काठमाडौं । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालको नेतृत्व प्रत्यक्ष निर्वाचनबाट चुनिने भएको छ ।
नयाँ शक्ति नेपालले पार्टीभित्र अध्यक्षसहित पदाधिकारी र कार्यसमितिका सदस्यहरु सम्पूर्ण पार्टी सदस्यहरुबाट प्रत्यक्ष निर्वाचित हुनुपर्ने प्रावधानसहितको विधान पारित गरेको छ ।
पार्टीको केन्द्रीय कार्यालय बबरमहलमा शुक्रबारबाट जारी केन्द्रीय परिषद सचिवालय बैठकले प्रत्यक्ष निर्वाचनबाट मात्रै नेतृत्व चयन गर्ने निर्णय गरेको नयाँ शक्ति नेपालका प्रवक्ता खिमलाल देवकोटाले जानकारी दिए ।
संगठन विभाग प्रमुख देवेन्द्र पौडेलले प्रस्तुत गरेको विधानमाथिको छलफलपछि केन्द्रीय अध्यक्षलगायत सबै तहका पदाधिकारी र सदस्यहरु सम्पूर्ण साधारण सदस्यबाट निर्वाचित हुनुपर्ने प्रणालीसहितको विधान पारित गरेको प्रवक्ता देवकोटाले जानकारी दिए ।
‘नयाँ शक्तिको आधार तत्व’ नामक राजनीतिक दस्तावेज र ‘विकास र आर्थिक समृद्धिको खाका’ समेतका दस्तावेजहरु कार्यदलले परिमार्जन गरेअनुसार पारित गर्ने, सोका निम्ति निरन्तर सुझाव संकलन गर्ने र महाधिवेशनसम्म परिमार्जन गर्ने समेत निर्णय देवकोटाले बताए ।
सोमबार कार्य विभाजन र तत्कालीन कार्ययोजनालाई छलफलमार्फत पारित गर्दै बैठक समापन गरिने प्रवक्ता देवकोटाले जानकारी दिए ।