दलीय संकटका सन्दर्भमा बढ्दो सुरक्षा खर्च   

दलीय संकटका सन्दर्भमा बढ्दो सुरक्षा खर्च   

डा. केशव देवकोटा

 

नेपालमा एकातिर दलीय संकट बढिरहेको छभने अर्कातिर आगामी निर्वाचनको बहानामा सुरक्षा खर्चमा पनि अत्यधिक बृद्धि भएको देखिएको छ । नेपाली कांग्रसमा गतसाता जसरी एकाएक बिभाजन भयो, त्यसले मुख्यत संसदवादी दलहरुमा बढेको संकटलाई उजागर गरेको छ । खासमा अधिकांश संसदवादी दलहरुको अवस्था संकटग्रस्त रहेको छ । नेपालमा देखिएको दलीय संकट र सेना परिचालनको अवस्थाको बिषयलाई लिएर बिभिन्न कोणबाट ब्याख्या र बिश्लेषणहरु हुनथालेका छन् । गत भदौ २३ र २४ गते भएको बिध्वंशले देशमा आर्थिक, सामाजिक र राजनीतिक संकट बढाउने काम गरेको छ । सोही बिध्वंशलाई आधार बनाएर संसद बाहिरबाट प्रधानमन्त्रि नियुक्त गर्नुकासाथै त्यसरी नियुक्त प्रधानमन्त्रिको एकल सिफारिसका आधारमा संसद बिघटन गरिएका कारण देशको कानूनी राज्यको जगनै हल्लिएको अवस्था छ । उक्त बिध्वंश राजनीतिक थिएनभन्ने कुरा पछिल्ला घटनाक्रमहरुले स्पष्ट गरेका छन् । कुनैपनि राजनीतिक बिद्रोहले राजनीतिक ब्यवस्थाकै परिवर्तन गराउने काम गर्दछ । तर गत भदौमा भएको उक्त बिध्वंश त्यतिबेलाको नेपाली कांग्रेस र एमालेको गठबन्धन सरकार गिराउनमात्र केन्द्रित थियोभन्ने कुरा हाल आएर दिनको घाम जतिकै स्पष्ट भैसकेको छ । तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र पूर्ब माओवादी नेता डा. बाबुराम भट्टराईका पछिल्ला दिनका भनाई र काम गराईले पनि उपरोक्त कुराको पुष्टिगरेका छन् । देशको राष्ट्रिय सम्पतिमाथि भएको त्यो प्रहार र बिध्वंशको उहाँहरुले खुलेर समर्थन गरेको देखिएको छ । गत भदौ २७ को घटनाले नेपालमा प्रमुख दलहरुलाई किनारा लगाउन खोजेको र त्यसका पछाडि भारतीय शक्ति हाबि रहेको पनि कतिपय घटनाक्रमहरुले स्पष्ट गरेका छन् । नेपालमा राजनीतिक संकट बढ्दैगएको अवस्थामा यहाँका संसदवादी दलका नेताहरुको दिल्ली आवत–जावत पनि बढेको देखिएको छ । पूर्ब राजादेखि पूर्ब माओजादी केन्द्रका नेताहरुको दिल्ली दौडले धेरै कुराहरु स्पष्ट भएका छन् । जसका कारण नेपाली कांग्रेस र एमालेमामात्र नभएर स्वयं गत भदौ २३ र २४ को बिध्वंशलाई खुलेर समर्थनगर्दै आएको पुष्पकमल दाहाल नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीमासमेत संकट बढेको देखिएको छ ।

