मुक्तिको मसाल फेरि भर्भराएर बल्ने छ

मुक्तिको मसाल फेरि भर्भराएर बल्ने छ

संस्मरण

सहिद शशी रेग्मीको सम्झनामा

दुनियाँ बदल्ने जिम्मा छ हाम्रो
संसार सजाउने अभिभारा हाम्रो
हामी नै हौं इतिहास कोर्न सक्ने
पतझडमा सुन्दर फुल फुलाउने
उत्पीडनका साङ्लाहरु तोडेर मुक्ती यात्रा तय गर्न कैयौंपटक निमोठ्न पर्छ आफ्ना निजि रहर र आकांक्षालाई । मनको अन्तस्करणबाट जबर्जस्ति निकालेर थन्क्याउनु पर्छ मातृ वात्सल्यलाई । हजारौं घन बजारे पनि नढल्ने कठोर आत्मसंघर्ष र अन्तर्संघर्षबाट गुज्रनु पदर्छ । महिलाहरु घरको चौघेरो नाघेर निस्कँदा बाइफाले भनेर गिज्याउने सामन्ती दाह्रा नंग्रा भाँच्न बागी बनेर उठ्नै पर्छ । मुक्तिको सपना रोपेर सुन्दर संसार फुलाउन निजि जीवन भत्काउने दुस्साहस गर्नै पर्छ, त्यो पनि एकपटक हैन कैयौंपटक । कमजोर भइ पाइलाहरु लडखडाउन सक्छन्, लडिन् सक्छ । फेरि धुलो टकटक्याउँदै उठ्ने आँट गर्नै पर्छ । यी सबै जोखिम मोलेर कयौंपटक मर्न पर्छ र मात्रै सम्भव छ मुक्ति । सयौं बारबन्धन तोडेर स्वतन्त्रता र मुक्तिको सुन्दर यात्रा रोज्न लालयित बन्ने जीवन यात्रामा निजि सम्पत्तिको मोह त्यागेर घरमा ताल्चा ठोकेर सपरिवार युद्धमा होमिन जो कोहि मान्छेले कहाँ सक्छ र रु मुक्ति पथको एक यायावर बन्न दृढ़ संकल्प लिएर निस्केको यात्री बाँचेकाहरुलाई सपना नमार्ने सन्देश दिँदै ढल्यो । जोधाहा यात्रीको सपना शाही जल्लादहरुले खोसिदिए सदाका लागि ।

