दुःखीका कवितात्मक प्रवृित्तहरू

दुःखीका कवितात्मक प्रवृित्तहरू

समालोचना

प्रवेश

सिर्जना अत्यन्त भयावह युद्धको दुन्दुभीमा पनि प्रस्पूmटन हुँदोरहेछ । साहित्यको प्रयोजन समाज परिवर्तनका लागि हुनुपर्छ भन्ने मान्यता बोकेको सर्जकबाट वैचारिक साहित्यको जन्म हुने गर्छ । त्यसमा विचारलाई सौन्दर्यले अभिसिञ्चन गराउन सकियो भने साहित्य साहित्यका लागि नभएर साहित्य समाजसुधार र युगनिर्माणका लागि गतिलो हतियार बन्न सक्छ । समाज र राष्ट्रमा घटित हुने हरेक क्रियाकलाप नागरिकसँग अन्तर्सम्बन्धित रहने गर्छन् । हरेक सामाजिक, आर्थिक, सांस्कृतिक पक्षहरू साहित्यसँग अन्तर्मिश्रण भएर आउन सकेन भने त्यस साहित्यलाई समसामयिक साहित्य भन्न सकिँदैन । समसामयिक कालखण्डका यावत् घटनालाई साहित्यले आफ्नो विषयवस्तुसँग सम्मिलन गराउन सक्नुपर्छ । देशको राजनीतिक घटनाक्रम तथा परिस्थितिले सामाजिक प्राणी सर्जकलाई पनि प्रभावित गर्छ । प्रत्यक्षपरोक्ष रूपमा स्रष्टाले अनुभूत गरेको यथार्थ प्रतिबिम्बन नै साहित्यमा प्रयोग हुने गर्छ ।

नेपाल राष्ट्रले पनि अत्यन्तै व्यापक र गम्भीर चेतनासहितको जनयुद्धको फड्को मारेको छ । जनसापेक्षताबाट मूल्याङ्कन गर्दा सो युद्ध अत्यन्त्यै अग्रगामी र विश्वइतिहासमा उल्लेख्य घटनाका रूपमा पनि स्थापित छ । यसै जनयुद्धमा हजारौँ लेखक, कलाकार, मजदुर, किसान समाहित भएका थिए । कतिले युद्धले मोड लिन नपाउँदै आफ्नो जीवन समाप्त गर्न पुगे त, कति अझै पनि सङ्घर्षरत छन् । यसै सन्दर्भमा समर्पित र सक्रिय सर्जक हिरामणि दुःखीको चर्चा यस सन्दर्भमा हुँदै छ । वि.सं. २०२५ असार १४ गते दाङ जिल्लामा जन्मेका दुःखी जनयुद्धमा बन्दुक मात्र होइन, लेखनीको कारतुस पड्काउने सशक्त कवि हुन् । सिर्जनाऊर्जा भएका व्यक्ति जस्तो परिस्थितिमा पनि केही सिर्जना गरिरहन्छन् । ‘भनिन्छ ढुङ्गाको कापा फोरेर पनि उम्रन्छ पीपल । ’