नेपाली कांग्रेस र एमालेलाई बिभाजन गराउन र अन्य पार्टीहरुलाई एकजुट गराउन पछिल्ला दिनमा भएका प्रयासले पनि धेरै कुराहरुको रहस्योद्घाटन गरेका छन् । नेपाली कांग्रेसमा नेतृत्व परिवर्तन गराउने र नभए फार्टीलाई बिभाजनमा पु¥याउने गतिबिधिहरु गत भदौदेखि नै तीब्र भएका थिए । नभन्दै गतसाता नेपाली कांग्रेस बिभाजित भएको छ । सो पार्टीका तत्कालीन महामन्त्रिद्वयले खेलेको भूमिका सन्देहास्पद रहेको थियो र छ पनि । त्यसैगरी एमालेबाट पनि खासगरी अध्यक्ष ओलीलाई किनारा लगाउन अझै पनि अथक प्रयास भैरहेको देखिएको छ । गत मंसिर २७–२९ मा भएको एमालेको ११ औं महाधिवेशनमा अध्यक्ष केपी ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच अध्यक्ष पदमा भएको प्रतिश्पर्धाले सो पार्टी पनि झण्डै बिभाजन भएको थियो । हालसम्म पनि आगामी फागुनमा हुने भनिएको निर्वाचनका लागि उम्मेदवार र पार्टीका बिभिन्न समितिका पदाधिकारीहरुको छनोटका सन्दर्भमा प्रतिश्पर्धा भैरहेको देखिएको छ । दुवै पक्ष पार्टीका दोश्रोस्तरका प्रभावशाली नेताहरुलाई आआफ्नो पक्षमा पार्न हालसम्म पनि लागिपरेको पाइन्छ । एमालेले संसदको पुनस्र्थापनाका लागि सर्बोच्च अदालतमा रिट पनि दायर गरेको छभने आगामी फागुन २१ को निर्वाचनमा भाग लिन निर्वाचन आयोगमा पार्टी पनि दर्ता गरेको छ । संसद पुनस्र्थापनासम्बन्धी रिटमाथि हालसम्म टुंगो लाग्न सकेको छैन । हालसम्मका बिभिन्न गतिबिधि र भैरहेका बहसहरुले संसदको पुनस्र्थापना नहुनुपर्ने कुनै कारण देखिएको छैन । सो कुरालाई बुझेका नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्ब माओवादी नेता पुष्पकमल दाहाललेभने निर्वाचनको वातावरण बनाउन सबै राजनीतिक दलहरुको सहमति आवश्यक रहेको बताउन थाल्नुभएको छ । उहाँको दृष्टिमा हालको अवस्थामा निर्वाचन नै सबै समस्याको समाधान गर्ने÷गराउने एकमात्र उपाय हो भन्ने रहेको छ । उहाँको प्रयास त्यस्तो सहमति जुटाउनेमा केन्द्रित रहेको देखिएको छ । पछिल्ला कतिपय कार्यक्रममा उहाँले आफ्नो पार्टी अब कि सच्चिने र नभए सक्किने अवस्था रहेको पनि बताउने गर्नुभएको छ ।

अर्कातिर सरकारले आगामी फागुन २१ मा हुने भनिएको प्रतिनिधिसभाको निर्वाचनलाई ध्यानमा राखेर भित्रभित्रै सेना परिचालन थालेको देखिएको छ । त्यसैगरी छिमेकी चीन र भारतले पनि नेपालमा बढ्दो राजनीतिक अस्थिरता र बिध्वंशका गतिबिधिलाई ध्यानमा राखेर नेपालतर्फको सीमामा कडा सुरक्षा प्रबन्ध गरेका समाचारहरु बाहिर आएका छन् । क्रान्तिकारी कम्युनिष्ट पार्टी र जेनजीका कतिपय समूहहरुले देशभक्त र बामपन्थीहरुको संयुक्त सरकारको मागगर्दै आन्दोलन थालेका समाचारहरु पनि बाहिर आउन थालेका छन् । जसका लागि क्रान्तिकारी कम्युनिष्ट पार्टीले बिभिन्न कार्यक्रमहरु सञ्चालनगर्दै गतसाता उपत्यका बन्द समेत गरेको छ । दोश्रो संविधानसभा र त्यसयताका कुनैपनि निर्वाचनहरुमा भाग नलिएको क्रान्तिकारी कम्युनिष्ट पार्टीले आफ्नो अभियानलाई निरन्तरता दिएको छ । प्रधानमन्त्री सुशीला कार्कीलेभने आगामी फागुन २१ मा हुने भनिएको निर्वाचनको सुरक्षाको जिम्मेवारी पूरागर्न नेपाली सेनालाई निर्देशन दिइसक्नु भएको अवस्था छ । गत महिना नै सैनिक मुख्यालयको निरीक्षणकाक्रममा प्रधानमन्त्री कार्कीले उपरोक्त निर्देशन दिनुकासाथै आवश्यक तयारीको निरीक्षणसमेत गर्नुभएको थियो । उहाँले त्यसक्रममा सरकारलाई प्राप्त जिम्मेवारी बमोजिम शान्तिसुरक्षाको प्रत्याभूतिसहित घोषित मितिमा स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्नगरी राष्ट्रिय अभिभारा पूरागर्ने अभियानमा सेनाको प्रमुख भूमिका रहेको बताउनुभएको थियो । उहाँले जनतालाई सुरक्षाको प्रत्याभूति दिन, प्रहरी कारवाहीलाई सहजीकरण, सहयोग र सुरक्षितगर्न तथा सबै राजनीतिक दलका राजनीतिक गतिविधिलाई बिनाअवरोध सञ्चालनगर्ने वातावरण सिर्जनागर्न स्पष्ट कार्ययोजनासहित अघिबढ्न निर्देशन दिन्छुसमेत भन्नुभएको थियो । प्रधानमन्त्रीले जेनजी आन्दोलनकाक्रममा लुटिएका र हराएका हातहतियारको खोजतलाससहित नियन्त्रणमा लिन प्रहरीलगायत सुरक्षा निकायसँग आवश्यक सहकार्यगर्न, मुलुकमा शान्ति सुरक्षा सुनिश्चितगर्न तथा फरार अपराधीलाई पक्रन खटिएका प्रहरीलाई सहयोगगर्न पनि सेना निर्देशन दिनुभएको थियो । त्यसैगरी नेपाली सेनाले बिद्यमान सुरक्षा अवस्था, प्रमुख चुनौती र आगामी योजनाबारे ब्रिफिङ­ गरेको थियो । निर्वाचन सुरक्षामा सेना परिचालनको योजना र ढाँचाबारे पनि प्रस्तुतीकरणसमेत दिइएको थियो । राष्ट्रपति रामचन्द्र पौडेलले गत महिनानै आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि नेपाली सेना परिचालनगर्ने स्वीकृति प्रदान गरिसक्नु भएको थियो र आवश्यक तयारी पनि थालिएको थियो ।

