काठमाडौं । अमेरिकामा जारी कोपा अमेरिका कपको उपाधीका लागि गत वर्षको विजेता चिली र अर्जेन्टिना प्रतिस्पर्धा गर्दैछन् ।
नेपाली समयअनसार सोमबार बिहान हुने खेलमा मेस्सीको कप्तानीमा मैदान उत्रदा अर्जेन्टिना २३ वर्षपछि अन्तर्राष्ट्रिय उपाधीको खोजीमा हुनेछ । अर्जेन्टिना पछिल्ला दुई वर्षमा तेस्रो पटक मुख्य प्रतियोगिताको फाइनलमा पुगेको अर्जेन्टिनाले उपाधी भने जित्न सकेको छैन ।
सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपको फाइनलमा जर्मनीसँग पराजित भएको अर्जेन्टिना गत वर्ष चिलीमा भएको कोपा अमेरिका कपको फाइनलमा चिलीसँग ट्राइबेकरमा पराजित भएको थियो ।
कोपा अमेरिका कप आयोजना सुरु भएको एक सय वर्ष पूरा भएको अवसरमा यसपटक अमेरिकामा आयोजित कोपा अमेरिकाकपको ४५ औं संस्करणमा उपाधी जित्दै अर्जेन्टिना सर्वाधिक उपाधी जित्ने उरुग्वेको कीर्तिमानसँग बराबरी गर्न चाहन्छ ।
अर्जेन्टिनाले १४ पटक कोपा अमेरिका कपको उपाधी जितेको छ भने उपाधी रक्षा गर्ने इतिहास अर्जेन्टिना र ब्राजिलको नाममा रहेको छ । सोमबार बिहान मैदान उत्रिदा अर्जेन्टिना मुख्य खेलाडी लियोनल मेस्सीको भरमा हुनेछ भने चिलीलाई एलेक्सिस सान्चेज र भार्गासको साथ रहनेछ ।
जारी प्रतियोगितामा मेस्सीले १९ मिनेटमा पनामाविरुद्ध ह्याट्रिक सहित ५ गोल गरिसकेका छन् । पाँच पटकका बालोन डि’ओर विजेता मेस्सीले फुटबलमा सबै उपलब्धी हात पारेपनि अर्जेन्टिनाका लागि एक पटक पनि उपाधी जिताउन सकेका छैनन् ।
उनका आलोचकहरुले अर्जेन्टिनाको राष्ट्रिय गीत नगाउने गरेको, अर्जेन्टिनाबाट राम्रो नखेल्ने तथा कप्तानी गर्न नसकेको जस्ता आरोप लगाउने गरेका छन् । मेस्सीले भने् यसपटक आफूहरुले जसरी पनि उपाधी जित्ने दावी गरेका छन् ।