बिश्वका बिभिन्न खतरनाक युद्धहरु जुन लम्ब्याइदै गरिएका थिए र छन् तिनमा पछिल्लो भनेजुएला अतिक्रमण तथा त्यसपछि ग्रिनल्याण्ड हडप्ने अमेरिकी साम्राज्यबादको उदण्ड हठले बिश्वभरी नै मानिसहरुमा पहिले कहिल्यैभन्दा गम्भीर र निकै गहिरो चिन्ता बढाएको छ । युद्धको सन्देहलाई कम गर्नु जहिले पनि बिश्वका लागि एउटा निकै सार्थक उदेश्य रहँदै आएको हो । तर पछिल्लो समय बिकसित कतिपय बिशेष कारणले गर्दा हालैको समयमा युद्ध रोक्ने अभियानलाई बढी सशक्त बनाइनु पर्ने आवश्यकता पहिलाभन्दा कयौं गुणा बढी बढेको छ । दुइ बर्षभन्दा बढी समयदेखि यूक्रेनमा चलिरहेको नाटो र रुस बीचको ‘प्रोक्सी वार’ अनि एक बर्षभन्दा बढी समयदेखि चलिरहेको प्यालेस्टिनीमाथिको अतिक्रमण घोर दमन र हत्या तथा गाजा हुदै लेबनानसम्म फैलाइएको नृशंश नरसंहार पनि अमेरिकी समर्थनको इजरायली आक्रमण बाहेक अरु केही होइन, थिएन भन्ने कुरा जग जाहेर छ । त्यसमा अरु त अरु नेपाल पनि साम्राज्यबाद र युद्धको पक्षमा तानिएको छ र आफ्नो असंलग्न परराष्ट्र सम्बन्धको परम्परालाई लत्याउदै बिनाशकारी युद्धको पक्षमा लतारिदै छ । यस्ता कुराहरुबाट जोगिदै र सच्चिदै बिश्व शान्ति र युद्धको बिपक्षमा छिमेकी र अन्य शक्ति राष्ट्रहरुसँग अनाक्रमण सन्धि गर्न नेपाल जस्ता देशहरु लाग्नु र खडा हुन अत्यन्त जरुरी छ । अन्यथा नेपाललाई पनि असैह्य युद्ध र महाबिनाशको शिकार हुनबाट कसैले रोक्न सक्ने छैन । बिश्व यतिबेला अत्यन्तै खतरनाक महायुद्धको सँघारमा पुगिरहको स्थिति बिकसित भइरहेको छ ।
त्यसैले अहिले चालु नरसंहारकारी युद्धको पहिलो चिन्ताको सबैभन्दा ठूलो कारण त के हो भने महाबिनाशक हात हतियारको उपलब्धीबाट युद्ध आजका दिनमा असैह्यहदसम्मको अत्यन्तै बिनाशक बन्न पुगेको छ । यतिबेला बिश्वका नौवटा देशहरुसँग परमाणु हात हतियार रहेका छन् । अनि अरु कतिपय देशमा अमेरिका र रुसका हतियार तैनाथ गरिएका या भण्डारण गरिएका छन् । अनि कतिपय देशहरुमा लुकाइ छिपाई राखिएका रासायनिक तथा जैबिक हतियार भएको पनि संभावना तथा आशंका रहेको छ । सामान्य मानिने हात हतियार पनि पहिलाभन्दा अत्याधिक बिध्वंशकारी स्तरका बनिसकेका छन् ।
