स्वाधीनता

स्वाधीनता

कविता

स्वाधीनताको नलडी लडाइँ ।
हुँदैन हाम्रो कहिल्यै बढाइँ ।।
हुँदैन पूरा कहिल्यै पढाइ ।
हुनेछ हाम्रो अधुरो चढाइ ।।

भए खरानी पहिचान हाम्रा ।
जलाउँदैछन् इतिहास राम्रा ।।
पूर्वाद्र्धका गौरवपूर्ण गाथा ।
हिमालका सुन्दर, शान्त माथा ।।

हराउँदैछन् सब, चित्त दुख्छ ।
कताकता पीर असीम लुक्छ ।।
विचार निर्देशित छैन सत्ता ।
गुम्दै छ माटो मुटुको महत्ता ।।

खोजिन्न माटो पद मात्र खोज्छौँ ।
रोजिन्न माटो पद मात्र रोज्छौँ ।।
हुँदै गयौँ आज दिशाविहीन ।
भएन नेपाल निशाविहीन ।।

घुसी सबै बाहिरको बतास ।
पार्दैछ चारैतिर सर्वनाश ।।
स्वाधीनताको नभए प्रकाश ।
दुर्गन्धले युक्त बनिन्छ लास ।।

मेटी सबै संस्कृति, भेष, भाषा ।
उब्जाउँदै छन् सबमा निराशा ।।
रसी चुँडाई जन एकताका ।
छर्छन् सबै बिस्कुन चोर, डाँका ।।

चुनाबको मात्र गरिन्छ चर्चा ।
चारै दिशामा छिरलिन्छ पर्चा ।।
तुहाउँछन्, मर्छ दुई तिहाई ।
चुनाबको के छ र अर्थ भाइ ?

उनै चुनिन्छन् जनता चुनिन्नन् ।
उनै सुनिन्छन् जनता सुनिन्नन् ।।
स्वाधीनताको गरिँदैन खोजी ।
भोका यिनै छन् भरिँदैन गोजी ।।

खोजिन्न नेपाल जहाँजहाँ छ ।
छिमेकको शक्ति त्यहाँत्यहाँ छ ।।
उस्तै परे देश गरिन्छ बिक्री ।
ठुलो छ सत्ता गरिँदैन फिक्री ।।

हुन् शक्ति हाम्रा जनता, हराए ।
जान्छन्, सकेसम्म विदेश पाए ।।
सधैँ उपद्रो छ ! कुनै अडिन्न ।
भागे युवा, माथि कसै चढिन्न ।।

जाग्दैछ उछृङ्खल शक्ति अन्ध ।
छ आज मान्छे घरभित्र बन्द ।।
खुङ्खार नेतृत्व भए त आज ।
हुन्थ्यो कहाँ भ्रष्ट सबै समाज ?

छ मान्नुपर्ने भवसामु लाज ।
ताक्छन् यही देश उडेर बाज ।।
नेपालबासी अब जाग्नुपर्छ ।
स्वदेश खोज्नेतिर लाग्नुपर्छ ।।

हो एकता, शक्ति उठौँ जुरुक्क ।
दैलो उघारी डरको घुरुक्क ।।
होस् शान्तिको सुन्दर राजधानी ।
हिमाल जस्तै दृढ स्वाभिमानी ।।
७ पुस २०८२