नेपाली समाजमा व्याप्त बिकृती, बिसंगती, हजारौं वर्ष देखि उत्पीडनका दलन मुनिबाट मुक्ति, समानता र स्वतन्त्रताको जिजिविषा बोकेर काँडेतारको यात्रामा निस्केका समरका यात्री मध्येका एक चम्किलो तारा हुनुहुन्छ शशि रेग्मी ।
शशि रेग्मी आमा हुमादेवि र बुबा बिष्णुहरी मरहट्टाका आधा दर्जन छोराछोरी मध्ये माइली छोरिको रुपमा २०२० साल मंसिरमा जन्मनु भएको थियो । गोर्खा जिल्लामा शिक्षाका अग्रणीहरु मध्येका एक शिक्षक बुबा बिष्णुहरी र आमाको प्रेरणाका कारण उहाँको अध्ययन सरलता पूर्वक अघि बढ्यो । गोर्खा जिल्ला राजनैतिक र सामरिक चेतनाको हिसाबले अग्रभागमा रहेको जिल्ला र सदरमुकाममा हुर्केका कारण शिक्षाको सहज पहुँच थियो । त्यही कारण होला उहाँको परिवारमा बुबा सहित पाँच जना शिक्षण पेशामा लाग्ने उन्नत चेतनाको पृष्ठभुमि तयार भयो । यहि अध्ययन अध्यापनको यात्रामा बढ्दै जाँदा कहिले कसरी कम्युनिस्ट पार्टीमा हिँड्ने भइछ ु आफुले पत्तै नपाएको बताउनुहुन्छ मरहट्टा आमा । निरंकुश पञ्चायती ब्यावस्थाका दबदबा बिच गोर्खा जिल्लाकै अश्राङ्गमा शिक्षक भएसंगै गुप्त रूपमा संगठन गर्दै हिँड्ने र शिक्षक आन्दोलनमा सक्रिय छोरीलाई माग्न त अरु पनि कति धेरै मान्छे आए, तर बिहे गर्न नमान्ने छोरी चितवनबाट टंकबाबुहरु गए पछी मेरो राजनीतिसंग मेल खाने रहेछ बिवाह गर्छुु भनेको बिगत सम्झनु हुन्छ बुबा बिष्णुहरी । विवाह पछी पनि राजनीति नरोक्ने सहमति भएर बिबाह गर्न तयार हुने त्यो चेतना तत्कालीन समाजको अग्रगामी र प्रगतिशील चेतना थियो । २०३५÷०३६ सालको विद्यार्थी आन्दोलन हुँदै निरंकुश पञ्चायती व्यवस्थाका विरुद्ध सक्रिय चितवन गुन्जनगरका टंक रेग्मिसंग २०४१ जेठ ३ गते बिबाह पछि उहाँ रेग्मी परिवारको काँहिली बुहारी बन्नु भयो । बुहारी मध्येकि शिक्षित, सचेत र जुझारु शशी आन्टिको (मैले आन्टी सम्बोधन गर्दथें) राजनीतिक जीवन दुई छोराको जन्म र जिविकोपार्जनका लागि उत्पादन संघर्षले केही सुस्त त भयो तर मनको अँगेनो भित्र मुक्तिको भुंग्रो भने जोगाई राख्नु भएको थियो ।

२०४३ मा जेठो छोरा रिकेस र २०४६ मा कान्छो सबिनको जन्म पछि शशी आन्टीको भुमिका टंक रेग्मी ९ गोर्खाली अंकल० को राजनीतिक जिवनको उर्जा र सहयोगी रह्यो । पारिवारिक ब्यवस्थापन आफुले सम्हालेर गोर्खालीको राजनितीक जिवनको बाटो फराकिलो बनाउँदै उहाँ दरिलो खम्बा बन्नु भयो । निरंकुश पञ्चायती व्यवस्था बिरुद्धको आन्दोलन होस वा एक बाम एक ठामको नारा लागेको २०४९ को स्थानीय निर्वाचन हुँदै महान जनयुद्धको प्रक्रियामा सहभागिताको निम्ति निरन्तर उत्प्रेरक बनेकी शशी आन्टी निडर र निर्भीक महिला भएको स्मरण गर्नुहुन्छ उहाँको जीवन साथी गोर्खाली ।

२०५३/०५४ तिर गोर्खाली अंकललाई ढाड्को गम्भीर समस्या देखा पर्‍यो । काठमाण्डुको बि एन्ड बि अस्पतालले मेरुदण्डको क्यान्सर हो, निको हुँदैन भनेको थियो । भारत लगेर उपचार गर्ने सल्लाह हुँदा परिवारका अरु कोहि सदस्य तयार भएनन् । त्यस्तै चालीस पचास हजार खर्चको अनुमान गरेर शशी आन्टी आफैंले हिम्मत गर्नु भयो । त्यो बेलामा त्यति पैसाले एक डेढ बिघा खेत आउँथ्यो । उहाँले मान्छे भन्दा सम्पत्ति ठुलो हुँदैन भनेर जिद्दी गरेर पटना लगेर अपरेसन गराउनु भयो । शशी अन्टिको अडान र हिम्मतले गर्दा नै आफुले पुनर्जीवन पाएको जस्तो लाग्छ गोर्खाली अंकललाई ।