‘परिभाषा’ कवितासङ्ग्रह हिरामणि दुःखीद्वारा विभिन्न समयमा सिर्जना गरिएका तेत्तीसवटा कविताहरूको सङ्कलन हो । वि.सं. २०६१ सालमा पुस्तकाकार रूपमा सार्वजनिक हुनुभन्दा अगाडि विभिन्न राष्ट्रिय तथा स्थानीय पत्रपत्रिकाहरूमा प्रकाशित भएको देखिने प्रस्तुत कवितासङ्ग्रहको आफ्नै खालका प्रवृित्त तथा विशेषताहरू छन् । संरचनागत रूपमा पृथकपृथक स्वरूप देखिए पनि वैचारिक धरातलमा दुःखीका कविताहरू प्रगतिवादी चेतनाद्वारा अभिप्रेरित देखिन्छन् । कवि स्वयम्ले २०५१ सालदेखि यताका कविताहरू यस सङ्ग्रहमा समावेश गरिएको कुरा स्वीकार गरे पनि विशेष गरी कविताको परिवेश जनयुद्धकालीन सामाजिक, आर्थिक तथा सांस्कृतिक जडताप्रति असन्तुष्टिमा केन्द्रित भएको देखिन्छ । विशेष गरी प्रस्तुत ‘परिभाषा’ कवितासङ्ग्रहको केन्द्रीय कथ्य समाजमा विद्रोहात्मक सोचको विकासविना सामन्तवर्गको निर्मूल सम्भव छैन भन्न खोज्नु हो । नेपालको नमुनामय जनयुद्धको खिलापमा देशीय सामन्तवर्ग तथा विदेशी प्रतिक्रियावादी तप्का कसरी क्रियाशील रहेका छन् भन्ने सन्दर्भलाई यस कवितासङ्ग्रहमा निकै खरो र मार्मिक रूपमा उठाइएको छ । तत्कालीन सामन्ती राजतन्त्रले आफ्नो गद्दीसुरक्षाका लागि मच्चाएको ताण्डवनृत्य र सामन्तवादीहरू उसकै पाउमा समर्पित भएको सन्दर्भलाई कवितामा व्यक्त गरिएको छ । प्रस्तुत कवितासङ्ग्रहलाई मूल्याङ्कन गर्दा दुःखीका कवितात्मक प्रवृित्तहरू विविधतामय देखिन्छन् । निश्चित प्रवृित्तगत विशेषताका आधारमा प्रस्तुत कवितासङ्ग्रहको व्याख्या यसप्रकार गर्न सकिन्छ ः

१. देशीविदेशी प्रतिक्रियावादप्रति आक्रोश

नेपालको सामाजिक, भौगोलिक, आर्थिक, सांस्कृतिक पक्षको समृद्धिका लागि इतिहासदेखि नै देशी सामन्तवाद तथा विदेशी प्रतिक्रियावादी शक्तिले गर्ने गरेको चलखेलको यथार्थलाई दुःखी आफ्ना कवितामा आक्रोश व्यक्त गर्छन् । परम्परादेखि जनतामारा कानुन बनाएर लुटको राज गर्दै आएका सामन्तहरूविरुद्ध अब मोर्चाबन्दी युद्ध लड्नुपर्छ भन्ने हुङ्कार बोल्दै सोझासाझा किसानलाई फसाएर राज गर्न चाहने सामन्तहरू आपूm धुमधामसँग चाडपर्व मनाउँछन् र गरिबका सम्पत्ति हडप्न पछि पर्दैनन् भन्ने कुरालाई दुःखी यसरी व्यक्त गर्छन् ः
जसको हलगोरु र लैनु गाई
अहिलेको तीज मान्न साहुकहाँ गैसके
तिनीहरूलाई केको खुसी ?
जसको तल्लो पाटो र तामो¬काँसो
पोहर सालदेखि नै साहुका सम्पत्ति भैसके । (दसैँ होइन दसा हो यो, ९)

सामन्तवादी राज्यसत्ता भएको देशमा चाडपर्व, दसैँतिहार भनेको हुनेखानेका लागि मात्र हुने गर्छन् । साहुमहाजनहरू पञ्चवली जुटाउँदै चाडपर्व मानाउँछन् भने गरिबकिसानहरू करेसाबारीसहित ओतलाग्ने झुपडी पनि बन्धकी र राजिनामा दिन वाध्य हुन्छन् भन्ने तीतो यथार्थलाई उक्त कविताले आफ्नोे विषयक्षेत्र बनाएको छ । यो सामन्ती कुसंस्कारका विरुद्ध चेतनशील भएर युद्ध लड्नुपर्छ भन्ने सन्देश पनि दुःखी आफ्ना कवितामा अभिव्यक्त गर्छन् । सांस्कृतिक रूपमा आफ्नो क्षमताअनुरूप चाडपर्व मनाउनुपर्नेमा देखावटी पुँजीवादी आडम्बरले थुप्रै गरिबहरूको उठीबास लागेको कुरालाई पनि यस कवितासङ्ग्रहमा उल्लेख गरिएको छ । आजका शोषणदमनबाट पाठ सिक्दै त्यस वर्गप्रति पनि युद्ध छेड्नुपर्छ । हुरीसरी आँधीमय युद्धको हुन्डरी मच्चाउनुपर्छ । युद्धको हुन्डरी नचलाइकन परम्परादेखि जरा गाडेको भूमाफियाहरूको अन्त्य हुँदैन भन्ने सन्देश पनि दुःखी आफ्ना कवितामा दिन चाहन्छन् ।

