जेनजीले भनेजस्तो हुने छाँट छैन, अब स्वाधीन संयुक्त सरकार गठन हुनुपर्छ : सीपी गजुरेल

जेनजीले भनेजस्तो हुने छाँट छैन, अब स्वाधीन संयुक्त सरकार गठन हुनुपर्छ : सीपी गजुरेल

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ९ नं. ब्यूरोले आयोजनामा सम्पन्न ‘वर्तमान राजनीतिक अवस्था र आमूल परिवर्तनको आवश्यकता’ विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै अतिथि वक्ताहरुले जेनजी विद्रोहपछि विकसित असाधारण राजनीतिक परिस्थितिमा छरिएर रहेका सबै क्रान्तिकारीहरु एक भएर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रमलाई प्रमुख वक्ताको रुपमा सम्बोधन गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव सीपी गजुरेल गौरवले क्रान्तिकारी कम्युनिस्टहरु एक भएर अगाडि नबढे देश युक्रेन बन्ने खतरा रहेको बताउनु भएको । जेन्जी विद्रोहबाट पाठ सिक्दै नेपालका कम्युनिस्टहरुले वर्तमान संसदीय व्यवस्थालाई विस्थापनको तयारी गर्नुपर्ने आवश्यकतामाथि पनि जोड दिनुभयो ।


शुक्रबार राजधानीको संवाद डबलीमा भएको अन्तरक्रियालाई सम्बोधन गर्दै उहाँले देश गम्भीर संकटतिर जान थालेको र त्यसको हल गर्न सबै क्रान्तिकारी कम्युनिस्टहरु बिचमा एकता, ध्रुवीकरण नभए मोर्चाबन्दी गरेर भए पनि अगाडि बढ्नुपर्ने गर्नुपर्ने बताउनु भयो । जेन्जी बिद्रोहको बलबाट प्रधानमन्त्री बनेकी सुशिला कार्कीले क्रान्तिकारीहरुलाई वार्तामा नबोलाएको प्रति रोश व्यक्त गर्दै उहाँले भन्नुभयो, “विगतमा भ्रस्टाचार र कुशासनमा लिप्त दलहरुलाई मात्रै निकासको लागि प्रधानमन्त्रीले बोलाएर यो सरकार पनि पुरानै दलदलमा फसेको पुष्टी हुन्छ ।” उहाँले अगाडि भन्नुभयो, “जेन्जीले भनेजस्तै हुने छाँट पनि देखिएन अब निकासका लागि स्वाधीन संयुक्त सरकार एक मात्रै विकल्प हो ।”


क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका ९ नं ब्यूरो इन्चार्ज दिनेश शर्मा सागरको अध्यक्षता तथा सेक्रेटरी चिन्तामणि पौडेलको सञ्चालनमा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा(बहुमत)का महासचिव धर्मेन्द्र बास्तोलाले जेन्जी बिद्रोहबाट जनताले ठूलो अपेक्षा राखे पनि नीति, विचार र राजनैतिक चेत तथा नेतृत्वविहीनताले पुरानै व्यवस्था र भ्रष्टहरु बँच्ने अवस्था आएको बताउनु भयो । बास्तोलाले जेन्जीहरुकै बलबाट बनेको सरकारले छानीछानी परिवर्तनकारी जेन्जीहरुलाई पक्रने विषय गम्भीर भएको बताउँदै भन्नुभयो, “जेन्जी बिद्रोहले मुलतः भ्रष्ट र दलाल सत्ताको बिस्थापन चाहेको थियो तर, तिनैलाई मुद्दा लगाउने कुराप्रति हाम्रो विरोध छ, जेन्जीहरुले अब राष्ट्रिय स्वाधीन संयुक्त सरकारको माग गर्नुपर्छ ।”