आफ्ना पाँच आमा ठुलीआमा मध्ये काँहिलि काकी शशी साथी जत्तिकै सरल, प्रिय र गम्भीर अभिभावक जस्तो लागथ्यो सरस्वती पोखरेललाई । गोर्खाली अंकलको जेठा दाजुको छोरी सरस्वती र शशी आन्टी वर्गसंघर्षका तुफानी दिनहरुमा घरधन्दा, खेतिपाती बस्तुभाउ सबै भ्याएर संगठनका काममा पनि उत्तिकै सक्रिय हुनुहुन्थ्यो । घर देखि संगठन सम्म सहकार्य गरेका ती दिन सम्झँदा सरस्वती दिदिको आँखा रसाउँछन र शरीर भरी काँडा उम्रन्छ । शशि आन्टीका संघर्षलाई सम्झदै सरस्वती दिदी भन्नू हुन्छ ‘भाइहरु ससाना थिए । परम्परागत हैन उन्नत खेती गर्नु पर्छ भनेर आन्टिले केरा खेती शुरु गर्नु भयो । घरको काम भ्याएर साइकलमा केरा बेच्न हिँड्नु हुन्थ्यो । रातभरि धानर गहुँ काट्नु, पार्टीको योजनाका सामुहिक खेती वा श्रमदान गर्न जुट्नु, बिहान घरधन्दा सकेर बच्चा स्कुल पठाउनु, दिनभरी संगठनको काम पनि गर्नु, साँझ घर आएर खाना ख्वाई सकेर फेरि रातभरि संगठन निर्माण वा पार्टीको अरु काममा खटिनु’ नियमित दैनिकी जस्तै थियो । त्यो बेलामा यत्रो काम कसरी सम्भव भयो होला भनेर सरस्वती दिदी आफैं छक्क पर्नु हुन्छ । उहाँहरु दुवैजना अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को इलाका कमिटीमा हुनुहुन्थ्यो । घरका आमाछोरी उहाँहरु संगठन र संघर्षमा भने सहयोद्धा कमरेड हुनुहुन्थ्यो । वर्ग संघर्षका ती आँधिमय दिनहरु प्रति सरस्वतीलाई गर्व छ । आर्थिक अभाव र साधन श्रोतको कमि बीच पनि सांगठनिक कामले कहिल्यै उखरमाउलो गर्मी पनि भनेन, शितलहरको ठिहिले रोक्न सकेन र झरिले छेक्न सकेन । शशी आन्टी र दुर्गा सुवेदी भाउजुसंग साइकलमा संगठन निर्माण र संघर्षका कार्यक्रममा दौडिएको सम्झना साइकलको चक्का घुमेझैं अहिलेपनी सरस्वती दिदिको स्मृतिमा घुमी रहन्छ । रक्सी खाने र जुवातास खेली रहेका मान्छेहरु उहाँहरुलाई देखेर गुरुरु भाग्दथे । आफू तीन महिनाको सुत्केरी हुँदा पटुका कसेर ठुलो एटलस साइकलमा शशी आन्टीलाई समेत डबल हाँकेर घरबाट झण्डै बीस किमि पर देवनगरको महिला सम्मेलनमा पुग्ने सरस्वती दिदिलाई आज माओवादी आन्दोलन ‘के सोचे मैले, के भयो ऐले’ भन्ने गित जस्तै लाग्छ । मुटु टुक्रिएर आक्रोशित बनाउँछ ।

चिरञ्जीवी सर सरस्वती पोखरेलका जीवन साथी हुनुहुन्छ । जनयुद्धको समयमा धादिङ जिल्लाको जोगिमारा स्कुलमा शिक्षक हुनुहुन्थ्यो । जनयुद्धको कैयौं भिडन्तका तयारी, जनमुक्ति सेनाको मुभमेन्ट र पार्टीका कतिपय आन्तरिक छलफलको समेत साक्षी बन्नु भएका चिरञ्जीवी सर सहिद केशव रिमाल समरको सहपाठी र चितवनको विद्यार्थी आन्दोलनका एक नेता समेत हुनुहुन्छ । सहिद हुनुभन्दा केही दिन अगाडि २०६१ मंसिरको दोश्रो साता शशी आन्टी सहितको ठूलो टोली चिरञ्जीवी सरले अध्यापन गर्ने जोगिमारा स्कुल पुगेको थियो । त्यहाँ दुई तीन दिन बस्दा पार्टी आन्दोलन र पारिवारिक छलफल गरेर छुट्नु भए पछि फेरि भेट भएन । त्यही भेट नै अन्तिम भेट भयो । चिरञ्जीवी सर शशी आन्टीलाई श्रीजनशिल, निडर र जुझारु संगठक, ममतामयी तर निर्भीक आमा, वर्गप्रती निष्ठावान र आदर्शमा दृढ एक कुशल नेतृत्वका रुपमा सम्झनु हुन्छ ।

