कागजी मत, वास्तविक विद्रोह

कागजी मत, वास्तविक विद्रोह

कविता

हामीलाई भनिन्छ
मत हाल, चुप लाग, पालो कुर्नु
तर इतिहास चिच्याइरहेको छ—
सत्ता कहिल्यै
मतपेटिकाबाट खसेको थिएन।
सर्वहारा बोल्छ,
यो संसद
बुर्जुवाको रंगशाला हो,
जहाँ श्रमले ताली बज्छ
र मालिकले फैसला लेख्छ।
मत हाल्नु अघि सोध—
जहाँ राज्य नै
हाम्रो पसिनाको शत्रु छ,
त्यहाँ चुनाव
कसको पर्व हो ?
सर्वहाराको स्वर हावामा बाँकी छ—
“संसद तबसम्म बोल्छ
जबसम्म जनता चुप छन्।”
हामी उठ्ने क्षण
उनीहरूको लोकतन्त्र
नाङ्गो हुन्छ।
त्यसैले
धोका दिने मतपत्र अस्वीकार गर्नु
अराजकता होइन,
वर्गचेतनाको सुरुवात हो।
सर्वहारा बोल्छ —
जब सडक तात्छ,
चुनाव शान्तिको नाटक बन्छ।
क्रान्तिको घडीमा
मतपेटिका होइन,
जनशक्ति निर्णायक हुन्छ।
आज पनि सोध—
के यो सरकार
जनताको हो ?
कि डरले काँपेको सत्ता
वैधता खोज्दै
चुनावको मुखौटा लगाएको छ ?
यदि हो भने—
त्यो मुखौटा च्यात्नु
बहिष्कार हो।
कठोर सत्य—
दमनकारी राज्य
कहिल्यै निष्पक्ष हुँदैन।
उसको चुनाव
हामीलाई जिताउन होइन
हामीलाई बाँध्न हो।
जहाँ बन्दुक राज्यतर्फ,
र मत जनता तर्फ फर्किएको छ,
त्यहाँ बहिष्कार
कमजोरी होइन,
राजनीतिक युद्ध हो।
सर्वहारा  सम्झाउँछन्—
जनता उठिसक्दा
पुरानो राज्य कागजको घर बन्छ।
त्यस घरमा मत छिराउनु
आगो निभाउनु हो।
जब जनसत्ता
बीउ बनेर उम्रन्छ,
त्यस बेला
चुनाव होइन,
अस्वीकार नै घोषणापत्र हो।
त्यसैले हामी भन्छौँ—
यो बहिष्कार पलायन होइन,
यो इतिहास रोज्ने साहस हो।
मत होइन,
मान्छे निर्णायक हो।
पेटिका होइन,
जनता शक्ति हो।
हामी चुनाव छोड्छौँ
सत्तालाई वैध बनाउन होइन,
सत्तालाई प्रश्न गर्न।
किनकि—
साँचो लोकतन्त्र
मतपत्रमा होइन,
उठेको जनतामा हुन्छ।