विकास बैंक चम्किए, आधावर्षमै ३ अर्बभन्दा बढी नाफा

विकास बैंक चम्किए, आधावर्षमै ३ अर्बभन्दा बढी नाफा

 

काठमाडौँ । राष्ट्रिय स्तरका विकास बैंकको मुनाफा उछाल देखिएको छ । बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२।०८३ को दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार अधिकांश बैंकको नाफा उल्लेख्य सुधार आएको हो ।

६ महिनामा हाल सञ्चालनमा रहेको ८ विकास बैंकले ३ अर्ब ३१ करोड ११ लाख ७६ हजार रुपैयाँ नाफा आर्जन गरेको छन् । उक्त नाफा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा २७।९७ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको ६ महिनामा बैंकहरुले २ अर्ब ५८ करोड ७५ लाख रुपैयाँ नाफा कमाएका थिए ।

सर्वाधिक नाफा आर्जन गर्नेमा मुक्तिनाथ विकास बैंक पहिलो नम्बरमा रहेको छ । बैंकको नाफा ३३।५७ प्रतिशतले बढेर ६७ करोड २० लाख रुपैयाँ पुगेको हो । गत आर्थिक वर्षको सो अवधिमा बैंकको नाफा ५० करोड ३१ लाख रुपैयाँ रहेको थियो ।

पुष मसान्तसम्मको अवधिमा धेरै नाफा आर्जन गर्ने दोस्रो नम्बरमा गरिमा विकास बैंक छ । बैंकको नाफा १५।६३ प्रतिशतले बढेर ६३ करोड ५१ लाख रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा क्रमशः शाइन रेसुङ्गाको मुनाफा २२।१९ प्रतिशतले बढेर ४० करोड ४२ लाख, कामना सेवा विकास बैंकको २२।३४ प्रतिशतले बढेर ३९ करोड ४५ लाख, ज्योति विकास बैंकको २४।४४ प्रतिशतले बढेर ३१ करोड १२ लाख, महालक्ष्मी विकास बैंकको ६।४१ प्रतिशतले बढेर ३० करोड ५९ लाख र सांग्रिला डेभलपमेन्ट बैंकको ५३।९५ प्रतिशतले बढेर ३० करोड २५ लाख रुपैयाँ पुगेको छ ।

राष्ट्रिय स्तरका विकास बैंकमा पुच्छरमा लुम्बिनी विकास बैंक रहेको छ । बैंकको नाफा ९३ प्रतिशतले बढेपनि २८ करोड ५३ लाख रुपैयाँमा सीमित रहेको हो ।