देशैभर निर्वाचन बहिस्कार सम्बन्धी विरोध प्रदर्शन तथा जनसभा कार्यक्रम सम्पन्न (फोटोफिचर)

देशैभर निर्वाचन बहिस्कार सम्बन्धी विरोध प्रदर्शन तथा जनसभा कार्यक्रम सम्पन्न (फोटोफिचर)

काठमाण्डौ । संयुक्त संघर्ष समितिको आयोजनामा निर्वाचन बहिस्कार सम्बन्धी विरोध प्रदर्शन तथा जनसभा कार्यक्रम देशैभर सम्पन्न भएको छ । काठमाडौंमा सुन्धाराबाट शुरु भएको विरोध प्रदर्शनको कार्यक्रम रत्नपार्क शान्तिवाटिकामा आएर सभामा परिणत भएको थियो । सभामा संघर्ष समितिमा आबद्ध दलका नेताहरुले सम्बोधन गरेका थिए ।

नेकपा बहुमतकी विद्यार्थी नेतृ रुपा बुढामगरको सञ्चालनमा सम्पन्न कार्यक्रममा वक्ताहरु क्रान्तिकारी कमयुनिष्ट पार्टी नेपालका परी थापा,नेकपा बहुमतका बाबुराम गजमेर, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालका यशु चौलागाइँ , नेपाल कम्युनिष्ट पार्टीका खेमनारायण भण्डारी र नेकपा (जनपक्ष)की सुनिता बुढाथोकीले सम्बोधन गुर्नभएको थियो ।

सम्बोधनका क्रमका वक्ताहरुले सरकारले फागुन २१ गते घोषणा गरेको संसदीय निर्वाचन बहिस्कार गर्न सबै जनताहरुलाई अनुरोध गर्नुभयो । वक्ताहरुले जेनजी विद्रोह पछि बनेको शुशीला कार्की नेतृत्वको सरकार गठन भए पनि यो सरकारले जनताको कुनै पनि समस्या समाधान गर्न नसक्ने धारणा राख्नु भयो । मन्तव्यको क्रममा वक्ताहरुले सरकारले घोषणा गरेको संसदीय निर्वाचनबाट नयाँ भनेका वा पुराना भनिएका जुन दलहरु निर्वाचित भएर आए पनि जनताको मूल समस्याहरुको समाधान हुन नसक्ने भन्दै भ्रष्ट दलालहरु नै निर्वाचित भएर आउने र देशको राष्ट्रियता जनतन्त्र र जनजीविकामा कुनै परिवर्तन आउन नसक्ने बताउनु भयो ।

सुशिला कार्की नेतृत्वको सरकार कठपुतली सरकार हो भन्दै यो सरकार खारेज गरेर स्वाधिन संयुक्त सरकार गठन गर्नु पर्नेमा वक्ताहरुले जोड दिनुभयो । स्वाधिन संयुक्त सरकार गठन पछि जनसंविधान निर्माण गर्दै उच्च स्तरको संघर्ष विकास गरेर जनवाद र समाजवादमा पुगे पछि मात्रै जनताले चाहेको जस्तो व्यवस्था स्थापना हुन सक्नेमा वक्ताहरुको भनाइ रहेको थियो ।

प्रदर्शनमा संयुक्त संघर्ष समिति जिन्दावाद, कथित संसदीय निर्वाचन बहिस्कार गरौं , स्वाधिन संयुक्त सरकार गठन गरौं । साम्राज्यवाद मुर्दावाद , विदेशी दलालहरु होसियार, कठपुलती सुशिला कार्की नेतृत्वको सरकार खारेज गर, आदि नाराहरु लगाइएको थियो ।

विराटनगर, नेपालगञ्ज लगायत अधिकांश जिल्लाहरुमा विरोध प्रदर्शन भएको जानकारी प्राप्त भएको छ । विस्तृत विवरण प्राप्त हुन बाँकी छ ।