विश्वमै पछिल्ला बर्षहरुमा बिभिन्न उथलपुथलकारी घटनाहरु भैरहेका छन् । त्यसैको सेरोफेरोमा शुरुमा बंगलादेश र त्यसपछि नेपालमा जबरदस्तरुपमा सरकार परिवर्तनको घटना भयो । तर राजनीतिक परिवर्तन भएन । दुबै देश यतिबेला अनिर्णयको बन्दी भनेजस्तो भएका छन् । भारत र बंगलादेश बीचको तनावमा अमेरिकी घुसपैठका संकेतहरु देखिएका छन् । जसले नेपाललाई समेत संकटमा पार्ने संभावना बढाएको छ । बंगलादेशमा घटना हुनासाथै कतिपयले नेपालमा पनि सोही घटना दोहो¥याउने सार्बजनिक उद्घोषनै गरेका थिए । नभन्दै गत भदौमा त्यस्तै घटना भएर देश हालको अवस्थामा पुगेको छ । नेपाल र बंगलादेश दुबैतिर राष्ट्रलाईनै बिघटनमा पु¥याउने उथलपुथलकारी गतिबिधिहरु भैरहेका छन् । ढाकास्थित भारतीय दूतावसमाथि आगजनीको घटनापछि भारत–बंगलादेश सम्बन्धमा तनाव चुलिएको छ । दुई देशबीचको सो तनावले दक्षिण एशियाको समग्र सुरक्षा ब्यवस्थालाई नै प्रभावितगर्ने अवस्था सिर्जना भएको छ । भारतले आफ्नो प्रतिरक्षा प्रणालीलाई तयारी अवस्थामा राखेपछि भारत–बंगलादेशबीच कुनैपनि बेला युद्ध हुनसक्ने आशंकासमेत हुनथालेका छन् । बंगलादेशमा आफूलाई बिद्रोही बताउने समूहले भारतीय दूतावासमाथि आक्रमणगरी आगो लगाएको घटनाले सबै छिमेकी देशमासमेत सुरक्षा चुनौती खडागरेको देखिएको छ । पछिल्ला दिनमा भारतभित्र पनि बिभिन्न किसिमका आक्रामक गतिविधि बढ्न थालेको देखिएको छ । भारत–बंगलादेशबीचको चर्कदो पछिल्लो तनावले दक्षिण एशियाकै सुरक्षा ब्यवस्थामा असर पार्ने आंकलनहरु पनि हुनथालेका छन् । उक्त दुवै देशबीच बिगत लामो समयदेखि राजनीतिक, व्यापारिक र कूटनीतिक सम्बन्ध रहँदै आए पनि पछिल्ला घटनाक्रमले सम्बन्धमा दरारपर्ने संकेत गरेका छन् । हाल भारत, बंगलादेश र पाकिस्तानकाबीचमा जुन स्थिति देखिएको छ, त्यसले नेपाललगायतका अन्य छिमेकी मुलुकहरुमासमेत असरगर्ने देखिएको छ । विशेषगरी खुला सीमाना भएका नेपालजस्ता मुलुकहरु थप संवेदनशील हुनुपर्ने अवस्था छ । नेपाल र भारतबीच सीमा जोडिएका र बंगलादेशसँग नजिक रहेका पूर्वी नेपालका बिभिन्न क्षेत्रमा सुरक्षा चुनौती बढेको देखिन्छ । पछिल्ला दिनमा सीमावर्ती क्षेत्रहरुमा आवत–जावतको निगरानी बढाइएको देखिएको छभने थप सुरक्षा जनशक्ति पनि परिचालन गरिएको देखिन्छ । नेपालमा सरकारी तहमा भैरहेका पछिल्ला छलफलहरु क्षेत्रीय सुरक्षा अवस्था, सम्भावित जोखिम, सीमा व्यवस्थापन र आन्तरिक शान्ति सुरक्षाका विषयमा गम्भीर ढंगले केन्द्रित हुनेगरेका छन् ।
क्षेत्रीय तनावसँगै नेपालको आन्तरिक राजनीतिक अवस्था पनि थप संवेदनशील बनेको ब्याख्या विश्लेषण पनि हुनथालेको छ । नेपालमा गत तीन महिनायता देखिएको राजनीतिक अस्थिरता, बर्तमान चुनावी सरकारप्रति बढ्दो असन्तोष र बिभिन्न समूहका गतिविधिले सुरक्षा चुनौती थप बढ्नसक्ने आंकलन भैरहेको छ । बाह्य तनाव र आन्तरिक अस्थिरता एकसाथ बढेको खण्डमा नेपालमा पनि पुनः हिंसात्मक गतिविधि भड्कनसक्ने खतरा रहन्छ । नेपालले यस अवस्थामा तटस्थ र सन्तुलित नीति अपनाउँदै आफ्नो राष्ट्रिय