काठमाडौं । अर्जेन्टिनी राष्ट्रिय टोलीका स्टार स्ट्राइकर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेपछि यस विषयमा विभिन्न कोणबाट चर्चा भइरहेको छ ।
यसै क्रममा विश्व फुटबलका महान् हस्ती अर्जेन्टिनाका पूर्वस्टार डिएगो म्याराडोनाले लियोनल मेस्सीमा अझै अर्जेन्टिनीको भरोसा कायमै रहेको बताएका छन् ।
मेस्सीका आलोचक रहँदै आएका म्याराडोना उनकै कप्तानीमा अर्जेन्टिना पछिल्ला ३ वर्ष तीन मुख्य प्रतियोगिताको फाइनलमा पुगेपछि उनको प्रशंसा गर्दै आएका छन् ।
उनले मेस्सीलाई सन्यासको निर्णयमा पुर्नविचार गर्न आग्रह गरेका छन् । म्याराडोनाले अर्जेन्टिनी मिडियासँग कुरा गर्दै मेसीले आगामी विश्वकप खेल्नुपर्ने बताएका हुन् ।
रुसमा सन् २०१८ मा हुने विश्वकपमा मेसीले देशको प्रतिनिधित्व गर्नुपर्ने उल्लेख गर्दै म्याराडोनाले अर्जेन्टिनालाई विश्वविजेता बनाउन मेस्सीले अर्को विश्वकप खेल्नैपर्ने उल्लेख गरे ।
सोमबार बिहान भएको कोपा अमेरिकाकपको फाइनलमा चिलीसँग पराजित भएपछि मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । मेस्सीले सन्यासको घोषणा गरेपछि उनका समर्थकहरु दुःखी भएका छन् ।