गोविन्द केसीको माग– अख्तियार प्रमुख लोकमानलाई महाअभियोग लगाउ

प्रकाशित मिति : २०७३ असार १२

Govinda kcकाठमाडौं । मेडिकल माफियाविरुद्ध पटक पटक अनसन बसेर चर्चा बटुलेका चिकित्सक डा.गोविन्द केसीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनुपर्ने माग अघि सारेका छन् ।

आइतबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा नै पत्रकार सम्मेलन गरी अख्तियार प्रमुख कार्कीलाई महाअभियोग सहितको माग राखेर आफ्नो माग पूरा गराउन सरकारलाई असार २६ गतेसम्मको अल्टिमेटम दिएका छन् ।

अख्तियार प्रमुख कार्कीले आफ्ना र आफ्ना मान्छेहरुको निहीत स्वार्थका लागि मेडिकल शिक्षाको क्षेत्रमा हस्तक्षेप गरेको डा.केसीले आरोप लगाए । कार्कीलाई महाअभियोगसहित चार बुँदे माग पूरा नभए असार २६ देखि पुनः आमरण अनसन बस्ने केसीले बताए । यसअघि सातौ पटकसम्म अनसन बसेका केसीसँग हरेक पटक सम्झौता हुँदै आएको छ ।

डा. केसीले लोकमानको मतियारको रुपमा काम गर्ने अन्य सम्बन्धित आयुक्तहरुलाई पनि कारवाही गर्न माग गरे । कार्कीले हालै काठमाडौं युनिभर्सिटीको मेडिकल प्रवेश परिक्षामासमेत हस्तक्षेप गरेको केसीको आरोप छ ।

डा. केसीले चिकित्सा शिक्षा ऐनको मस्यौदामा सुधार गर्न र संसदको यसै अधिवेशनबाट पारित गर्न पनि माग गरेका छन् । उनले सबै सरकारी मेडिकल शिक्षण संस्थाको आर्थिक भार सरकारले व्यहोर्ने र शिक्षा पूर्ण निःशुल्क हुनुपर्ने माग अघि सारेका छन् ।

केसीले सबै मेडिकल शिक्षामा अधिकतम शुल्क र सीट निर्धारण गर्न, अगामी शैक्षिक सत्रदेखि केन्द्रिय प्रवेश परीक्षाको व्यवस्था गर्न, मनमोहन मेडिकल कलेजसम्बन्धी बिद्येयक फिर्ता गर्न, विगतमा आफूसँग भएका सम्झौताहरु कार्यान्वयन नभएको बताए ।

केसीको मनोगत लान्छना, छुद्रता र अराजकताः अख्तियार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भने बरिष्ठ चिकित्सक डा. केसीले अख्तियार प्रमुखमाथि मनोगत लान्छना लगाएको भन्दै आपत्ति जनाएको छ । आयोगले आइतबार नै विज्ञप्ति जारी गर्दै आयोगका प्रमुख आयुक्त तथा आयुक्तहरुमाथि मनोगत लाञ्छनासहित महाभियोग एवं कारबाहि प्रक्रिया अघि बढाउन राखेको मागप्रति भत्र्सना गरेको छ ।

भ्रष्टाचार, अनाचार एवं सबैखाले बिसंगति बिरुद्दको महाअभियानमा क्रियाशील आयोगका माननीय प्रमुख आयुक्त र आयुक्तहरु प्रति लक्ष्यित डा. केसीको सो माग छुद्रता, अराजकता र अस्वस्थ मानसिकताको द्योतक भएको अख्तियारको विज्ञप्तिमा उल्लेख छ । अख्तियारले डा.केसीको मागलाई सन्देहयुक्त भएको आरोप लगाएको छ ।