यसका साथै, प्रजातन्त्र स्वभावैले जनपक्षीय हुनुपर्छ । जनताले अपनत्व अनुभव गर्न नसक्ने प्रजातन्त्र नाममात्रको प्रजातन्त्र हो, पुँजीवादी प्रजातन्त्र हो । समन्तहरूले परिभाषित गर्ने प्रजातन्त्र वास्तवमा प्रजातन्त्र नभएर प्रजातन्त्रको नाउँमा गरिने षड्यन्त्र मात्र हो । सामन्ती प्रवृित्तका शासकहरूले व्यक्त गर्ने राजद्रोही र विद्रोहीको परिभाषामा पनि निकै भिन्नता छ भन्दै दुःखी परिभाषा शीर्षकको कवितामर्फत् यसो भन्न पुग्छन् ः
हत्याको परिभाषा भन या अपराधको
देशद्रोहीको परिभाषा भन या आतङ्कवादको ।
राष्ट्र्वादको परिभाषा भन अथवा प्रजातन्त्रको
तिम्रो र उसको परिभाषा फरक छ
तिम्रो परिभाषाभित्र
एउटा अपराध लुकाउन लाख अपराध गर्नुपर्छ । (परिभाषा, ५९)

२) राजनीतिक विकृति र प्रशासनिक पाखण्डीपनको विरोध

राज्यव्यवस्थाभित्रका कर्मचारीतन्त्रभित्र देखिने सामन्ती सोच र अकर्मण्यताले जनता कसरी प्रताडित भएका छन् ? राजनीतिक चालबाजी र कुसंस्कारले देश आक्रान्त अवस्थामा गुज्रिइरहेको छ । यसको परिवर्तन तथा सुधार आवश्यक छ भन्ने सन्दर्भलाई दुःखीले आफ्नो कवितामा यसरी व्यक्त गर्छन् ः
देशविकास र गरिबी उन्मूलनका
ललीपप देखाएर
जति सक्छौ कोठामै बसेर ‘जनमत’ बटुल
कथित जनप्रतिनिधि भएको स्वघोषणा गर
प्रजान्त्रको ढोल बजाऊ
चुस्ने चुसिने खेल पनि यथावत् राख । (लालयोद्धा, १४)

जनतालाई गरिबीउन्मूलन, देशविकासजस्ता झुटा सपना बाँड्दै जनताका लागि एकरत्ति काम नगर्ने राजनीतिक संस्कारप्रति आक्रोश पनि उनका कवितामा व्यक्त गरिएको छ । प्रजातन्त्रको मन्त्र जप्दै मानवअधिकार हनन गर्ने यथार्थ राजनीतिक विकृितप्रति कवि दुःखी खरो उत्रन्छन् । जनताका रगतपसिना चुस्ने राजनीतिक कुसंस्कृतिको भण्डारफोर गर्नुपर्छ भन्ने कुरामा कवि दृढ छन्, प्रतिबद्ध छन् ।

साहित्य समाजसापेक्ष यथार्थमा केन्द्रित हुनुपर्छ भन्ने कवि हिरामणि दुःखीको कवितामा क्रान्तिसम्बन्धी विभिन्नखालका बिम्बहरूको प्रयोग भेटिन्छ । सरल, सरस र संवेद्य भाषाशैलीमा रमाउने कवि दुःखीका कवितामा निम्नवर्गीय जनताको आवाजलाई अटाउने प्रयास गरिएको छ ।