अर्को यसको महत्वपूर्ण कारण के छ भने बिश्वमा जलवायु परिबर्तन जस्ता कतिपय अति गम्भीर पर्याबरणीय समस्याहरु पनि उपस्थित छन् । जसले पृथ्वीको जीवनदायिनी क्षमतालाई नै खतरामा धकेलिदिन सक्छन् र धकेलिरहेका छन् । यसको रक्षाका लागि निकट अन्तर्राष्ट्रिय सहयोग र अमन चयनको सकारात्मक माहोल चाहिन्छ । छिमेकी देशहरुका बीच बिशेष गरेर बढ्दो सहयोग र त्यसको निरन्तरताको आवश्यकता अझ बढेको छ । युद्धको माहोलमा त्यस्तो सहयोग उपलब्ध हुन सक्तैन । युद्ध या युद्धको माहोलमा बढ्दो अन्तर्राष्ट्रिय सहयोगलाई निरन्तरता प्राप्त गर्न सम्भव हुँदैन । तेश्रो ठूलो कारण के छ भने युद्ध मानब जीवनका लागि अत्यन्तै बिनाशकारी हुनुका साथसाथै यो एउटा ठूलो प्रदूषकको माध्यम पनि हो ।
ग्रीन हाउस ग्यासको एउटा ठूलो श्रोत युद्ध र युद्धको तयारी हो र धेरैजसो अन्य प्रदुषण हतियार निर्माण र तैनाथी आदिसँग जोडिएका हुन्छन् । जहाँ एकारितर युद्ध र युद्धको आशंकालाई कम गर्नु पहिला कहिल्यैभन्दा धेरै आश्वयक हुन गएको छ भने यहाँ अर्को दुःखद सत्य के छ भने हालैको दशकमा चलेका बिभिन्न युद्धहरुले नराम्रोसाग बर्बादी निम्त्याइसकेको छ । सम्भवतः सबैभन्दा ठूलो चिन्ताको कुरा यो छ कि परमाणु हतियारहरको उपयोगको आशंका बिभिन्न कारणले अझ बढेको छ । यस प्रकारका परमाणु शस्त्रास्त्रको उपयोको आशंका रोक्नका लागि जुन सम्झौताहरु अमेरिका र रुसमा पहिलादेखि नै रहेका थिए तिनको पनि नबिकरण हुने गरेको छैन।
यस्तो बिकट र भयावह परिस्थितिमा यो कुरा बिश्वस्तरमा अत्यन्तै आवश्यक हुन पुगेको छ कि युद्धको आशंकालाई रोक्नका लागि र अमन चयन कायम राख्नका लागि आबश्यक सबै पहल र प्रयासहरुलाई अझ प्रभावकारी र सबल तुल्याइनु पर्दछ र त्यसलाई निरन्तरता दिइरहनु पर्दछ र यसलाई एउटा ठूलो बिश्व जन अभियानकोरुप दिइनु पर्दछ । यसो गर्नुपर्ने आबश्यकता पहिलादेखिनै पनि थियो । तर शान्ति र अमनचैयनका जन अभियानकोे आवश्यकता आज अझ बढेको छ त्यस्तो हिजो कहिल्यै बढेको थिएन । यस प्रकारको अभियानलाई सबल बनाउनका लागि शान्ति अभियानलाई महिला आन्दोलन, न्याय, समानता र जनतन्त्रको आन्दोलन र अभियानसँग निकट तुल्याइनु र जोडिनु पर्दछ । परिबार तथा स्कूल कलेज जस्ता सबैभन्दा महत्वपूर्ण संस्थाहरुमा युद्धका बिरुद्ध र शान्ति सुब्यवस्थाका पक्षमा तिनलाई सबल बनाउने सन्देश दिइनु पर्दछ । बिभिन्न देशहरुको अमन चयन र शान्तिको आन्दालनहरुले एक अर्का देशको आन्दोलनलाई सहयोग गर्ने खालको समुचित अवसर प्रदान गर्ने बातावरण बनाइनु पर्दछ । अनि कला, सँस्कृति, सञ्चार माध्यमहरुको स्तरको आदान प्रदानको पनि यस अभियानमा सार्थक भूमिका हुन सक्तछ । शान्ति सुब्यसथाको सन्देशलाई सबल तुल्याउन महिलाहरुको बहुतै महत्वपूर्ण भूमिका हुनसक्छ । पाठ्यक्रमहरुमा बिभिन्न स्तरमा शान्ति र सुब्यस्थको सन्देशलाई महत्व दिन सकिन्छ । आधुनिक युद्ध कत्ति खतरनाक भइसकेको छ र यस खतराबाट बच्न अत्यन्तै आवश्यक छ भन्ने समझदारी बिभिन्न स्तर र तहका मानिसहरुका बीच पनि पुग्नु पर्दछ ।