माघ भित्रमा संसद पुनस्र्थापनासम्बन्धी रिटको समेत टुंगोलाग्ने भएकाले त्यसपछि नेपालको भाबि राजनीतिको रुपरेखा तयार हुने ठानिएको छ । भनिन्छ तीन चरणमा सेनालाई परिचालनगर्न लागिएको छ । मन्त्रिपरिषद्ले गरेको निर्णय, सिफारिसको आधारमा गतसाता राष्ट्रपति पौडेलले सेना परिचालनगर्ने स्वीकृति दिनुभएको थियो । भनिन्छ मन्त्रिपरिषद्को निर्णय र सिफारिसको आधारमा तिन चरणमा सेना परिचालन गरिँदैछ । जसमा चारवटा सुरक्षा निकायकागरी तीनलाख १५ हजार सुरक्षाकर्मी परिचालन गरिने भनिएको छ । एकीकृत निर्वाचन सुरक्षा योजनाअनुसार ७९ हजार सेना खटिने भएको बताइन्छ । संसद पुनस्थापना भएको खण्डमा पनि अस्थिरता मच्चिने आंकलनहरु भैरहेका छन् । नेपाली कांग्रेसको देउवा समूहले पार्टीको आधिकारिताका बिषयमा निर्वाचन आयोगले गरेको निर्णयबिरुद्ध हिजो आइतबार सर्वोच्च अदालतमा रिट दर्ता गरेपछि नयाँ राजनीतिक संकटको अवस्था सिर्जना भएको छ । निर्वाचन आयोगको गगन थापालाई मान्यता दिने निर्णय बदर भोली माघ छगतेको निर्वाचनका निम्ति उम्मेदवार मनोनयन स्थगन र नयाँ निर्वाचित कार्यसमिति अवैधानिक भएको जिकिरगर्दै सर्वोच्चमा रिट दर्ता भएपछि हिजैबाट सरकार संकटमा परेको ठानिएको छ । यसरी देशमा जन पक्षीय संविधान र राजनीतिक ब्यवस्था नभएका कारण देशको बार्षिक बजेटको ८३ प्रतिशतसम्म राजनीतिक परिचालन र सुरक्षमा खर्च हुन थालेको छ । जसलेगर्दा नेपालमा विकास र परिवर्तन भन्ने कुरा केवल नारामा मात्र सीमति रहन थालेको छ ।

बर्तमान सरकारले बिघटित संसदमा रहेकामात्र नभएर त्यस बाहिर रहेका दलहरुलाई समेत बोलाएर सर्बदलीय र सर्ब पक्षीय छलफल गराउनु हालको प्रमुख आवश्यकता भएको छ । तर नेपालमा विदेशी शक्ति यति हाबि भएको छकि बिभिन्न दलहरुलाई मिल्न दिएको छैनभने प्रायः दलहरुमा आन्तरिक खिचलो बढाउने लगायतका गतिबिधिहरु पनि भैरहेका छन् । नेपाली कांग्रेस जस्तो पार्टी भूराजनीतिका कारण बिभाजनहुँदा समेत नेपालका संसदवादी दलहरुले नचेत्नु आफैमा आश्चर्यको बिषय भएको छ । नेपालमा बढ्दो विदेशी हस्तक्षेपको समस्याको समाधान नगरी अन्य कुनैपनि जनपक्षीय राजनीति हुन नसक्ने अवस्था सिर्जना भएको छ । जुन हालको अवस्थामा मुख्य बिचारणिय बिषय भएको छ ।