३. सामन्ती शोषणप्रति खबरदारी

दुःखीका अधिकांश कविताहरू शोषित जनताका पक्षमा केन्द्रित छन् । कालान्तरदेखि नै विविध वहानामा शामन्तहरूले निम्नवर्गलाई सताउँदै आएका छन् । त्यसखालका समुदायको कथाव्यथा लेख्नमा दुःखीका कविताहरू केन्द्रित देखिन्छन् । शोषकसामन्तहरूले विविध वहानामा विविध परिभाषा दिएर निर्दोष नागरिकहरूलाई रित्याउँदै गरेको घटनालाई पनि दुःखीका कविताले आफ्नो विषयवस्तु बनाएका छन् । जस्तोसुकै षड्यन्त्रको जालो फिँजाए पनि सामन्तवादीहरूको समाप्ती अवश्यम्भावी रहेको तथ्यलाई पनि दुःखीका कवितापुञ्ज एक वस्तुतथ्य सावित हुन्छन् ।

४. वर्गीय आन्दोलनको अपरिहार्यताको सन्देश

मानवसभ्यताको आदिकालदेखि आजपर्यन्त निरन्तर रूपमा उपल्लोवर्गले तल्लोवर्गलाई, हुनेखानेले हुँदा खानेलाई, अग्लाले होचालाई, बलिष्ठले निर्बलियोलाई दमन गर्दै आएकाले अब पिछडिएका, हेपिएका, निम्नवर्गका व्यक्तिहरू जुर्मुराएर उठ्नुपर्छ भन्ने वर्गीय आन्दोलनको महŒव र मूल्यका विषयमा दुःखीका कविताहरू हुङ्कार बोल्छन् । दुःखीका कवितात्मक हरफहरू निम्नवर्गको सार्थक मुक्तिआन्दोलनको सारथी बन्न सक्षम देखिन्छन् ।

५. आर्थिक विपन्नताले उब्जाएको विखण्डनको चित्रण

समाजमा आर्थिक असमानताले निकै जटिल परिस्थिति सिर्जना गरेको छ । अर्थराजनीतिक पक्षहरू स्पष्ट नहुँदा सम्पन्नता र विपन्नताका खाडलहरू निकै गहिरिएर गएको छ । समाजमा सिटामोलको गोली खान नपाउने, अनाहकमा गोली पड्केर मर्नुपर्ने विरोधाभाषपूर्ण अर्थराजनीतिक यथार्थले हाम्रो समाज निकै धुमिल बन्दै गएको सन्दर्भलाई पनि यस कवितासङ्ग्रहमा चित्रण गरिएको छ । नेपाली जनता भोकै नाङ्ग्रै जिउनुपर्ने कारण, आर्थिक विपन्नताको मूल कारक भनेको आदिकालदेखिको समन्तवादी राज्यसत्ता रहेको तथ्यलाई पनि उनका कविताले छर्लङ्ग पारेका छन् ।

६. विस्तारवादी र साम्राज्यवादी शक्तिप्रति आक्रोश

नेपाल इतिहासको कालखण्डमा कहिल्यै पनि कसैको अधीनमा रहेन तर अप्रत्यक्ष रूपमा सधैँ कसैको निर्देशन र हस्तक्षेपमा सञ्चालन हुनुपरेको तथ्यलाई दुःखीले आफ्ना कविताहरूको केन्द्रीय कथ्य बनाएका छन् । विशेषगरी अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादले अब त झन्् खुलेआम हस्तक्षेप गर्न लागेको कुरा दुःखी कवितामा प्रस्ट्याउँछन् । देशको परिवर्तित सन्दर्भमा नेपालका लागि कुनै पनि राजनीतिक, आर्थिक, सांस्कृतिक दासता स्वीकार नहुने कुरामा दुःखीको कविता जोडदार रूपमा बुलन्दिन्छन् । वर्गीय मुक्ति आन्दोलनको विकसित शृङ्खलालाई साम्राज्यवादी¬विस्तारवादी दलालहरूले बीचैमा तोडमोड पार्ने प्रयास गर्दै गरेकाले त्यसको खबरदारी गर्ने दिसातर्फ विशेष क्रियाशील हुन पनि दुःखी आफ्ना कवितामा आह्वान गर्छन् ।

