फरक

फरक

कविता

अँध्यारा दिनहरूमा हामी
नाङ्गो आङ र भोको पेटमा
आगो बोकेर आगो ओकल्थ्यौँ
खुल्ला नभको कविता लेख्थ्यौँ
तिमी बिरासतका दाउ सुम्सुम्याएर
रमिता देख्थ्यौ
हामी झुप्राका चित्कार बोकेर
कविता कोथ्र्यौँ
तिमी महलका खित्का देखेर
रमिता चोथ्र्यौ
फरक यत्ति थियो
हामी उकालो चढिरहेथ्यौँ
तिमी ओरालो झरिरहेथ्यौ
जब तिमीले भेट्यौ
कायरहरूको एउटा भीड
र उफृयौ तीनहात बित्ता
मनाउन दीपावली एउटा अपूर्ण यात्राको ।

अहिले पनि हामी
नयाँ इतिहासको साङ्गपाङ्ग लेखिरहेछौँ
तिमी उही बासी इतिहास बोकेर
हामीमाथी रातो फर्मान पोखिरहेछौ
हामी बासी कोट फाल्न भन्छौँ
तिमी उही टाल्न भन्छौ
हामी सयथरी सुनगाभा फुलाउन भन्छौँ
तिमी मरुस्थलको अर्चनामा रम्छौ
फरक यत्ती हो
तिमी चौतर्फी उज्यालो देख्छौ
हामी उही अँध्यारो लेख्छौँ
तिमी दीप सल्काउँदै गर
हामी हुरी जन्माउँदै गर्छौँ
तिमी तिम्रै बिधानको
बूँदाबूँदामा चित्त थन्क्याउँदै गर
हामी अर्कै बिधानको विश्वासमा जुट्छौँ
फरक यत्ती हो
तिमी ओरालो झरिरहेछौ
हामी उकालो चढिरहेछौँ ।