ थियो । त्यसैले हामी खेद्ने मानसिकतामा घेरा हाल्दै अगाडि बढ्यौं । तर एक्कासी पारी डाँडामा हेलिकप्टरको आवाज आयो । त्यो स्तिारै हामी भए तिरै बढेकाले त्यो सेनाको हेलिकप्टर नै भएको बुझ्न कठिनाइ थिएन । त्यतिखेरसम्म सो हेलिकप्टर हाम्रो सिधामाथि आइसकेको थियो । हामी भएतिर अन्धाधुन्द गोली बर्साउन थाल्यो । हामी पनि कोही रुखको कोही ढुङगाको जे जे सम्भव थियो त्यसैमा कभर लिन थाल्यौं । हामी अब प्रतिकारको लागि तयार भयौं । करिब ३–४ फन्को लगाए गोली हानेर त्यो तत्कालै फर्किहाल्यो ।
त्यो हेलिकप्टर ती ४०–५० जनाको सेनालाई फर्काउन अर्थात् भगाउनका लागि सपोर्ट दिन आएको रहेछ भन्ने पक्का भयो । बिस्तारै समय ढल्कदै गयो । आफ्नै गतिमा हामीले पनि सेनाको बास्तविक स्थिति पत्ता लगाउन त्यही आफ्नो पोजिसन सम्हालेर बस्यौं । समय ढल्कदै गयो । रात पर्दै गएकोले सेनाको बास्तविक स्थिति पत्ता लगाउन असाध्यै गाह्रो पर्यो । हाम्रा आई.एन.टी ले पनि एकिन गर्न सकेनन् । त्यसैले रातभर आंखा झिमिक्क पनि नगरिकन आ–आफ्नो पोजिसन नछाडिकन बसिरहयौं ।
यस्तैमा बिहानको ६ बज्यो । अनि आई.एन.टी ले खबर ल्यायो– अघिल्लो दिन देखिएको सेना सबै भागेर रातभरमा रेन्जर बटालियनलाई उकालो चढाइ सकेको रहेछ । हाम्रो पोजिसन अघिल्लो दिन नै खुलिसकेको थियो । फेरि सेना हामीतिरै आइरहेको पक्का भयो । त्यसको अर्थ लडाइं निकै नजिकियो । सबै आआफ्नो पोजिशन दह्रो गरी सम्हालेर बस्यौं । लडाइंको घडी हो । बिहान ७ बजे देखि ८ बजेसम्मको कुराइ निकै लामो लाग्यो पनि । सेना पूरै केमोफ्लेजमा एम–१६ राइफलसहित आएको देखियो । नजिकै आएपछि हाम्रो तर्फबाट एक्कासी फायर खोल्यौं । ठाउंको ठाउंमै ४-५ जना सेना ढलिसकेका थिए । लडाइं भीषण चल्यो । यतिखेर खै कसरी बयान गर्ने त्यो क्षणको बम बारुदको गर्जन । चारैतिर आफ्नो कमाण्डरको कासन । कोही आइया भनेका छन् त कोही मरे बाबा भनेका छन् । करिब १० मिनेट जतिको भीषण आक्रमणमा जति मरेपनि दुस्मनले एकरति पछि नहटेर प्रतिकार गरिरहेको थियो । तर पनि हामी नै ऊमाथि हाबी हुंदै गएका थियौं ।
यो क्रममा हाम्रा कमरेड विश्वास लगायतको ४-५ जना साथी ढलिसकेका थिए । हामी डांडामाथितिर र उनीहरु तलतिर परेकाले हामीले नै दबाइ रहेका थियौं । हाम्रो मुख्य डांडामा डिभिजन सहकमाण्डर लगायत सेक्यूरिटीको टोली थियो । त्यही डांडालाई कब्जा गर्न दुश्मनले पनि मुख्य टार्गेट बनायो । त्यहां उनीहरु कब्जा गर्न सफल भए र हाम्रो टोली ब्याक हुनपर्ने अवस्था आयो ।
अब बिस्तारै साथीहरु पनि बेसी नै घाइते हुँदै जान थाले । त्यसै क्रममा दुश्मनले डांडो कब्जा गरी जि. पि. एम. जी फिट गरेर पूरै हामीमाथि अन्धाधुन्द गोली बर्साउन थाले । उनीहरुले डाँडा कब्जा गरिसकेपछि हामी पछाडि हट्नुको विकल्प थिएन । पछाडि हट्न थाल्यौं । यसले दुश्मनको मनोबल उठ्दै गयो । उखान नै छ ओरालो लागेको मृगलाई बाच्छाले पनि खेद्छ । उनीहरु निकै हौसिदै अटोमा बुलेट बर्साउँदै आए । हाम्रो पोजिसन भताभुङ्ग भएकाले सबैको पोजीसन आआफ्नै हुन थाल्यो । त्यसले गर्दा पनि दुस्मनलाई निकै सजिलो भयो ।
हामी पछाडि हट्ने क्रममा निकै साथीहरुलाई बुलेट लाग्यो । कति साथी ढले । कति साथी घाइते भए । त्यसको लेखाजोखा गर्ने वातावरण त्यहाँ बनेन । ३-४ जना बाहेक प्राय सबै घाइते अवस्थामा थियौं । दुश्मनको निरन्तर आक्रमण र हाम्रो कमजोर अवस्था भएकाले ढलेका साथीहरुलाई उठाउन पाएनौं । लडाइं सकिएको थिएन । बिस्तारै हाम्रो फोर्स अर्को डांडोमा पुग्यो । त्यही भएर दुश्मन त्यहांबाट अगाडि बढ्न सकेन । हाम्रा घाइते अवस्थामा ढलेका सबै साथीहरुलाई उनीहरुले हत्या गरे ।
गणना गर्दा थाह भयो हाम्रा १६ जना सहयोद्धाहरुको रगतले दारेचोकको डांडो रङ्गियो । बलिदानको विशाल पहाडमा तिनै वीर विरङ्गनाको इतिहास झल्काउने स्मरण आज पनि ताजै छ । सर्वहारा वर्गको प्रतिनिधिको रुपमा रातो झन्डा आज फहराइरहेको छ । संगै खाने, बस्ने, हिंड्ने र लड्दा भिड्दाको सहयात्रीहरुको तस्वीर सिनेमाको रिल झैं मानसपटलमा आउँदा विगत अझै पनि चहराइरहेको छ । हामी सबैले एकै स्वरमा भनिरहेका छौं– इतिहासका तिनै वीरहरुको रगतले कोरेको मार्गमा हामी अबिचल र उदात्त भएर लाग्न प्रतिवद्ध छौं । एकढक्किा भई उठ्दै छौं, जुट्दै छौं र अपूरो सपनालाई साकार पार्न त्यही बाटोमा समर्पित हुनेछौं । निरन्तर…निरन्तर…निरन्तर…क्रान्तिको महासमरमा ।