७. जनयुद्धलाई युगको मागका रूपमा चित्रण

जनयुद्ध कसैको लहडमा सञ्चालन भएको राजनीतिक अभियान होइन । यो न त कसैको व्यक्तिगत चाखको विषय हो । यो त नेपाली जनताको विद्रोहको आगोबाट जन्मेको युगको अपरिहार्य माग हो भन्ने सन्दर्भलाई दुःखीका कविताले निकै प्रभावकारी रूपमा चित्रण गरेका छन् । नेपाली जनयुद्ध हाम्रो देशमा मात्र नभएर अन्तर्राष्ट्रिय राजनीतिक परिदृश्यमा देखिएको नमुना राजनीतिक घटनाक्रम हो भन्दै दुःखीको कवित्वले जनयुद्धका तरङ्गहरूलाई समाजमा सही र आलाङ्कारिक प्रक्षेपण गरेको देखिन्छ ।

त्यस्तै, हिरामणि दुःखीको परिभाषा कवितासङ्ग्रहपछि अर्को कवितासङ्ग्रह पनि प्रकाशित भएको छ । त्यस कवितसङ्ग्रहको नाम ‘जून पस्किने यात्रामा’ हो । यस लेखकलाई सूचना भएसम्म यस कवितासङ्ग्रह लेखकको जन्मथलो दाङमा सार्वजनिक तथा व्याख्यान भएको हो । साहित्य समाजमा वर्गसङ्घर्षको चेतना जगाउने हतियार हो भन्ने मान्यता राख्ने दुःखीको यस कवितासङ्ग्रह पनि जनयुद्धको प्रतिबिम्ब र युद्धको मोडल फेरिएको वर्तमान परिवेशको सच्चा ऐना हो । ‘हाम्रा साहित्य ओकल्ने कलमहरू दुश्मनका अगाडि मिसायल मात्र होइन, अणु र परमाणु बम नै भएर विष्फोट हुनुपर्छ’ भन्ने मान्यता राख्ने दुःखी यस कवितासङ्ग्रमा भने जनतालाई केही नयाँ चीज पस्कनुपर्छ, नयाँ वस्तुको प्रतीक्षामा आजका जनता रहेको कुराले चिन्तित बनाइरहन्छ । कविताले युद्ध र परिवर्तनका विविध सन्दर्भलाई उठाउँदा उठाउँदै पनि कविताको केन्द्रीय भाव राष्ट्रियता, स्वतन्त्रता तथा परिवर्तनको पक्षमा नै अन्तर्सम्बन्धित रहेका छन् । लामाछोटा आकारका पच्चीसवटा कविता तथा दसवटा गजलहरूलाई रङ्गीन मालामा उनिएझँै लाग्ने यस कवितासङ्ग्रह जनयुद्धको रन्कोदेखि शान्तिप्रक्रियाको फन्कोसम्म विचरण गरेको देखिन्छ । यसका साथै, समाजमा विद्यमान विकृति र अराजकताका सन्दर्भमा कविताहरू खरो रूपमा उभिएका छन् । गणतन्त्र स्थापनाका गौरवमय अनुभूतिहरूलाई पनि कवितामा विशेष रूपमा उठाइएको छ ।

