काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएपछि आफू पदबाट राजिनामा नदिने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बेलुका भएको प्रमुख तीन दलका शीर्ष नेताबीच भएको छलफलमा राजिनामा नदिने बरु अविश्वासको प्रस्तावको सामना गर्ने अडान राखे ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री नसुम्पिएपछि कांग्रेसको साथमा प्रधानमन्त्री लालसामा ओली सरकारको समर्थन फिर्ता लिएको थियो । माओवादीले सरकारको समर्थन फिर्ता लिएपछि प्रमुख दलका नेताहरुबीच केही दिनयता ‘वाक युद्ध’ नै चलेको थियो ।
माके सरकारबाट बाहिरिएपछि अल्पमतमा परेपनि ओलीले राजिनामा नदिएको भन्दै कांग्रेस माओवादीले गत बुधबार संसदमा अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । संविधानमा अविश्वासको प्रस्ताव पेश गर्न सक्ने ब्यवस्था भए पनि संक्रमणकालमा नयाँ सरकार गठन गर्ने प्रावधान नरहेको भन्दै कानूनविदहरुले आफू अनुकुल ब्याख्या गर्न थालेपछि प्रमुख तीन दल सहमतिका लागि छलफलमा जुटेको हो ।
सोमवार प्रधानमन्त्री ओलीले देउवा र दाहाललाई छलफलका लागि बालुवाटार बोलाएका थिए । बालुवाटारमा भएको छलफलमा देउवा र दाहालले अल्पमतमा परिसकेपछि राजिनामा दिन आग्रह गरेका थिए । उनीहरुले राजीनामा दिएर नयाँ सरकार गठनका लागि बाटो सहज बनाइदिन ओलीलाई आग्रह गरेका थिए ।
जवाफमा ओलीले आफूविरुद्ध अविश्वासको प्रस्ताव पेश गरेपछि त्यसको सामना गर्ने बताएका हुन् । ओलीले अविश्वास प्रस्ताव र राजीनामा एक साथ हुन नसक्ने बताएका थिए ।
तीन शीर्ष नेताबीच झण्डै एक घण्टा भएको बैठकमा मुलुकमा विकसित नयाँ राजनीतिक घटनाक्रम, सरकार गठनका विषयमा उत्पन्न विवाद र संवैधानिक प्रश्नहरु, अविश्वास प्रस्ताव, नयाँ सरकार निर्माणलगायतका विषयमा बारेमा छलफल भएको थियो ।