हित र आन्तरिक सुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने टड्कारो आवश्यकता देखिएको छ । मुख्य समस्या नेपालको राजनीतिमा रहेको छ । तर यसलाई बिषयान्तर गरेर निर्वाचन र सरकार परिवर्तनतिर लाने र अन्योलको सिर्जना गर्ने÷गराउने प्रयासहरु भैरहेका छन् । नेपालका कतिपय नेताहरुको दिल्ली र वाशिंटनको दौड बिचारणिय भएको छ । क्षेत्रीय राजनीति थप अनिश्चित बन्दैजाँदा नेपालका लागि शान्ति, स्थिरता र आन्तरिक एकता जोगाउननै ठूलो चुनौती बनेको छ । त्यसैले बढ्दो क्षेत्रीय संकट र त्यसबाट नेपालमा पर्नसक्ने असरकाबारेमा बिभिन्न कोणबाट मिहिन ढंगले छलफल आवश्यक देखिएको छ । भूराजनीतिक संवेदनशीलताका हिसावले हेर्दा नेपाल भारत र बंगलादेश दुवैसँग नजिकको छिमेकी तथा आर्थिक–रणनीतिकरुपमा जोडिएका देशहरु हुन् । भारत–बंगलादेश सम्बन्ध चिसिँदा क्षेत्रीय शक्ति–सन्तुलनमा हलचल आउने र त्यसको असर नेपालजस्ता बीचका मुलुकहरुमा परोक्षरुपमा पर्नसक्ने अवस्था रहन्छ । भौगोलिकरुपमा नेपाल भूपरिवेष्ठित देश हो र दक्षिण, पूर्व र पश्चिम तीनै दिशाबाट भारतले घेरेको छ । समुद्रसम्म पहुँचका लागि नेपाल भारतमा निर्भर रहनुपरेको छ । जसले भारतलाई रणनीतिक बल दिएको छ । चीन र भारतजस्ता दुई ठूला शक्तिबीच नेपालको अवस्थितिनै यसको भूराजनीतिक संवेदनशीलताको मुख्य आधार हो ।
नेपाल–भारतबीच करिब १८०० किमि खुला सीमाना छ । आवागमन, रोजगारी र पारिवारिक सम्बन्ध सहज भएपनि अवैध तस्करी अपराध सुरक्षा जोखिमजस्ता चुनौतीहरु रहेका छन् । भारतले सुरक्षा दृष्टिले नेपालको भूमिलाई संवेदनशील मान्छ । सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धि भारतको नेपालमा प्रभाव बढाउने सन्धिकारुपमा रहेको छ । सीमा बिवादले भारतसँगको सम्बन्धलाई समय,समयमा तनावग्रस्त बनाउने गरेको छ । नेपालका आन्तरिक राजनीतिक घटनाक्रममा भारतको चासो र प्रभाव देखिने गरेको छ । नेपालको अधिकांश व्यापार भारतसँग हुन्छ । इन्धन, औषधि, खाद्यान्नजस्ता अत्यावश्यक वस्तुमा भारतमाथि निर्भरता छ । भाषा, धर्म, संस्कृति, विवाह र पारिवारिक सम्बन्ध पनि गहिरो छन् । चीनसँग नेपालले सम्बन्ध विस्तारगर्दा भारत सतर्क हुन्छ । भारत–चीन प्रतिस्पर्धाको प्रभाव नेपालमा अप्रत्यक्षरुपमा पर्छ । त्यसैगरी नेपालको तेश्रोे देशसँगको व्यापारमा बंगलादेशी बन्दरगाह (विशेषगरी चटगाउँ) महत्वपूर्ण विकल्प बन्दैगएको छ । भारत–बंगलादेश तनाव बढेमा पारवहन सहकार्य सुस्त हुनसक्ने संभावना छ । जसले नेपाली निर्यात–आयात लागत र समय दुवै बढाउन सक्छ । भारत नेपालका लागि सबैभन्दा ठूलो व्यापारिक साझेदार हो । नेपालको कुल विदेशी व्यापारको ठूलो हिस्सा भारतसँग हुन्छ । खुला सीमानाका कारण दुवै देशबीच सामानको आवत–जावत सहज छ । नेपाल स्थलरुद्ध देश भएकाले भारतको बाटो प्रयोगगरी अन्तर्राष्ट्रिय व्यापार गर्नुपर्ने बाध्यता छ । नेपाललले प्रयोगगर्ने मुख्य बन्दरगाह र नाका कोलकाता र हल्दिया बन्दरगाह विशाखापट्टनम बन्दरगाह रक्सौल–बीरगञ्ज, विराटनगर–जोगबनी, भैरहवा–सुनौलीजस्ता