कवि दुःखीको दुवै कवितासङ्ग्रहको मूल्याङ्कन गर्दा उनी प्रतिबद्ध प्रगतिवादी कवि हुन् किनभने उनको मुख्य लेखनीको धरातल वर्गसङ्घर्ष र सर्वहारावर्गीय पक्षधरता हो । जनयुद्धको क्यानभासमा हाम्रो समाजको माटोले यथार्थ रङ्गीन तस्वीर कोर्ने प्रयासमा उनका अधिकांश कविताहरू उद्यत छन् । समन्तवादी सोच भएका सत्रुपक्षले समाजलाई दुःख दिँदा कवि यस्तो आक्रोश पोख्छन्, जुन कुनै बारुदको धमकाभन्दा कम अनुभव हुँदैन । सुरुसुरुका कवितामा विचारपक्ष बढी खरो रूपमा प्रस्तुत हुँदा सौन्दर्य पक्ष केही हलुको भएर राजनीतिक सम्बोधनजस्ता अनुभूति पनि पाठकलाई हुने गर्छन् । लेखनीको सङ्घर्षमा नियमित क्रियाशील दुःखीका यी कवितासङ्ग्रहरू दरो आधारहरू हुन् यसबाट के निष्कर्ष निकाल्न सकिन्छ भने आगामी दिनमा दुःखीबाट यस्ता अझै उत्कृष्ट साहित्यिक सिर्जनाको अपेक्षा गर्न सकिन्छ ।

दुःखी कविताहरूमा सपनाका सुन्दर पूmलहरू रोप्छन् र त्यसलाई सफलीभूत पार्ने क्रममा विश्वस्त बन्छन् । यस्तै भाव बोकेको कविता हो–

‘सहर र सपना’ शीर्षकको कविता यसमा युगीन सुन्दर सपनाको परिकल्पना गरिएको छ । दुर्गम समाजलाई सर्वसुलभ तथा अभावभित्रका तीता चोटहरू समन गर्न परिवर्तनको सपना बोकेर हिंड्ने सचेतवर्गको समाज रूपान्तरण गर्ने सपनाको विषयमा दुःखीका कवताहरू स्पष्टसँग बोलेका छन् । परिवर्तनका सपना देख्नेले मात्र संसार फेर्ने सक्छ भन्दै उनी कवितामा यसरी बोल्छन् ।
इतिहास बनाउन
सपना देख्नुपर्छ
सपना देख्नेहरूले मात्र
छालाको काँचुली फेर्न सक्छ । (सहर र सपना, १)

अधिकांश कविताले विषयवस्तुका रूपमा क्रान्तिका पृष्ठभूमिलाई लिएकाले दुःखी कवितामा राजनीतिक परिवर्तनको छाप देख्छन् । क्रान्तिको नेतृŒव गर्ने कित्ता र अवसवादी कित्ताको पहिचान हुनपर्ने तथ्यलाई कवि दुःखीले ‘जुलुस र कविता’ शीर्षकमा शीर्षकमा स्पष्ट पार्छन् । रूपान्तरणका यात्रामा क्रान्तिको वास्तविक नायक छाया पर्ने र अवसरवादी चलाखवर्गले अवसर लिएर क्रान्तिको उपलब्धि हत्याउन हुँदैन । तसर्थ, जुलुसभित्र पनि सचेत हुनुपर्ने तथा मञ्चमा पनि सचेत हुनुपर्ने अपरिहार्यतालाई यस कवितामा विशेष रूपमा चर्चा गरिएको छ । धमिलो पानीमा माछा मार्न चाहने कित्तासँग सधैँ सजग रहनुपर्ने कुरालाई पनि ‘जुलुस र कविता’ शीर्षकमा विशेष खबरदारी गरिएको छ ।

नेपाली राजनितिमा निकै बहसको विषय बनेको सेनासमायोजनका विषयमा कवि दुःखी ‘सामयोजन’ शीर्षक दिएर सेनासमायोजन योगदानका आधारमा हुनुपर्छ । जनताको लागि लडेको सेना र एक बादसाहको सुरक्षाको लागि लडेको सेनाको मूल्याङ्कन एकै हुनुहुँदैन भन्दै कुनै पनि सवाल र सन्दर्भमा शाहीसेना र जनसेना एकै हुन सक्दैन भन्ने तर्क राख्दै जनसेना मात्र वास्तवमा जनताको सक्कली सेना हो भन्ने धारणा राख्छन् । सय भारी खर काट्ने र सय बारी खर पोल्नेको मूल्याङ्न एकै हुनुहुँदैन खबरदार ! भन्दै इतिहासलाई मूल्याङ्कन गरेर सेना समायोजन हुनुपर्ने धारणा उनका कवितामा राखिएको छ ।

