यसरी खुल्छ शाह, राणा र मुस्लिम बीचको नाता

यसरी खुल्छ शाह, राणा र मुस्लिम बीचको नाता

narayanhity

वि.सं. ८४० सालतिर नेपालको व्यापारिक सम्बन्ध अरबसँग थियो । त्यतिबेला नेपालबाट कस्तुरी अरबमा निकासी गरिन्थ्यो । यद्यपि त्यतिबेला नेपालमा मुस्लिमहरूको बसोबास रहेको भेटिदैन । नेपालमा मुसलमानहरूको प्रवेशको पहिलो प्रमाण अरबी ग्रन्थ “हूदुद अल् आलम” (सन् ७८३) हो । जसमा “अरबमा नेपालबाट कस्तुरी पठाइन्थ्यो” भन्ने उल्लेख गरिएको पाइन्छ । अरबियन देशहरूमा नेपालबाट कस्तुरी, ऊन र धातुहरूको व्यापार हुने गरेको कुरा पनि उक्त ग्रन्थमा उल्लेख गरिएको छ । लिच्छवी वंशका राजा अंशुवर्माको टिष्टुङ्गको अभिलेखमा नेपालले फलाम, ऊन, चौंरी, कस्तुरी, पित्तलका भाँडाहरू विभिन्न देशमा निर्यात गर्दथ्यो भन्ने उल्लेख गरिएको छ ।
नेपालको बाईसे र चौंबीसे राज्यहरूमा नेपाली सैनिकहरूलाई हातहतियारको प्रशिक्षण दिन भारतबाट मुस्लिमहरू बोलाइएको थियो । मध्यकालीन नेपालमा अफ्गानिस्तान र टर्कीबाट घोडाको व्यापार गर्न आएका मुस्लिम व्यापारीहरू पनि यहाँ आएर बसोबास गरेका थिए ।

नुवाकोटका राजा कुल मण्डनसँग दिल्लीका सम्राट प्रशन्न भई उनलाई “शाह” उपाधी दिएका थिए । Muslim Mosqueत्यसपछि कुलमण्डन शाह पछिका उनका वंशज राजाहरुले आफ्नो नामको पछाडि “शाह” उपाधि जोड्दै आइरहेका छन् ।
पृथ्वीनारायण शाहले वि.सं. १७९९ सालपछि नेपाल एकीकरण सुरु गर्दा पनि मुसलमानहरूको ठूलो सहयोग पाएका थिए । गोरखामा हातहतियार बनाउने कार्यमा शेख बज्जर, मुहम्मद बाकीको ठूलो भूमिका रहेको थियो । पृथ्वीनारायण शाहले उपत्यका वरिपरि आर्थिक नाकाबन्दी सञ्चालन गर्दा तिब्बतसँग काश्मिरी मुसलमानहरूले सञ्चालन गरिरहेको व्यापार बन्द हुन गयो । यसबाट काश्मिरी मुसलमानहरू नरिसाऊन् भनेर सन् १७६५ (१८२२ वि.सं.) मा पृथ्वीनारायण शाहले एक मोजाम्जी भन्ने काश्मिरी मुसलमान व्यापारीलाई चिट्ठी लेखी काठमाडौं उपत्यका विजय गरेपछि उनीहरूलाई घरजमिन दिई पुनः व्यापार सञ्चालन गर्न दिने वचन दिएका थिए ।