नेकपाका स्थायी समिति सदस्य अनिल शर्माले जेन्जी बिद्रोहपछि देशमा व्यापक ध्रुवीकरणको आवश्यकता रहेको र सबै क्रान्तिकारी कम्युनिस्टहरु एकठाउँमा आउनुपर्नेमा जोड दिनुभयो । जेन्जीलाई पक्रने र मुद्दा हाल्ने विषय गलत भएको बताउँदै उहाँले भन्नुभयो, “वर्तमान सरकारले म्याण्डेट अनुसार भ्रष्ट र दलालहरुलाई जेल हाल्नुपर्नेमा परिवर्तनकारीलाई निसाना बनाईरहेको छ, यस्तै चल्दै जाने हो भने बाँकी भ्रष्टहरुले लुटेर बनाएका घर जलाउनुपर्छ ।”


वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका प्रवक्ता राजेश्वरी सुवेदीले विभिन्न समूहमा विभक्त नेपाली कम्युनिस्टहरु आफूलाई बाहेक अरुलाई कम्युनिस्ट नठान्ने प्रवृत्तिको करण प्रतिक्रियावादीहरुले ठाउँ पाएको जिकिर गरिन् ।”
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका ९ नम्बर ब्युरो इन्चार्ज दिनेश शर्माले जेन्जीमा वर्ग र वर्गीय चेतको अभावका कारण सो आन्दोलनको उपलब्धि शून्य जस्तै भएको बताउनुभयो । आफूहरुले सम्पूर्ण क्रान्तिकारीहरुलाई गोलबन्द गरेर दलाल पँुजीवादी संसदीय व्यवस्थाविरुद्ध संघर्ष छेड्ने चेतावनी पनि दिनुभयो ।


सो पार्टीका ९ नम्बर ब्युरो सचिव चिन्तामणी पौडेलले देशमा संसदवादी दल र व्यवस्थालाई विस्थापन गरी वैज्ञानिक समाजवादी व्यवस्थाको लागि संघर्षको खाँचो भएको बताउनुभयो ।


कार्यक्रममा नेकपा मसालका प्रवक्ता रामप्रकाश पुरीले पछिल्लो समयमा नेतृत्वका बारेमा उमेर हदको विषय चलेको र जुन विषय वैज्ञानिक नभएको जिकिर गर्नुभयो । “हाम्रो पार्टीका महामन्त्री मोहनविक्रम सिंह, क्राकपा नेपालका पूर्व महासचिव मोहन वैद्य र वर्तमान महासचिव गौरवहरुप्रति म सम्मान व्यक्त गर्दछु र उहाँहरुको अझै पनि देशमा आवश्यकता छ,” उहाँले थप्नुभयो ।


संस्कृतिक प्रतिरोध अभियानका सदस्य संगित स्रोताले क्रान्तिकारी शक्तिहरु छरिएरभन्दा एक भएर परिवर्तनको लागि तयारी गर्नुपर्नेमा जोड दिनुभयो । वैज्ञानिक समाजवादी कम्युनिस्ट नेपालकी प्रवक्ता राजेश्वरी देवकोटाले पनि क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुबिच एकताको आवश्यता रहेकोमा जोड दिनुभएको थियो ।

कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल काठमाडौं जिल्ला सचिव केदार खतिवडाले जेन्जी बिद्रोहबाट पाठ सिक्दै नेपालमा क्रान्ति र बिद्रोहबाट परिवर्तन सम्भव भएकोले सबै एक भएर तयारी गर्नुपर्ने धारणासहित स्वागत मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रम १०९ औं महान अक्टोबर क्रान्ति दिवसको सन्दर्भ पारेर आयोजना गरिएको थियो । कार्यक्रममा वक्ताहरुले महान अक्टोबर समाजवादी क्रान्तिबाट महत्वपूर्ण शिक्षा लिएर परिस्थितिलाई सर्वहारा श्रमजीवीको पक्षमा पार्न क्रान्तिकारी शक्तिहरु भावी जनविद्रोहको तयारीमा जुट्नुपर्नेमा पनि जोड दिनुभएको थियो ।