२०५५/०५६ मा देवनगरमा सम्पन्न अखिल नेपाल महिला संघ ९क्रान्तिकारी ० को इलाका सम्मेलन बाट सदस्यमा चुनिनु भएकि शशी आन्टी जाँडरक्सी जुवातास विरुद्धको अभियानमा निकै सक्रिय हुनुहुन्थ्यो । जीवन साथी टंक रेग्मी पूर्णकालिन बनेसंगै शशी आन्टी पनि राज्यको वक्र दृष्टिमा पर्न थाल्नु भयो । आन्दोलन बिकासको तिब्रता संगै राज्य झन धेरै निरंकुश र आतंकित बन्दै गइ रहेको थियो । संकटकाल लागे पछी राज्यको श्वेत आतंक पश्चिम् चितवनमा व्यापक भयो । दिनहुँ घर खानतलासी गर्ने, भकारी र बोरामा हतियार लुकाएको बहानामा संगिन रोपेर भकारी र बोरा फोरि दिने, गहुँ र धान, तोरि र कोदो एकै ठाउँमा मिसमास पारी दुख दिने गर्थ्यो । एक दिन गिता आचार्य समीक्षा, सम्झना श्रेष्ठ शान्ति, सरिता लगायत साथीहरू हामी दिब्यनगर हरि पौडेल बाको घरमा थियौं । शाही सेनाले पश्चिम चितवन घेरा हाल्ने र सर्च अभियान व्यापक पारेको सुचना हामिसम्म पुग्यो । घरका टिभी, रेडियोहरु आँगनमा पछारेर फुटाई दिने, घरमा लगाएका बारबेर भत्काउने, बिना कारण मानिसहरुलाई निर्घात पिट्ने, गिरफ्तार गर्ने क्रम जारी नै थियो । हामी बस्तिबाट केही सुरक्षित ठाउँ तर्फ लाग्यौ । हाम्रो रक्षा कवच बनेर हरेक बस्तिले सुचना दिने र अहोरात्र गस्ती गरि रहेकै हुन्थ्यो । साँझ केही स्थानीय साथीहरू लिएर शशी अन्टि भएकोमा पुगे । सेनाले पिटेर अन्टिको अनुहार फुलेको थियो । फुटेको टिभीका टुक्राटुक्रि बटुलेर रिकेश, सबिन खेलिरहेका थिए । गाँउलेहरुका अनुहारमा व्याप्त सन्त्रास बिच निरीह देखिनु भएकी शशी अन्टिको मुहारमा हामी पुगेपछि एकाएक चमक देखियो । मेलामा आमाको हात छुटेर आत्तिएको बच्चाले आमा भेट्दा झै खुशीले छाद हाल्दै अङगालो मार्नु भयो । नानी म सकुशल छु, पार्टीले चिन्ता लिनु पर्दैन । शाही जल्लादहरुको बर्बरता विरुद्ध हामी लड्छौ । तपाईहरु निरधक्क लाग्नु होसु भनेर झनै उर्जा पो थप्नु भयो । राज्य आतंक विरुद्ध नझुक्ने संकल्प गर्दै दरिलो हात मिलाएर हामी बिदा हुदै गर्दा मलिन स्वरमा बुबा गिरफ्तार परेको कुरा बताउनु भयो । शशी अन्टिलाई हौसला दिन गएकी म बाबाको गिरफ्तारीको सुचनाले अवाक भएँ । गिरफ्तारीको शिलशिला जारी थियो । आफुले पाएको यातना र बाबाहरुले सामना गर्ने सम्भाबित दुव्यवहार सम्झेर मन उद्देलित हुँदै बिदा भयौं । मेलापात गर्न आउने खेताला र गाइबस्तु किन्न आउने ब्यापारी समेत माओवादीको आरोपमा रामधुलाईमा पर्दथे । यो सबै हर्कतको मोहरीमा शशी आन्टी, मेरो आफ्नै बुबाआमा लगायत अधिकांश गाउँलेहरु हुनुहुन्थ्यो ।

