काठमाडौं । चिलीले लगातार दोस्रो पटक कोपा अमेरिका कपको उपाधी जितेको छ । सोमबार बिहान भएको फाइनलमा अर्जेन्टिनालाई ट्राइबेकरमा ४–२ ले पराजित गर्दै चिली च्याम्पियन बनेको हो ।
निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटमा समेत गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटमार्फत गरिएको हो । पेनाल्टी सुटआउटमा अर्जेन्टिना दोस्रो पटक चुकेको हो । अघिल्लो संस्करणमा पनि अर्जेन्टिना चिलीसँगै पराजित भएको थियो ।
पहिलो पेनाल्टी प्रहार गरका अर्टुरो भिडालको पेनाल्टी अर्जेन्टिनाका सर्जियो रोमेरोले बचाइसकेको अवस्थामा लियोनल मेस्सी गोल गर्नबाट चुके । उनको पेनाल्टी पोस्ट नजिकैबाट बाहिरिएको थियो ।
पेनाल्टीमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी र लुकास बेग्लियाले गोल गर्न सकेनन् । चिलीका अटुरो भिडाल सुरुको पेनाल्टीमा चुके पनि त्यसपछि सबै खेलाडीले गोल गरेर उपाधि दिलाए ।
निर्धारित तथा थप गरिएको समयमा बलमा नियन्त्रण चिलीका खेलाडीको बढी भएपनि पोस्ट प्रहार भने अर्जेन्टिनाले बढी गरेको थियो । तर गोल गर्न नसक्दा अर्जेन्टिना फेरि एक पटक महत्वपूर्ण समयमा चुक्यो । १४ पटकसम्म उपाधि जितेको अर्जेन्टिनाले पछिल्लो पटक सन् १९९३ मा उपाधि जितेको थियो ।
चिली लगातार दोस्रो पटक उपाधि जित्ने पछिल्लो ६९ वर्षमा पहिलो टिम बनेको छ । यसअघि सन् १९४६ र १९४७ मा अर्जेन्टिनाले लगातार उपाधि जितेको थियो ।
समूह चरणका सबै खेल जितेको अर्जेन्टिनाले क्वाटरफाइनलमा भेनेजुएलालाई ४–१ ले हराएको थियो । सेमिफाइनलमा पनि अर्जेन्टिनाले उत्कृष्ट प्रदर्शन गर्दै अमेरिकालाई ४–० ले हराएर फाइनलमा आएको थियो । तर फाइनलमा पेनाल्टीमा चुक्दा उपविजेतामा सीमित बन्यो ।
समूह चरणमा एउटा खेल गुमाएको चिलीले क्वाटरफाइनलमा मेक्सिकोलाई ७–० तथा सेमिफाइनलमा कोलम्बियालाई २–० ले हराएको थियो । बिहान भएको फाइनल खेलमा चिली र अर्जेन्टिनाका एक एक खेलाडीले रातो कार्ड पाएका थिए ।