काठमाडौं । राष्ट्रवादी छवि बनाएका नेकपा (माओवादी केन्द्र) का नेता मातृका यादव अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिल्लीको समर्थन जुटाउन दिल्ली दौडाहामा गएको प्रष्ट भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएर आफ्नै नेतृत्वमा सरकार गठनका लागि अघि सरेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले दिल्लीको समर्थन जुटाउने प्रयासमा यादवलाई दिल्ली पठाएका हुन् ।
दिल्लीको समर्थन जुटाउन माओवादी केन्द्रका नेता माृतका प्रसाद यादवले दिल्लीको भ्रमण गरेको भारतीय पत्रिका ‘द हिन्दू’ को अनलाईन संस्करणले जनाएको छ ।
यादवले जुलाई १५ देखि १७ सम्म भारतको भ्रमण गरेका हुन् । यादवसँगको भेटमा भारतीय नेताले नेपालको राजनीतिक घटनाक्रममा भारतको हस्तक्षेप नहुने बताएका जनाइएको छ ।
केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै संसदमा अविश्वासको प्रस्ताव दर्ता भएपछि साउन ६ गते अविश्वासको प्रस्तावमाथि छलफल हुने कार्यसूची रहेको छ ।
त्यसअघि नै प्रचण्ड दिल्लीको समर्थन जुटाउने प्रयासमा लागेका हुन् । आफ्नो तीन दिने भ्रमणका क्रममा नेता यादवले कांग्रेस नेता करण सिंह, जनता दल युनाईटेडका शरद यादव, राष्ट्रवादी कांग्रेसका नेता डीपी त्रिपाठीसहितका विपक्षी नेताहरुसँग छलफल गरेको ‘द हिन्दू’ ले उल्लेख गरेको छ ।
‘प्रचण्डबारे दिल्लीमा केही आशंका (चीनसँग नजिक भएको) छ,’ छलफलमा सहभागी स्रोतलाई उदृत गर्दै भनिएको ‘उहाँले प्रचण्डका लागि दिल्लीको समर्थनको माग गर्नुभएको छ ।’
यसैगरी ‘दि हिन्दू’ ले ६ गतेको अविश्वासको प्रस्तावमाथिको छलफलपछि नयाँ प्रधानमन्त्रीका लागि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुपष्कमल दाहाल प्रचण्ड दावेदार रहेको जनाएको छ ।
दुई नेतालाई दावेदार देखाएर दिल्लीले प्रचण्डलाई नभए देउवालाई सहयोग गर्नसक्ने संकेत गरेको देखिन्छ ।