म भर्खरै जेलबाट छुटेर कार्यक्षेत्रमा थिएँ । लक्ष्मी दिदी जेलमै हुनुहुन्थ्यो । सहिद तथा बेपत्ताका परिवार, जेलरहिरासत मा रहेका बन्दीका परिवार र पूर्णकालिन कार्यकर्ताको परिवारलाई खेतिपातिको काममा सहयोग गर्ने पार्टीको नीति थियो । यस्ता सामुहिक श्रम कार्यमा हाम्रो परिवार, शशी आन्टिहरु टिमबद्ध सामेल हुनुहुन्थ्यो । सामुहिक श्रमको यो परिपाटी जिल्ला व्यापी थियो । पार्टी कार्यकर्ता सहित समर्थक, शुभचिन्तक जनता समेत उक्त श्रम सहकार्यमा स्वत स्स्फुर्त परिचालन हुन्थे । पूर्वी चितवनका कार्यकर्ता पश्चिम चितवन र माडी सम्म पुग्दथे भने माडी र पश्चिम चितवनका जनता समेत पूर्वी चितवन पुग्दथे । सामुहिक श्रमको यहि योजना अन्तर्गत भिमनगरको हाम्रो घरमा आलु रोप्ने योजना थियो । हाम्रो घर त्यसै पनि सुरक्षा निगरानीमा थियो । त्यो क्षेत्रमा काम गर्ने कार्यकर्ताको पनि बाक्लो आउजाउ हुन्थ्यो । आमालाई पार्टीका साथिहरुले ‘हाम्रो आमा’ भन्थे । २०५८ को मंसिर १७ का दिन आलु रोप्ने खेतबाटै सेनाले गाउँ घेराउ गरेर बुबालाई गिरफ्तार गरेको रहेछ । त्यही दिन