नाका रहेका छन् । त्यसैगरी ऊर्जा, सडक–रेल, र बहुपक्षीय पहलमा भारत–बंगलादेश सहकार्य कमजोरहुँदा नेपालका कनेक्टिभिटी र ऊर्जा व्यापारका अवसरहरु पनि प्रभावित हुनसक्छन् । पूर्व–पश्चिम राजमार्गसँग जोडिने फिडर सडक, सीमा बजार र औद्योगिक क्षेत्रसम्म पहुँच रहेको छ । ऊर्जा कनेक्टिभिटी अन्तर्गत बिद्युत क्रस–बोर्डर प्रसारण लाइनहरु (ढल्केवर–मुजफ्फरपुर, बुटवल–गोरखपुर, इनारुवा–पूर्णिया आदि) रहेका छन् । त्यसैगरी सुरक्षा र सीमा व्यवस्थापनका सन्दर्भमा सीमापार अपराध, अवैध आवत–जावत, वा शरणार्थीसम्बन्धी चासो बढेमा भारतले सीमा व्यवस्थापन कडा बनाउन सक्ने अवस्था छ । जसले नेपाल–भारत सीमावर्ती क्षेत्रमा आवागमन र स्थानीय अर्थतन्त्रमा असर पार्नसक्छ । सन् १९५० को बिवादास्पद नेपाल–भारत शान्ति तथा मैत्री सन्धि दुई देशबीचको सुरक्षा तगारो बन्ने गरेको छ । सशस्त्र प्रहरी बल (नेपाल) र एसएसबी (भारत) बीच नियमितः संयुक्त गस्ती सीमा बैठक सूचना आदान–प्रदान भैरहेको अवस्था छ । त्यसैगरी नेपाल र भारतबीच नियमितरुपमा संयुक्त सैन्य अभ्यास हुनेगरेको छ ।
नेपाली सेनाका अधिकारीहरु भारतका सैन्य प्रतिष्ठानहरुमा तालिम लिन जान्छन् । दुवै देशका सेनाप्रमुखलाई एक, अर्काको मानार्थ महारथीको उपाधि दिने अनौठो परम्परा छ । गृह सचिवस्तरीय र परराष्ट्र सचिवस्तरीय बैठकहरुको ब्यवस्था गरिएको छ । आतंकवाद, नक्कली मुद्रा, साइबर अपराधजस्ता विषयमा सहकार्यगर्ने भनिएको छ । त्यसैगरी नेपालले परम्परागतरुपमा सन्तुलित कूटनीति अपनाउँदै आएको छ । छिमेकीहरुका बीचमा तनाव बढ्दा पनि नेपाल पक्षधर देखिन नपाउने ब्यवस्था छ । नेपाल भूपरिवेष्ठित देश भएकाले व्यापार, आवागमन र आपूर्तिका लागि भारतमा धेरै निर्भर छ । खुला सीमा, पारिवारिक–सांस्कृतिक सम्बन्ध र लामो इतिहासले दुई देशलाई नजिक बनाएको छ, तर यसले कहिलेकाहीँ असमान शक्ति सम्बन्ध पनि देखाउँछ । भारत क्षेत्रीय महाशक्ति राष्ट्र भएकाले नेपालभन्दा राजनीतिक, आर्थिक र सैन्यरुपमा बलियो मानिन्छ । यसकारण नेपालले आफ्ना राष्ट्रिय हित जोगाउँदै निर्णयगर्दा भारतको प्रतिक्रिया पर्खनुपर्ने हुन्छ । नेपाल–भारत कूटनीतिक सन्तुलनको मुख्य चुनौतीभनेको राष्ट्रिय स्वाधीनता जोगाउँदै नजिकको छिमेकीसँग सहयोग कायम राख्ने र ठूला शक्तिहरुबीच सन्तुलित नीति अपनाउने हो । जसका लागि नेपाललाई दृढ तर सम्वादमुखी कूटनीति, आन्तरिक राजनीतिक स्थिरता, र दीर्घकालीन राष्ट्रिय रणनीति आवश्यक छ । हाल बढ्दैगएको भारत–बंगलादेश तनावले नेपालका लागि प्रत्यक्षभन्दा बढी परोक्ष जोखिम बढाउँछ । त्यसैले नेपालले बहुपक्षीय सहकार्य मजबुत बनाउने, वैकल्पिक पारवहन मार्गहरु विस्तारगर्ने, र सक्रिय–सन्तुलित कूटनीति कायमराख्ने रणनीति अपनाउनु आवश्यक देखिएको छ । क्षेत्रीय चासो र तनावलाई कमगर्न नेपाललले राष्ट्रिय एकता र स्वाबलम्बि अर्थतन्त्रमा बिशेष जोड दिनुपर्ने देखिएको छ । यसप्रति सबै राजनीतिक पार्टी र शक्तिहरुको ध्यान जानुपर्दछ ।




























