माग पूरा नभए कठोर सङ्घर्षमा उत्रने अखिल (क्रान्तिकारी) को चेतावनी

माग पूरा नभए कठोर सङ्घर्षमा उत्रने अखिल (क्रान्तिकारी) को चेतावनी

काठमाडाैं । क्रान्तिकारी माओवादी निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले विगतमा भएका द्वीपक्षीय सहमति तथा वाचाहरु पूरा नगरिएका र उल्टै गरिब तथा निमुखा जनताका छोराछोरीहरुका लागि उच्च शिक्षा पहुँचभन्दा बाहिर पुरयाउने हर्कत थालेको भन्दै उक्त कदम तुरन्त फिर्ता लिन चेतावनीसहित उच्च माध्यमिक शिक्षा परिषद् सानो ठिमीसमक्ष मागपत्र बुझाएको छ ।

अखिल (क्रान्तिकारी) का केन्द्रीय संयोजक सेवन्त राज भण्डारीद्वारा हस्ताक्षरित प्रेसविज्ञप्तिमा भनिएको छ– “धनी र गरीबबीच ठूलो विभेद छ । बहुसंख्यक निजी विद्यालयहरु सामाजिम सेवा भावका लागि नभएर उद्योगका रुपमा सञ्चालन गर्दै सञ्चालकहरु नवधनाढ्यको रुपमा उदाइरहेका छन् । तर राज्य सञ्चालक र सम्बन्धित निकायहरु बेखबर जस्तो भएर निदाइरहेको नाटक गरिरहेका छन् । यी सबै गतिविधिले पुरानै सामन्ती व्यवस्थाको झझल्को दिइरहेको हुनाले हाम्रो गौरवशाली संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) शिक्षामा मौलाइरहेको विकृति विरुद्ध संघर्षमा उत्रन बाध्य भएको छ ।”

विज्ञप्तिमा राखिएका १३ सूत्रीय मागहरुमा अनिवार्य र निशुल्क उच्च शिक्षा, शिक्षासम्बन्धी वैज्ञानिक नीति तर्जुमा, शिक्षक दरबन्दी, भौतिक पूर्वाधार, ल्याब, पुस्तकालयको व्यवस्था, सहकारी मोडलमा शिक्षालय सञ्चालन, शिक्षाको वैज्ञानिक मापदण्ड, निजी उमाविको खारेजी, विद्यालय हाताभित्रै चमेनागृह, पोशाक आदिको विक्रि तथा वितरणको अन्त्य, विद्यालय स्थानान्तरणको सुविधा, लक्षित वर्गका विद्यार्थीलाई छात्रवृत्ति, छाडा संस्कृतिमा रोक, भूकम्प पीडित विद्यालयमा निशुल्क पठनपाठनको व्यवस्था र विगतमा अखिल (क्रान्तिकारी) सँग गरिएका आपसी सम्झौता र समझदारीहरुको कार्यान्वयनको माग गरिएको छ ।

यी माथिका मागहरुको विगतमा झैं बेवास्ता र आनाकानी भएमा कठोर संघर्षमा उत्रने चेतावनीसहित विज्ञप्तिको अन्त्यमा आगामी संघर्षका कार्यक्रमको कार्यतालिकासमेत सार्वजनिक गरिएको छ । जसमा भनिएको छ– “संबन्धित निकायहरुमा माग पत्र पठा्रउने, प्रचार प्रसार गर्ने, अन्तरक्रिया गर्ने, उच्च शिक्षापरिषद् कार्यालय घेराउ गर्ने, शिक्षणसंस्थाहरुमा प्रदर्शन गर्ने, प्रशासन कार्यालयमा तालाबन्दी गर्ने, चर्को शुल्क नतिर्न अपिल गर्ने, विगमा भएका संझौता कार्यान्वयन गराउन कठोर संघर्ष गरिने जनाइएको छ ।