फुलबारीबाट नारायण श्रेष्ठ (शारदा श्रेष्ठका बुबा), कलाकार बर्षा गजमेरको बुबालाई एउटै भेनमा कोचेर दुर्व्यावहार गर्दै लगेको रहेछ । गिरफ्तारीको शृङ्खला व्यापक पारेर कवि चेतकान्त चापागाईं, भिमराज अधिकारी, एकराज डल्लाकोटी, यज्ञ घिमिरे, गणेश कुमार श्रेष्ठ लगायत सैयौं समर्थक शुभचिन्तकहरुलाई गिरफ्तार गर्‍यो । ०५९ बैशाखमा शोभा कट्टेल र सावित्री आचार्य, भदौमा शारदा श्रेष्ठ दिदी र मंसिरमा म आफू समेत पुन गिरफ्तार परेपछि दमनको चपेटामा शशी आन्टी माथी सुरक्षा खतरा झन धेरै बढेर गयो र केही समयपछि उहाँ पनि पूर्णकालिन हुनुभयो । खेतीपाती छिमेकीको जिम्मा लगाएर दुबै छोराहरु (रिकेश र सबिन) समेत साथमा लिएर सपरिवार घरमा तल्चा ठोकेर क्रान्तिको यात्रामा निस्कने निर्णयमा पुग्नु चानचुने हिम्मत थिएन ।
पूर्णकालिन बनेसंगै उहाँको कार्यक्षेत्र पूर्वी चितवन तिर भयो । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को जिल्ला सदस्य र पार्टीको ईलाका सदस्यको भुमिकामा कृयाशिल हुनुहुन्थ्यो । सेनाको पार्टीकरण र पार्टिको सैनिकिकरणको योजना अनुरुप थुप्रै फौजी काममा समेत सहभागी हुनुभयो । कृष्णभिर भिडन्तको समयमा शशी आन्टी, उहाँको जीवन साथी गोर्खाली र जेठो छोरा रिकेश तिनै जना सहभागी हुनुहुन्थ्यो । उहाँ आफू आपूर्ति बिभागमा, गोर्खाली स्वास्थ्य पोस्ट र रिकेश जनमुक्ति सेनाको फर्मेसनमा हुनुहुन्थ्यो । कति निर्मम हुन्छ है युद्ध रु भीषण गोलाबारी चलिरहेको छ । मध्य दिनमा आमनेसामने दोहोरो भिडन्त जारी छ । आँखै अगाडि दुश्मन सेना पनि ढलेको छ, सहयोद्धा पनि ढलेको छ । कति खेर को मारिने कुनै निश्चित छैन । बमको धमाका र बारुदको धुवाँ भित्र मृत्युको अनौठो कोलाज निर्माण भइ रहेको छ । गोर्खालिको स्वास्थ्य पोष्टमा घाइतेहरु आउने क्रम जारी छ । उनको मनमा आशंका र त्रास संगसंगै छ । रक्तमुछेल घाइतेहरु पोष्टमा आईपुग्दा त्यो मान्छे कहिँ आफनै छोरा वा श्रीमतीको त हैन भनेर गोर्खालिलाई नजानिदो ऐंठन हुन्थ्यो । जतिसुकै क्रान्तिकारी मान्छे भए पनि आफ्नो मान्छे गुमाउने डर अलिक धेरै हुँदोरहेछ । मर्ने वा मारिने खतरा त सधैं थियो तर एउटै मोर्चामा श्रीमती र छोरा सहित लडेका गोर्खालिलाई त्यो दिन सम्झदा आज पनि गर्व संगसंगै अत्यास लागेर आउँछ । यी र यस्तै मृत्युलाई नजिकैबाट चुमेर आफ्नो जिम्मेवारी निभाउँदै जानु भयो।

२०६१ कार्तिक ३१ गते लमजुङ जिल्लाको बेतनिमा शाही जल्लादहरुसंग लड्दा लड्दै हिरा थापा निमाको सहादत भयो । चितवन शक्तिखोर गाबिस देविटारमा रहेको निमाको घरमा पार्टीले २०६१ मंसिर २३ गते श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको थियो । समुहमा नजाने, सबैजना छुट्टाछुट्टै देविटार पुग्ने योजना बनेको थियो । शशी आन्टी व्यवस्थापन कार्यको लागि पहिला जाने सल्लाह थियो । कार्यक्रमको सुचना चुहिएर शाहि सेनासम्म पुगेको कसैलाई पत्तै भएन । शक्तिखोर बजारसम्मै सादा पोशाकमा शाही सेना परिचालित भइसकेको रहेछ । जुटपानी गाबिसको कालिका चोकबाट देविटार जानलाई खोला तर्ने बेलामा शशी आन्टीलाई बाजले चल्ला टिपेझैं झम्टिएर सेनाले कब्जामा लियो । शक्तिखोरबाट क लक्ष्मी खरेल गितालाई पनि नियन्त्रणमा लिइसकेको रहेछ । क। गिता नवलपरासी घर भई कार्यक्षेत्र चितवन थियो । सेना सिभिलमा परिचालन भएकोले गाडीसंगै थिएन । गाडी आइपुग्नु अबेर हुने देखेर उनिहरुले शक्तिखोरको एकजना नेवार थरका चालकले सामान ढुवानी गर्ने गाडी जबर्जस्ति खोसेर शशी आन्टी र गितालाई त्यसैमा हालेर लिएर गए । यो खबर हावाको बेगभन्दा छिटो चारैतिर फैलियो ।