नेपालको जनक्रान्ति उन्नत अवस्थामा विकसित हुँदै निष्कर्षतिर उन्मुख भएकाले यस्तो उपलब्धिलाई शान्तिसम्झौताका नाउँमा यसको उपलब्धिलाई अवमूल्यन गर्नुहुँदैन भन्ने धारणा पनि उनका कवितामा राखिएको छ । क्रान्ति समाप्तिका लागि हरेकपल चनाखो हुनुपर्छ भन्ने धारणा ‘आगो खोज्दै छ मान्छे’ भन्ने शीर्षकको कवितामा विशेष रूपमा उठाइएको छ । राजनीतिक विषयवस्तुका साथै सामाजिक विषयवस्तुलाई पनि दुःखी जीवन्त रूपमा कवितात्मक प्रस्तुति गर्छन् ।

नेपालको सन्दर्भमा हलियामुक्तिको आन्दोलन राजनीतिक रूपमा सुल्झिए पनि उनीहरूको वास्तविक पीडा कस्तो थियो भन्ने कुरालाई ‘मुक्तहलिया’ कवितामार्फत् प्रस्तुत गरिएको छ । हलियाहरू मुखियाको घरबाट भौतिक रूपमा मुक्त त भए तर नाङ्गिएर, गास, बास, कपास, लत्ताकपडा गुमाएर आकाशे छानोमुनि गुजारा गर्नुपर्ने अवस्थामा मुक्त भएको तीतो यथार्थलाई यस कवितामा प्रस्तुत गरिएको छ । आर्थिक रूपमा कङ्गालिएर समाजिक रूप बहिस्कृत भएर मुक्त भएका हलियाहरूको सार्थक मुक्तिका लागि अझ अर्को विद्रोह गर्नु पर्ने सन्देश पनि दुःखी आफ्ना कविताका हरफहरूमा स्पष्ट बोल्छन् । हलियाहरू कागजमा मुक्त त भए तर मुखियाको जाली तमसुक तथा षड्यन्त्रको सिकार भएर मुक्त भएको यथार्थ घामजस्तै सत्य छ भन्ने कुरा पनि दुःखी आफ्नो कवितामा व्यक्त गर्छन् । कुनै न कुनै वहानामा हाम्रो देश नेपाल राष्ट्र कतै न कतैबाट इतिहासदेखि नै लुटिँदै छ । यो विभिन्न समय र सन्दर्भमा यसको अस्तिŒवमा आघात पु¥याउने काम भएको छ भन्ने असन्तुष्टि ‘हराउँदै छ मेरो देश’ शीर्षकको कवितमा दुःखी व्यक्त गर्न पुग्छन् ।

‘जून पस्कने यात्रामा’ कविता यस कवितासङ्ग्रहको प्रतिनिधि कविता हो । यस कवितामा नेतृŒवले आफ्नो कुशलता र सीपले यस क्रान्तिलाई यस सन्दर्भसम्म ल्याइपु¥याएको तथ्यलाई यस कवितामार्फत् प्रस्तुत गरिएको छ । गरिब नेपालीको परिवर्तित समाज हेर्ने चाहना अत्यन्त्यै उत्कट रहेको छ । त्यस चाहनालाई पूरा गर्न थुप्रै क्रान्तिकारी मित्रहरूको बलिदान गरेको र युगनायक क्रान्तिनायक प्रचण्डले क्रान्तिलाई यस अवस्थासम्म ल्याइपु¥याएको र अझ पनि यसलाई निष्कर्षमा पु¥याउने अभियान नसकिएको तथ्यलाई पनि यस सन्दर्भमा उल्लेख गरिएको छ, दुःखीले युगनायकप्रति पूर्ण विश्वस्त हुँदै मेरो ‘प्रिय क्याप्टेन्ट’ भनी कवितामा सम्बोधन गरेका छन् ।

