काठमाडौं । व्यवस्थापिका संसदमा नेपाली काँग्रेसले जारी राखेको अवरोध हटाउनेबारे सहमति जुटाउन बसेको प्रमुख चारदलीय कार्यदलको बैठक निश्कर्षबिहीन भएको छ ।
कार्यदलको बैठकमा कुनै सहमति हुन नसकेपछि मंगलबार दिउँसो शीर्ष तहमा नै छलफल हुने बताइएको छ ।
भूकम्प पीडितलाई तत्काल एकमुष्ट दुईलाख रुपैयाँ दिनुपर्ने माग गर्दै प्रमुख विपक्षी कांग्रेसले संसद अवरुद्ध गर्दै आएको छ । सोही विषयमा सहमति खोज्नका लागि सोमबार कार्यदल गठन गरिएको थियो ।
मंगलबार विहानै बसेको कार्यदलको बैठकमा दलहरुले आ–आफ्नै अडान कायमै राखेपछि कुनै सहमति हुन नसकेको हो ।
काँग्रेसले भूकम्प पीडितलाई एकमुष्ट दुई लाख रुपैयाँ दिनुपर्ने माग गरेपनि सत्तारुढ एमालेले किस्तामा मात्रै रकम दिन सकिने बताउँदै आएको छ ।
काँग्रेसले भने किस्तामा नै दिने हो भने तत्तकाल दुई लाख र पछि एक लाख दिनुपर्ने बताएको छ । सत्तारुढ एमाओवादीले पनि भूकम्प पीडितलाई सरकारले ३ लाख दिनुपर्ने बताएका छन् ।