यतिबेला के प्रश्न धेरैजसो बिश्लेषकहरुले सोधिरहेका छन् भने निकट भबिष्यमा कुन महाशक्तिको दबदबा बढी तीब्रताकासाथ बढ्ने छ ? यो प्रश्न राजनीतिक, सामरिक र आर्थिक सबै सन्दर्भमा सोधिन थालेको छ । तर यो भन्दा पनि आधारभूत कुरा के छ भने जबसम्म बिश्वमा आधिपत्यको होडबाजी चलिरहन्छ तबसम्म बिश्वको तनाव हटाउन सकिने छैन । अनि हामी एउटा युद्धबाट अर्को युद्धतर्फ नै गइरहेका हुन्छौ । यो बिश्वमा आधिपत्यको दौड मानब इतिहासमा बहुतै बिनाशकारी युद्ध हुँदै आएका छन् । बीसौं शताब्दी दुइटा बिश्व युद्ध भइसकेका छन् । त्यसबेलादेखि अहिलेसम्म बिश्वमा बिनाशकारी शस्त्रास्त्रको मार हान्ने क्षमता हजारौं गुणा बढिसकेको छ । अनि यत्तिका धेरै परमाणु हतियार भण्डारणमा छन् कि तिनले बिश्वका अधिकांश मानब अस्तित्वलाई कयौं पटक ध्वस्त पार्न सक्दछन् । अनि यो पृथ्बीको ठूलो क्षेत्रलाई बिषालु र बसिनसक्नु पनि बनाउन सक्छन् ।
अर्को एकदमै ठूलो चूनौति हाम्रा अगाडि के छ भने आधिपत्यको यस दौडलाई बिना कुनै ठूलो हिंसा समाप्त पारिनै पर्छ । एकातिर त यत्तिका बिध्वंशकारी हतियाहरुको भण्डार मात्र पनि कम खतरनाक हुँदैन अर्कोतिर त्यस्ता डरलाग्दा हतियारबाट सुसज्जित महाशक्तिहरु निरन्तर सन्देह र तनाब तथा दुश्मनीको स्थितिमा रहिरहँदा कुनै पनि समयमा नचिताएको घटना घट्न सक्तछ । अतः समय छँदै यस्ता तनाब र दुश्मनीहरु तथा आधिपत्यको होडको शान्तिपूर्ण समाधान निकाल्नु अत्याबश्यक छ । यसका लागि सामरिक, राजनीतिक, आर्थिक तथा ब्यापारिक सबै स्तमा प्रयास गरिनु पर्दछ । यो एउटा ठूला प्रश्न हो कि के यस्तो ठूलो आबश्यक परिबर्तन अमन चैनको माहोल ल्याउन सकिएला त ? हो, यस किसिमको क्षमता बिकास गर्न आज बिश्वका लागि एकदमै आवश्यकता र चूनौति बन्न गएको छ ।
समाजबादी सोभियत संघको बिघटन बाह्य र आन्तरिक कारणले जसरी बिना युद्ध नै हुन पुग्यो त्यसपछि धेरैले बिश्वमा शीत युद्ध समाप्त भएर शान्ति सुब्यवस्थाको काल खण्ड आरम्भ हुने अवसर आएकोे आकलन गरेको थियो तर त्यसो हुन सकेन । कारण उही थियो आधिपत्यको प्रबृत्ति । सोभियत संघको बिघटनपछि बिश्वका शक्तिशाली पूँजीवादी देशहरुले सोचे कि त्यो बेला बिघटित रुसलाई अझ दबाउने र कमजोर पार्ने समय हो । तर रुसले आफ्नो सामरिक शक्तिको एक सीमासम्म रक्षा गर्न सक्यो । बढ्दो पश्चिमा बल मिचाईले गर्दा पुनः नयाँ युद्धको स्थिति उत्पन्न भयो ।
