काठमाडौं । स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठद्वारा अभिनित अन्तिम चलचित्र ‘कोहिनुर’ युट्युबमा सार्वजनिक भएको छ ।
नेपाली चलचित्रको इतिहाँसमा सबैभन्दा सफल भएको यो चलचित्रले नेपालमा भव्य कारोबार गरेको थियो । चलचित्र प्रदर्शन सुरु भएको भोलिपल्ट अर्थात २०७१ साल साउनमा नायक श्रेष्ठको निधन भएपछि श्रद्धाञ्जीस्वरुप दर्शक फिल्म हेर्न हलहरुमा ओइरिएका थिए ।
सोही वर्ष असार २३ मा नायिका स्वेता खड्कासँग विवाहबन्धनमा बाँधिका उनी हनिमुन मनाउन गएकै समयमा विरामी परेपछि उपचारका लागि दिल्ली लगिएको थियो ।
दिल्लीमा नै उनको निधन भयो । उनी अभिनित कोहिनुर नेपालसँगै अष्ट्रेलिया, मलेसिया, अमेरिका, दक्षिण कोरिया लगायतका देशमा प्रर्दशन समेत भइसकेको छ ।
नेपालमा करिब १२ करोडको व्यापार गरेको भनिएको यो चलचित्र अब युट्युबमा सार्वजनिक भएको हो ।
आकाश अधिकारीले निर्देशन गरेको ‘कोहिनूर’ मा श्रीकृष्ण र पत्नी स्वेताले नै लगानी गरेका हुन् । मुम्बईको कोठीमा जीवन चलाउन विवश नेपाली युवतीको कथामा आधारित यो चलचित्रमा श्रीकृष्णसँगै स्वेताको मुख्य भूमिका रहेको छ ।