प्रगतीवादी साहित्यकार एवम् लेखक केशव नेपाल, नेपालको कम्यूनिस्ट आन्दोलनका अथक योद्धा हुनुहुन्छ । उहाँले नेपालको प्रगतिवादी साहित्यिक फाँटमा थुप्रै कृति प्रकासित गरेर उक्त फाँटमा कोसेढुंगा थप्नु भएको छ । त्यसका साथै उहाँको राजनीतिक, शैक्षिक, सांस्कृतिक र साहित्यिक विषयका कैयौं लेख रचनाहरू पत्र–पत्रिकामा प्रकाशित भइसकेका छन् । मैले उहाँका कतिपय कृतिहरु अध्ययन गरेको छु ।
साहित्यकार नेपालले प्रगतिवादी साहित्यिक फाँटमा जनयुद्धकालमा अभिव्यक्त नवीन युगचेतना, नवीन यथार्थ सौन्दर्यका मूल्य मान्यता र आदर्शहरुमा आधारित भएर ‘आमालाई चिठी’ लेख्नुभएको छ । जनयुद्धमा सक्रिय सहभागी भएर महत्वपूर्ण जनसैन्य मोर्चामा काम गर्दै आएकी छोरीले आफ्नी आमालाई लेखेको यो ‘आमालाई चिठी’ पुस्तक पढ्ने अवसर मलाई इच्छुक प्रतिष्ठानका अध्यक्ष एवम् साहित्यकार हिरामणि दुःखीले दिनुभयो । उक्त पुस्तक अत्यन्त रोचक लाग्यो । एउटा कम्यूनिस्ट क्रान्तिकारी योद्धामा हुनुपर्ने दृढता, प्रतिवद्धता र बलिदानीभाव जनमुक्ति सेनाका योद्धाहरु अनुपम र मुनामा प्रचुर मात्रामा व्यवहारद्वारा अभिव्यक्त गरिएको सन्दर्भले मलाई थप उद्धेलित बनाएको छ । क्रान्तिकारी यौद्धाहरुका लागि यो पुस्तक क्रान्तिको दस्तावेज बन्न पुगेको छ ।

त्यति मात्र होइन, अनुपम र मुनामा देखिएको कान्तिकारी विचार, सिद्धान्त, आदर्श, मूल्य मान्यता, इमान्दारिता र पार्टी, क्रान्ति, देश र जनताप्रतिको समर्पण भावी पिँढीका लागि अनुपम र अनुकरणीय छ । यसका साथै एउटा क्रान्तिकारी योद्धा आफ्नो जिम्मेवारी र कर्तव्यप्रति कति बफादार हुन्छ र हुनुपर्छ, आफ्नो वर्गप्रतिको निष्ठा र वर्गदुश्मनप्रति कति कठोर र आक्रामक हुनुपर्छ, दुश्मनका हरेक काला कर्तुतहरुलाई दुत्कार्दै कसरी भण्डाफोर गर्नुपर्छ, उस्ले खडा गरेका चुनौती र मृत्युका पहाडहरूलाई कसरी चकनाचुर पारेर उसकै टाउकामाथि खन्याइदिनुपर्छ र क्रान्तिकारीहरुले मृत्युलाई जितेर सुन्दर भविष्य निर्माण गर्नुपर्छ भन्ने कुराको ज्वलन्त उदाहरण अनुपम र मुनालाई देखाइएको छ । त्यस्तै क्रान्तिकारीमा हुने एकनिष्ठ प्रेम कस्तो हुनुपर्छ ? त्यो एकनिष्ट प्रेम विवाह बन्धनमा बाँधिएपछि त्यसले दिने आनन्दानुभूती कति अजर–अमर हुन्छ भन्ने एक उदाहरण अनुपम र मुनाको लालजोडी हो ।
प्रेमले दुःख, कष्ट, आपतविपत केही भन्दैन । जब एकजोडी युवा–युवती आफ्नो जैविक आवश्यकतानुसार प्रेम सम्बन्धमा बाँधिन्छन् त्यसवेला उनीहरु हजारौं चुनौतीको सामना गर्न तयार हुन्छन् भन्ने कुरा मुनाले अनुपमलाई भेट्न ‘लार्के भन्ज्याङ’ तिरको यात्रामा भोगेका घटनाक्रमले प्रष्ट पार्दछ ।
मानिसको लागि प्रेम पनि महत्वपूर्ण उर्जा हो । प्रेमले मानिसलाई बाँच्न सिकाउँछ । प्रेमले मानिसलाई हाँस्न र नाच्न सिकाउँछ । वर्गीय प्रेमले त झन् मानिसलाई त्याग र बलिदानद्वारा रक्तिम इतिहास लेख्न सिकाउँछ । कीर्तिमानका नयाँ मंजिलहरु खडा गर्न सिकाउँछ । प्रेममा धोका पाएपछि भने मानिसलाई मृत्युको मुखमा पनि पु¥याउँछ । त्यस्तै कान्तिको नेतृत्व गरिरहेको नेताले धोका दिएर दुश्मन सामू आत्मसमर्पण ग¥यो भने त्यसप्रतिको आस्थाको शिखर ढलेर प्रतिशोधमा बदलिँदो रहेछ । अत्यन्त घृणा जाग्दो रहेछ । अनुपम र मुनाको पवित्र प्रेमले बहादुरीको इतिहास लेख्न सिकायो । दुश्मनको हिरासतमा मुनालाई बम बनेर विस्फोट हुन सिकायो । दुश्मनलाई दुत्कार्न र उसलाई लज्जित भएर कोठाबाट भाग्न वाद्य बनायो । यातनाको राप र तापका बिच पनि खरो भएर स्टिल बन्न सिकायो । अनुपमको सहादतको खबरले शोकमा डुबेर विछिप्त भएकी मुनालाई सुन्दर भविश्यको सपना देखेर बाँच्न सिकायो । शोकलाई शक्तिमा र चिन्तालाई आक्रोसमा बदलेर दुश्मनको बदला लिँदै क्रान्ति सम्पन्न गर्ने अठोट लिन सिकायो । त्यही नै सच्या माक्र्सवादी प्रेम र विवाह सम्बन्ध हो ।