त्यसले गर्दा युद्ध र अशान्तिलाई नाफाको सर्बोत्तम माल मान्ने पूँजीवादी नाफखोर प्रबृत्तिमा कुनै परिबर्तन आउदैन भन्ने कुरा नै फेरि पनि रहिरहेकै छ र पुनर्पुष्टी भएको छ । यसले नाफाका लागि जसरी नरसंहार मच्चाउन समेत कत्ति आपत्ति मान्दैन भन्ने यथार्थ पटक पटक छर्लंग हुदै आएको छ । त्यसैले हर तरहले बिश्व शान्ति आन्दोलनलाई सबल बनाउन र दबाब सिर्जना गर्न निरन्तर बिश्व स्तरमै लागि रहनु पर्ने र अशान्ति र तनाबको माहोललाई घटाउने दिशामा लाग्नुको कुनै बिकल्प छैन । तर केवल शान्तिको अपेक्षा गर्नु मात्र पर्याप्त हुँदैन ।त्यसैल आज युद्ध रोक्न शान्तिको आन्दोलनलाई सबल तुल्याउने उपायहरु के हुन्छन् या छन् ती सबैको सर्बत्र खोजी गरिनु अत्यावश्यक भइसकेको छ ।
यसका अतिरिक्त महाबिनाशकारी हतियार र अन्य अति बिध्वंशक हतियारहरुको प्रसार रोक्नका लागि र तिनको बास्तबिक उपयोगको सम्भावनालाई रोक्नका लागि अति आबश्यक सबै प्रयाशको खोजी र तिनको निरन्तरता जारी राखिनु पर्दछ ।त्यसका लागि अन्तर्राष्ट्रिय स्तरमा सम्झौता आवश्यक हुन्छ नै । यति बेला त थप चिन्ताको बिषय के पनि छ भने यस सम्वन्धमा पहिलादेखि नै भएका सम्झौताहरुको नबिकरण समेत समयमा हुने गरेको छैन । ती सम्झौताहरुको महत्वका बारेमा पनि ब्यापक स्तरमा जन जागृति जरुरी छ । समग्रमा अन्तर्राष्ट्रिय तनावहरुलाई सुल्झाउनका लागि शान्ति आन्दोलनलाई सघन तुल्याइनु र नया उच्च स्तरमा उठाउन बिशेष पहलहरु गरिनु र जन आन्दोलनहरुको बिकास गरिनु पर्दछ । यस्तो बिश्व शान्ति आन्दोलनको चौतर्फी ब्यापक दबाब र युद्धको घोर बिरोध बिना बिश्व परमाणु युद्ध र त्यसको अपूर्ब र भयावह खतराबाट मुक्त हुन सकिने छैन । परिणाम अपूर्ब बिनाशलिला र पछुताउनु बाहेक अरु केही रहने छैन भन्ने निष्कर्श बिश्वका बस्तुबादी बिश्लेषकहरुले निकालिरहेका छन् । यसले बिश्व शान्ति आन्दोलनलाई ब्यापक, सघन र गहिरो तुल्याउन शान्तिकामी जन समुदाय र तिनको सही प्रतिनिधित्व गर्ने शक्तिहरुको सक्रिय अग्रसरता अति आवश्यक छ । बिश्वभरीका जनता युद्धका बिरुद्ध, बिनाशकारी र घातक हतियारका बिरुद्ध युद्ध बिरोधी महासागर बनेर दृढताकासथ खडा हुनु अपरिहार्य र अनिवार्य बनेको छ । अहिले भेनेजुएलमाथिको साम्राज्यबादी आततायी आक्रमणपछि बिश्वब्यापी बिरोधमा उठेको जन सागले पनि जनताको युद्ध बिरोधी र शान्ति आन्दोलनको ठूलो महत्व छ भन्ने यथार्थ औंल्याएको छ ।





