१०/१५ मिनेट अगाडि छुट्टिएको जिवनसाथिको गिरफ्तारीको खबर जुटपानीमा रहनुभएको गोर्खाली अंकलसम्म आइपुगी हाल्यो । आफुले टेकि रहेको धर्ती अचानक पछाडि सर्दै गरेको जस्तो भयो । पीडा र आक्रोश संगसंगै थियो । गिरफ्तार गरिएकाहरुलाई अकल्पनीय यातना दिएर आत्मसमर्पण गराउने कोशिश गर्थे । आत्मसमर्पण गरेपनि, नगरेपनि झुठा मुठभेडमा हत्याको शृङ्खला जारी नै थियो । अझ महिलाहरुलाई निर्बस्त्र गाउँ घुमाउने, संवेदनशील अंगहरुमा चुरोटको ठुटाले पोल्दिने, यौन दुव्र्यवहार, सामुहिक बलात्कार गर्ने र अन्त्यमा हत्या गर्ने शाही सेनाको आम चरित्र बनी सकेको थियो । दुस्मनका यातना शिबिर भित्र पुरुष कमरेडहरुले कल्पना गर्नु नपर्ने बर्बरता महिला कमरेडहरुले झेलेर दृढतापुर्वक लडेका सयौ उदाहरण भित्र आफ्नो सबैभन्दा प्रिय मान्छेले पाउन सक्ने यातना सम्झेरै गोर्खालिलाई असैह्य पीडा भइरह्यो । यहि बिचमा टिकौली प्रहरी चौकी सम्म जिवित पुर्‍याएको भन्ने खबर पनि हावा झैं सनसनी आउदा कतै मारी हाल्दैन कि भन्ने आशाको त्यान्द्रो समाएर गोर्खालिले ननिदाएरै रात काट्नु भयो । मुटुका हरेक धड्कन आफ्नो प्रियको पीडा सम्झेर रोकिएला जस्तो हुन्थ्यो । भोलिपल्ट २०६१ मंसिर २४ गते बिहानै दोहोरो भिडन्तमा परि आतंककारी कमाण्डर शशी रेग्मिको मृत्युु भन्ने समाचार रेडियोमा बज्दा आशाको तान्द्रो पनि चुडिएर उभिएको धर्ती भासिएकाको जस्तो भयो ।त्यो दिनको सम्झना आज पनि चहराउछ उहाँलाई ।

मरहट्टा आमा घरमा एक्लै हुनुहुन्थ्यो, बा मन्दिरको पुजारी भएकाले उतै हुनुहुन्थ्यो । सबिनले फोन गरेर आमा ममिलाई सेनाले हत्या गर्यो । ममि हुनु हुन्न भनेको सम्म सुनेपछि उसले अरु के के भन्यो थाहै भएन । आँखा अगाडि छोरी शशिकलाको बालापन र हाँसो सिनेमाको दृश्य झै घुम्न थाल्यो । अधिल्लो दिन मात्र लामो कुरा गरेर जनताको बिचमा आफू र परिवार सुरक्षीत रहेकोमा ढुक्क हुनु भनेकी छोरी चौबीस घण्टा नबित्दै गुमाउनु परेको पिडा व्यक्त गर्ने शब्द नपाएर उकुसमुकुस परेको मनको भाका आखाबाट बगिरहेको थिए । अरु मार्फत पठाएको खबर पाएर बुबा घर आउनु भयो । आमासँग मुखले भन्ने शब्द नै थिएन । आँखामा बगिरहेको आँशु र भक्कानोले उँहाले अनुमान लगाउनु भयो । सेनाको व्यापक दमन बिच पनि छोरीको सास नभए पनि लास हेर्ने झिनो आशाले घरमा बस्न दिएन र चितवन झर्नु भयो । घटना घटेको झण्डै बीस वर्ष पछी हामी गुञ्जनगर गोर्खाली अंकलको आँगनमा त्यो घटना बारे कुरा गरिरहेका थियौं । ती काहाली लाग्दो दिनको कुरा बताउदै गर्दा खाटा बसेको घाउको पाप्रा कोट्याएर चहराए झै उमेरले असी नाघेका अनुहारमा चाउरिएका खोल्साबाट बगेका आँशुका धाराले बोलिरहेको भान भयो ।