‘आमालाई चिठी’ साहित्यिक कृतिलो अर्को एउटा महत्वपूर्ण कुरा पनि उजागर गरेको छ । त्यो के भने क्रान्तिकारी विचार, सिद्धान्त र आदर्शबाट स्खलित हुनेहरु, क्रान्तिकारी आन्दोलनबाट भागेर दुश्मनको क्याम्पमा आत्मसमर्पण गर्नेहरु, राष्ट्र र जनतालाई धोका दिएर गद्दारी गर्नेहरु कदापी कम्युनिस्ट हुन सक्दैनन् । त्यस्ता गद्दारहरुले जतिसुकै आडम्बर देखाएर माक्र्सवादको बखान गरे पनि सारमा उनीहरु माक्र्सवाद विरोधी शक्तिहरु हुन् । त्यस्ता भगौडाहरू क्रान्तिबाट भाग्दैमा क्रान्ति रोकिँदैन । सच्चा क्रान्तिकारीहरुले हज्जारौँ चुनौतीका पहाडहरू पन्छाउँदै समाजमा वर्ग रहुञ्जेल क्रान्तिलाई निरन्तर अगाडी बढाइरहन्छन् र बढाइरहनु र्पछ भन्ने कुरालाई जोड दिएको छ ।
अर्को कुरा एउटा असल नारीले आफू दोजिया हुँदा र गर्वको बच्चा दुश्मनको हिरासतभित्रको चरम यातनाका बिच कसरी बचाउँदो रहेछ र बचाउनुपर्दो रहेछ, दुश्मनलाई थाहै नदिई प्रशव पीडा सहेर कसरी सकुसल दुश्मनको घेराबाट निकालेर बचाउँदा रहेछन् र बचाउनु पर्दोरहेछ भन्ने सजिव चित्र मुनाको घटना प्रकृतिले देखाउँछ । यो सबैका लागि गतिलो शिक्षा हो ।
यो कृतिमा केही दूर्वल पक्षहरु अवस्य छन् । सवल पक्षहरू भित्र केही दूर्वल पक्षहरू हुनु स्वभाविक हो । यो द्वन्द्ववादको नियम भित्र पर्ने विषय हो । म पुस्तकको समालोचक बनेर यसका सवल र दूर्वल पक्षहरु केलाउनतर्फ लागिन । त्यो काम समालोचकहरुको हो । मैले यो कृति पढेपछि अनुभूत गरेका कुराहरुलाई औंल्याउन खोजेको मात्र हुँ ।
यो कृति पढ्दै गर्दा ममा एउटा जिज्ञासा भने अवश्य जाग्यो । त्यो के भने यो कृति जुन वैचारिक धरातलबाट लेखेर क्रान्तिकारी कम्युनिस्टको जीवन दर्शनलाई उजागर गर्न खोजियो यो अत्यन्त सुन्दर र सान्दर्भिक विषय हो । यसमा लेखकलाई बधाई दिनैपर्छ । तर प्रश्न कहाँनेर उठ्छ भने वैचारिक र सैद्धान्तिक रुपमा सिर्जनाअनुरुपको त्यो धरातलमा हामी टेकेका छौं कि छैनौं ? त्यो आदर्श र निष्ठामा प्रतिवद्ध छौं कि छैनौ ? त्यो निरन्तर क्रान्तिपथमा लामवद्ध छौं कि छैनौ ? त्याग, वलिदान र समर्पणको अभियानमा छौं कि छैनौ भन्ने कुराले ठूलो महत्व राख्दछ । त्यही आन्दोलनसँग जोडिएको एक हिस्सा आज इतिहासको व्याजमा रमाएको छ । इतिहासको व्याज खाएर झुसिलो डकार फाल्दै वर्तमानको नितान्त फोहोरी खेलमा चुर्तम्म डुबेको छ । त्यति मात्र होइन कम्युनिस्टको खोल ओढेर कम्युनिस्ट सखाप पार्ने अभियानमा लागेको छ । चाहे झापा आन्दोलनका अभिनेता हुन् चाहे दशवर्षे जनयुद्धका । यसो गर्नु ठिक हो कि होइन ? क्रान्तिकारी विचार, सिद्धान्त र आदर्शले इतिहासको व्याज खाएर प्रतिकृयावादी सत्ता र व्यवस्थामा आत्मसमर्पण गर्ने र क्रान्तिकारी विचार सिद्धान्तप्रति झुसिलो डकार फाल्नेहरुलाई गद्दार घोषणा गरिसकेको छ । निश्चय पनि ‘आमालाई चिठी’का रचनाकार त्यो पङ्क्तिमा हुनुहुँदैन भन्ने कुरामा हामी आशावादी छौं । गद्दारीको कित्तामा उभिएका खलनायकहरूप्रति धारिला शाब्दिक अश्त्र प्रयोग गरेर उनीहरुको मुखुण्डो अनावरण गर्न कृतिकारलाई विशेष अनुनोध सहित शुभकामना !






























