‘संसदवादीहरुले सत्तामा टिक्न विदेशीकै मुख ताक्ने गरेका छन्’

‘संसदवादीहरुले सत्तामा टिक्न विदेशीकै मुख ताक्ने गरेका छन्’

यतिबेला संसदवादी पार्टीहरु सत्ता परिवर्तनको खेलमा न्वारानदेखिको बल निकालेर लागिरहेका छन् । नेकपा (माओवादी केन्द्र) ले वर्तमान केपी ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि काँग्रेससँग मिलेर प्रचण्ड नेतृत्वमा नयाँ सरकार बनाउने खेलमा लागेका छन् । तर केपी ओलीले त्यसलाई असफल पार्न र संसदमा पेश भएको अविश्वासको प्रस्ताव पारित हुन नदिन लागिपरेका छन् भने काननुविद्हरु सरकार बन्ने संवैधानिक आधार खोज्न रातदिन कम्मर कसेर लागेका छन् । सरकार परिवर्तनको यहि खेलका विषयमा नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्य ‘किरण’ संग गरिएको कुराकानीको सारसंक्षेपः

संसदवादीहरूको सरकार फेरबदलको खेललाई नेकपा (क्रान्तिकारी माओवादी)ले कसरी हेरिरहेको छ ?

संसदवादी शक्तिहरूकाबीच सरकार फेरबदल गर्ने खेल पहिले पनि निकै चल्ने गर्दथे र अहिले पनि चल्दै आएका छन् । यस्ता खेललाई हामीले कुनै ठूलै र विचित्र घटनाका रूपमा लिनुपर्ने देखिंदैन ।

ओली नेतृत्वको सरकारको तुलनामा प्रचण्ड वा देउवाको नेतृत्वमा बन्ने सरकारले भूकम्प र नाकाबन्दीबाट आजीत नेपाल र नेपाली जनताको हितमा केही फरक पार्ला ?

विगतको इतिहास र अहिलेका उनीहरूका विचार, दृष्टिकोण तथा व्यवहारमाथि ध्यान दिंदा मूलभूत रूपमा केही फरक पार्ला जस्तो लाग्दैन ।

संविधान संशोधन गरी आन्दोलनरत मधेसी र जनजातिहरूको माग सम्बोधन भएको खण्डमा नेकपा (क्रान्तिकारी माओवादी) को सरकार र संविधानप्रतिको दृष्टिकोणमा केही परिवर्तन आउँछ कि ?

हामी संविधान संशोधन गरेर कुनै गुणात्मक र आमूल परिवर्तन हुने देख्दैनौं । त्यसप्रकारको परिवर्तनका लागि त वर्तमान प्रतिक्रियावादी राज्यसत्ताकै अन्त्य र जनताको जनवादी राज्यसत्ताको स्थापना गर्न जरुरी हुन्छ । यहाँ प्रश्न मधेसी र जनजाति समुदाय मात्रको होइन, आम उत्पीडित वर्ग र जनसमुदायको मुक्तिको प्रश्न हो ।

सरकार फेरबदलको यो खेलमा वाह्य शक्तिकेन्द्रको तीव्र चेलखेल भएको चर्चा राजनीतिक बजारमा व्याप्त छ । नेपालका संसदवादी राजनीतिक पार्टीहरूले नेपाली राजनीतिमा आफ्नो ‘स्वतन्त्र हैसियत’ गुमाइसकेका हुन् ?

सरकार फेरबदलमा विदेशी शक्तिकेन्द्रको तीव्र चलखेल भएको कुरा साँचो हो । नेपालजस्तो अर्धसामन्ती र अर्ध÷नवऔपनिवेशिक अवस्थामा रहेको देशमा दलाल राजनीतिक शक्तिहरूमार्फत बाह्य शक्तिहरूले आफ्नो स्वार्थ सिद्ध गर्न हिजो पनि प्रयत्न गरेका हुन्थे र अहिले त्यो प्रयत्न निकै बढेर आएको देखिन्छ । नेपालमा संसदवादी, प्रतिगामी तथा यथास्थितिवादी सबै राजनीतिक दलहरूले राजनीतिमा आफ्नो स्वतन्त्र हैसियत समाप्त पारिसकेका छन् । उनीहरू सत्ता वा सरकारमा टिक्नका लागि विदेशकै मुख ताक्तै आएका छन् । त्यो कुरा अहिलेको लागि पनि सत्य हो ।

नेपाली राजनीतिमा स्वतन्त्र हैसियतको वैकल्पिक राजनीतिक शक्तिको रूपमा अगाडि आउने प्रयत्नमा नेकपा (क्रान्तिकारी माओवादी) देखिन्छ, चुनौती र सम्भावना कस्तो देख्नुहुन्छ ?

हो, हाम्रो पार्टी नेपाली राजनीतिमा स्वतन्त्र हैसियत राख्ने वैकल्पिक शक्तिका रूपमा विकसित हुन प्रयत्नशील रहेको छ । यस दिशामा भीषण चुनौती र महान् सम्भावना दुवै छन् । त्यसप्रकारका चुनौतीहरूको सामना गर्दै महान् सम्भावनाका ढोका उद्घाटन गर्नका लागि हामीले अत्यन्तै ठूलो परिश्रम गर्नुपर्दछ र त्यस दिशामा हाम्रो प्रयत्न जारी छ ।

पार्टीको राष्ट्रिय भेलापछि क्रान्तिकारी माओवादी जनसंघर्षहरूको उठानको तयारीमा जुटेको देखिन्छ । संघर्षलाई कुन कुन मुद्दामा केन्द्रित गर्दै हुनुहुन्छ ? संघर्ष उठानका सम्भावनाहरू कस्तो देख्नुहुन्छ ?

राष्ट्रिय भेलापछि हामी मुख्यतः साङ्गठनिक काममा लागेका छौं । हाम्रो जनसङ्घर्षको तयारी मूलतः राष्ट्रियता, जनतन्त्र र जनजीविकाका जल्दाबल्दा समस्याहरूमा नै केन्द्रित हुन्छ । साथै, हामी स्थानीय रूपमा वर्गसङ्घर्षको विकासमा पनि ध्यान केन्द्रित गर्नेबारे गम्भीर बन्दै गइरहेका छौं । सङ्घर्ष त उठ्न सक्तछ, परन्तु त्यस निम्ति आत्मगत तयारीबारे सचेत रूपमा लाग्नुपर्दछ ।

पार्टीको राष्ट्रिय भेलापछिको पार्टी जीवनको स्थितिबारे केही बताइदिनुस् न ?

राष्ट्रिय भेलापछि पार्टी नयाँ बन्दै जान थालेको छ । अहिले पार्टीमा नयाँ ढङ्गको जोश, जाँगर र उत्साह बढ्दै गएको छ ।

नेपाली कम्युनिष्ट आन्दोलनमा क्रान्तिकारी ध्रुवीकरणको स्थिति कस्तो देख्नुभएको छ ? त्यस दिशामा केही पहलहरू भएका छन् कि ?

तत्काल हामीले त्यस दिशामा केही सोंचेका छैनौं र तुरुन्तै सोंचिहाल्नुपर्ने स्थिति पनि अहिले देखिंदैन । त्यसैले त्यस दिशामा कुनै ठोस पहल पनि भएको छैन ।