आदिवासी !

आदिवासी !

कविता

उसको यात्रा भोकबाट सुरु भएको थियो
भोकले लखतरान पेटको लागि
कैयन पटक खान नमिल्ने कुरा पनि खाने गथ्र्यो
तर जब पहिलो पटक
अभक्ष्य कुरा खाएपछि बिरामी भयो
त्यसपछि
उसैले थाहा पायो भक्ष्य अभक्ष्यको फरक
भोक मेटाउनको लागि
ताकेर ढुङ्गा हान्न पनि सिक्यो उसले ।
ठीक ठीक तरिकाले निसाना लगाउन सिक्यो
फलफूल तथा मासुका लागि
ढुङ्गा हान्दा हान्दै
थाहा छैन कुन कुन ढुङ्गा जुधे होलान
आगोको झिल्का पो निस्क्यो
अनि सुकेको घाँस डढ्न थाल्यो
पोलिएको कुरा खाँदाको सामुहिक स्वाद
पहिलो पटक उसैले थाहा पायो ।
बल्दै गरेको आगो देखेर
जसलाई ऊ आफ्ना शत्रु ठान्थ्यो
ती जङ्गली हिंस्रक जनावरहरू जब भाग्न थाले
त्यसपछि
आफ्नो सुरक्षाको लागि
आगोसँग जीवनको नाता के रहेछ भन्ने पनि
पहिलो पटक उसैले जान्यो ।

बोट बिरुवा उमार्नलाई
बीऊ कसरी उम्रन्छ भन्ने कुरा
कैयन शताब्दीको यात्रामा उसैले सिक्यो
धरतीको माटोमा बीउ रोप्न
बिस्तारै बिस्तारै उसैले जान्यो
धरतीको उर्वरा शक्तिलाई चिनेर
श्रृष्टिमा आफ्नो वङ्श–लता उसैले विस्तार गर्यो
ए तथाकथित सभ्य मानिसहरू हो !
तिमी उसैका सन्तान हौ
छलछामका उपाय सिकेर
तिमी उसैलाई ठग्न थालेका छौ
जसको यो उर्वर धरतीमा
पहिलो हक छ हजारौं वर्षदेखि
उसलाई आफ्नो हकबाट वेदखल गर्न सुरु गर्यौ ।

तर याद राख
उसको यात्रा भोकबाट सुरु भएको थियो
भक्ष्य– अभक्ष्यको फरक छुट्याउँदै
उसैले निशाना लगाउन सिकायो
सारा सभ्यतालाई
उसले अझै पनि बिर्सेको छैन
ऊ अहिले पनि जान्दछ
निशानामा ढुङ्गा हान्ने
आफ्नो आदिकालीन शाहस र कौसल‌ ।

तिमीले शायद उसलाई बिर्सदै गयौ
उसको भोकलाई पनि अहिले भुल्यौ
सत्ताको मदान्ध छद्म पाखण्डको कारण
तिमी व्यर्थको सभ्यता वोधमा घमण्ड गर्छौ ।
उसलाई अहिले पनि सम्झना छ
आफ्नो यात्राको सुरुवात
अनि जीवन सङ्घर्षका घुम्ति र बिसौनीहरू
उसलाई अहिले पनि सम्झना छ ।