‘तिम्रो जिन्दावाद मेरो मुर्दावाद’ शीर्षकको कवितामा राष्ट्रलाई भड्खालोमा पु¥याउने राष्ट्रघातीहरूले प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रको कुरा गर्दै जनताको आँखामा छारो हाल्ल खोज्नेहरूको खरो विरोध गरिएको छ । यस कवितामा राष्ट्रलाई माया नगर्ने व्यक्तिहरूबाट प्रजातन्त्रको नाम जपिनु भनेको हात्तीको देखाउने दाह«ाजस्तो हो भन्ने तर्क पनि यस कवितामा राखिएको छ । यस कवितामा सङ्घीय गणराज्यको गलत व्याख्या गरिएकोमा पनि कवि असन्तुष्ट हुँदै सङ्घीयताको अपव्याख्या भएकोमा चिन्ता व्यक्त गरिएको छ । क्रान्ति अझै निष्कर्षमा पुगी नसकेकाले क्रान्तिको मोडेल फेरिन सक्छ तर पूर्ण साकार नभएकाले चनाखो रहन ‘आह्वान’ शीर्षकको कवितामा दुःखी आह्वान गर्छन् ।

यस सङ्ग्रहमा सङ्गृहीत गजलहरूमा शीर्षक दिइएको छ समन्यतया गजलमा शीर्षक नराखिने सैद्धान्तिक अवधारणा रहन्छ तर दुःखीले गजलको शीर्षक दिएर नवीनता भिœयाएका छन् । विषयगत हिसाबले उनका गजलहरू पनि उही क्रान्ति र परिवर्तनमा नै केन्द्रित देखिन्छ । समग्रमा दुःखीका यी दुई कवितासङ्ग्रहको मूल्याङ्कन गर्दा उनी एक सफल जनवर्गीय प्रगतिवादी कवि हुन् भन्न धर्मराउनु पर्दैन । यस कृतिभित्रका कविताहरू अन्य सौन्दर्यले भन्दा पनि वैचारिक स्पष्टताले सुन्दर छन् । विभिन्न कित्ताका सारसुरे कविका लागि एक वैचारिक प्रस्तुतीकरणको दरिलो नमुनाका रूपमा दुःखीका कविता देखिएका छन् । समग्रमा उनका दुवै कवितासङ्ग्रह विचारका दृष्टिकोणले समान देखिन्छन् भने कवितात्मक परिपाकका दृष्टिले दोस्रो कवितासङ्ग्रह बढी सफल देखिन्छ । प्रथम सङ्ग्रहमा जस्तो तातो आक्रोश पछिल्लो सङ्ग्रहमा कम देखिन्छ । क्रान्तिको रूप फेरिन सक्ने सङ्केत उनले अगाडि नै दिएजस्तै यस पछिल्लो कृतिमा क्रान्तिको उपलब्धि स्वरूप अब जनतालाई केही नयाँ कुरा पस्कनुपर्ने बेला आएको कुरा पनि दुःखीले पछिल्लो कृतिमा व्यक्त गरेका छन् । आज पनि कविताका बारीभरि सिर्जनका फसल रोप्न सक्रिय कवि भएकाले दुःखीबाट भविष्यमा पनि यस्तै थुप्रै साहित्यसिर्जनाको अपेक्षा गर्न सकिन्छ ।

सन्दर्भसूची
१. दुःखी हिरामणि, जुन पस्कने यात्रामा, काठमाडौं ः एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, केन्द्रीय समिति, २०६१ ।
२. दुःखी हिरामणि, परिभाषा, दाङ ः देवकी पौडेल, चेतना पुस्तक केन्द्र, तुलसीपुर,२०६१ ।
३. तिमल्सेना, पशुपतिनाथ, प्रगतिवादी कविता मान्यता र प्रवृित्त, पोखरा ः ओजन बुक्स, २०६४।
४. सुवेदी, अशोक, नेपाली प्रगतिवादी कवितामा विद्रोहचेत, काठमाडौं ः शारदा सुवेदी र विकास आचार्य, २०६२

(मार्क्सवादी साहित्य र जनयुद्धको साैन्दर्यबाट साभार)