पृथ्वीनारायण शाहले सन् १७७९ (१८३६ वि.सं.) मा मोजाम्जीलाई उक्त घरजग्गा फिर्ता दिई आफ्नो वचन पूरा गरे । पृथ्वीनारायण शाहले काश्मिरीहरूको बेग्लै मस्जिद स्थापना गर्न शाह मिस्किन सनाउल्लाहलाई अनुमति पनि दिएका थिए । उक्त मस्जिद बनेको ठाउँको जग्गा शाह मिस्किन सनाउल्लाहका पितालाई प्रताप मल्लले प्रदान गरेका थिए ।
पृथ्वीनारायण शाहले नेपाल उपत्यका र नेपालको तराइका भूभागहरू विजय गर्दा बारा, पर्सा, रौतहट, सुनसरी, मोरङ, सर्लाही, सप्तरी, कपिलवस्तु, रुपन्देही, बाँकेलगायतका जिल्लाहरुमा पहिल्यैदेखि ठूलो सङ्ख्यामा मुुसलमानहरूको बसोबास रहेको थियो । ती क्षेत्रहरु दिल्लीका सुल्तानको अधीनमा रहेको र प्रत्येक वर्ष १२ सय रुपियाँ दिल्लीका मुगल सम्राटलाई बुझाउने शर्तमा मकवानपुरका जमिनदारहरूलाई चर्चिएर बस्न दिइएको थियो । यसबाट के प्रष्ट हुन्छ भने त्यसबेला नेपालको पूर्वी तराइको धेरैजसो भूभागहरूमा दिल्लीका मुस्लिम शासकको अधिकार रहेको थियो ।

इतिहास विद् पुरूषोत्तम शमशेर राणा लेख्छन्,
“जुद्धसमशेरकी आमा जौहर जयान भारत उत्तर प्रदेशको राजधानी लखनऊ सहरको “नवखास” निवासीसंग धीरशमशेर मोहित हुंदै म्याना (डोली) मा राखी काठमाडौं ल्याए । “राजपूत कन्या” भनी घर “किल्ला कांगडा” भने । यिनै “यवन” नारीबाट धीरशमशेरका १५ औं छोरा जुद्धशमशेर जन्मे । यिनको मावली सन्तान सुरूदेखि आजसम्म देखाउन सक्दैनन् । यिनै “यवन” रक्तले ओतप्रोत भएका यी शाहवंशज राजा दीपेन्द्र हुन्, राजा ज्ञानेन्द्र हुन्, आखिर दुबै “यवन” रक्तले सिञ्चित व्यक्तिहरू हुन् । राजा महेन्द्रले जुद्धशम्शेरका छोरा हरिशम्शेरकी छोरी रत्नसंग विवाह गरेका हुन् ।” (पुरूषोत्तमशमशेर राणा, नयां पत्रिका दैनिक, २०६५ जेठ १६ गते, शाहवंशको इतिवृत्तान्त) ।

तर नेपालको इतिहासमा यो कुरा व्याख्या कहिं कतै गरिएको पाइँदैन ।

नेपालको तराइ, पहाडी र हिमालमा मुस्लिमहरू बसोबास गर्दै आइरहेका छन् । तर हाम्रा इतिहासकारहरुले जब नेपाली मुस्लिमको इतिहास लेख्न थाल्छन्, त्यस समय यो कुरा बिर्सन सक्छन् कि दरबारको नजिक रहेका व्यक्तिहरुको मात्रै इतिहास रहेको छ । हामी यो कुरा बिर्सन्छौ कि तराइ इलाकाका मुस्लिमहरुलाई कसैले ल्याएका होइनन् । तिनी त्यहिंका बसिन्दा हुन् । बरु यसोभन्दा गलत न होला कि हिन्दुस्तानमा मुस्लिमहरु शासन गरिरहेका बेला तराइका बसिन्दाहरु इस्लाम धर्म मानेर मुसलमान बनेका थिए । जस्तै अहिलेको प्रवेशमा धरैजसो हिमाली तथा पहाडी इलाकाका बसिन्दाहरु क्रिश्चियन बनिरहेका छन् । के तिनीहरु अमेरिकाबाट आएका हुन् र ? होइनन् । त्यस्तै नै मुस्लिमहरु पनि नेपाली नै हुन् । त्यसैले यो समुदायको इतिहास लेख्दा ख्याल गर्नु पर्छ कि यिनीहरु कहिं कतै बाहिर देशबाट आएका होइनन् ।