आफ्नो सन्तानको मृत शरिर हेर्न सेनाको काडेतार भित्र सयौ ठाउँमा खान तलासि, अपमान, सुन्न नसकिने गाली गलौज सहेर कागजको चिर्कटो बोकेर घण्टौसम्म अनुनय बिनय गरे पछि साँझ तिर भरतपुर अस्पतालको शवगृहमा बुबालाई मात्र छोरीको लास टाउको ढाकेर भेट्न दिएको क्षण सम्झिदा आज पनि संसार अँध्यारो लागिरहने कुरा बताउदा आमाको अनुहारमा आज पनि पिडाको कति गहिरो अँध्यारो महसुस भयो । म अन्तिम पटक छोरीको मुख हेर्छु भनी धेरै चोटि बिन्ती गरेर रुँदा ुतपाईं अनुहार हेर्न सक्नु हुन्न, शरीर हेरेर चिन्नु भयो तु भनी सोधे । आफ्नो सन्तान चिन्न मरहट्टा बालाई अनुहार नै हेरिरहनु जरुरी थिएन । अनुहार देखाउन नसक्ने गरि कति क्रूरर यातना दिएर हत्या गरे होलान रु शासकहरुको फासिवादी चरीत्र स्पष्ट देखियो । अर्धचेत अवस्थामा त्यहाबाट फर्किएको दिन संझेर संसारमा कुनै आमा बुबाले यस्तो देख्न नपरोस्ु भन्दै भक्कानिनु भएको वृद्ध आमा बाबालाई सम्हाल्ने कुनै शब्द नपाएर अवाक बनेको म कतिखेर आँखाबाट आँशु बग्न थाल्यो पत्तो नै पाइएन । परिवारले हाम्रो मान्छेको अन्तिम संस्कार गर्न पाउनुपर्ने माग गरेर सैन्य ब्यारेक धेरै पटक पुग्नु भयो तर यो लास लैजाने हो भने उसको श्रीमान आउनु पर्ने भनी गोर्खाली अंकलको आत्मसमर्पण वा हत्याको बार्गेनिङ गर्न थाले पछि परिवारले ब्यारेक जान बन्द गरि दिनु भएको थियो । यसरी एक साहशी योद्धा, जनताको प्रिय नेता र निडर आमाको शाही जल्लादहरुले कब्जामा लिएर निर्मम यातना दिएर हत्या गरे ।

शशि अन्टिको हत्या गरिएको समाचार मैले कास्की कारागारमा थाहा पाएँ । क्रान्तिको रफ्तारसंगै बलिदानको शृङ्खला जारी थियो । राज्य झन पछि झन तिल्मिलाएर क्रुर र फासिष्ट बन्दै गैरहेको थियो ।थुप्रै प्रियजनहरुको हत्याको समाचारमा उहाको हत्याले धेरै उद्देलित बनायो । आँखा अगाडि रिकेश र सबिनको बालपनपन, अन्टिसंग बिताएका हरेक क्षण सिनेमाको रिल झै घुमी रहे ।

निजी स्वार्थ भन्दा माथी उठेर आफ्नो घरमा तल्चा नै ठोकेर देशमा आमूल परिवर्तन गने र उत्पीडित सर्वहारा वर्गको सत्ता निर्माण गर्ने सपना महान जनयुद्धलाई सम्झौतामा सत्तासंग साटिएको कारण आज अपुरो भएको छ । अन्टि तपाईंले देखेको क्रान्ती पूरा हुने सपनाको बीउ मर्ने छैन । भुङ्रो भित्र लुकेको क्रान्तिको दावानल एक दिन फेरि भर्भराएर उठने छ । भुंग्रो जोगाएर राख्न सके कसैले त दाउरा जोर्ने छ । हामी दाउरा बटुल्दै छौं । प्रिय अन्टि, मुक्तिको मसाल फेरि भर्भराएर बल्ने छ ।